वीरगन्ज,२७भदौं :पर्साको पदमौल गम्हरीयास्थित एक घरमा प्रहरीले छापा मारेर लागू औषध गाँजासहित घरधनीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ३ पदमौल गम्हरियाका ३८ वर्षिय रफिक महमद रहेका छन् । उनलाई १५ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले रफिकको घरमा छापा मारेर खानतलासी गर्र्दा कोठाभित्र प्लाष्टिकको झोलामा लुकाई छिपाई राखिएको अवस्थामा १५ केजी गाँजा बरामद भएपछि रफिकलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
गाँजासहित पक्राउ परेका रफिकलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर उनिविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको उनले बताए ।

