मधेस प्रदेशकै एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिका मुलुककै मुख्य प्रवेशद्वारका रूपमा पनि चिनिन्छ । जनता समाजवादी पार्टीबाट गठबन्धनका साझा उम्मेदवार बनेर निर्वाचित भएका मेयर राजेशमान सिंहले वीरगन्जलाई सफासुग्घर अनि व्यवस्थित पार्दै वैभव वीरगन्ज निर्माणमा लागिपरेको बताउछन्। प्रस्तुत छ, मेयर सिंहसँग गाेरखापत्रका दीपकप्रसाद गौतमले गरेको कुराकानीको सारसंक्षेप :
अहिलेसम्मको आफ्नो कार्यकालको आफैँले कसरी समीक्षा गर्नुहुन्छ ?
अहिले मैले केही चिजको सुरुवात गरेको छु । त्यसलाई लक्ष्यसम्म पुर्याउने चुनौती रहेको छ । मेरो कार्यकाल, मैले गरेको काम के कस्तो भनेर वीरगन्जवासीले नै बताउँछन् ।
आन्तरिक स्रोतको तुलनामा आवश्यकता धेरै रहेकाले त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
सबैभन्दा ठुलो चुनौती नै बजेट व्यवस्थापन रहेको छ ।महानगरवासीको चाहना ठुलो छ । बजेट सीमित छ । आन्तरिक स्रोतलाई कसरी वृद्धि गर्ने भनेर चाँडै नै कडाइका साथ हामी एक्सनमा जाँदै छौँ ।
महानगरको विकासका लागि सम्भावना के मा देख्नुभएको छ ?
वीरगन्ज भनेको सम्भावना नै सम्भावनाको सहर हो । तीन/चार वटा ठुला परियोजना पनि गर्ने बजेट व्यवस्थापन गरेर हामीले सुरुवात गर्नेवाला छौँ । वीरगन्जलाई ‘वैभव वीरगन्ज’ को नारा दिएर धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न लागिरहेका छौँ ।
महानगरका समस्या, बाधा, चुनौतीका रूपमा के के छन् ? त्यसलाई समाधान गर्ने प्रयास के गर्नुभयो ?
चुनौतीलाई स्वीकार गरेर नै हामी नेतृत्वदायी भूमिकामा रहेका छौँ । हरेक कुरामा चुनौती रहेका छन्, त्यसलाई चिर्दै हामी अगाडि बढिरहेका छौँ । आइपरेका समस्या पनि एक एक गरी समाधान पनि गर्दै छौँ ।
गठबन्धनबाट जनप्रतिनिधि निर्वाचित हुनुभएको थियो । काम गर्न कत्तिको सहज छ ?
सम्पूर्ण राजनीतिक दलसँग समन्वय नै गरेर हामी अगाडि बढिरहेका छौँ । गठबन्धनका केही व्यक्ति व्यक्तिगत इगोका कारण केही विरोधका काम गरे पनि विकासका काममा कुनै बाधा अड्चन आएको छैन । समग्रमा भन्नुपर्दा सम्पूर्ण राजनीतिक दलको सहयोगमा नै अगाडि बढिरहेको छु ।
प्रदेश र संघीय संरचनासँग समन्वय कस्तो भइरहेको छ ?
यसमा चाहिँ धेरै कमी छ । कानुनको अभावमा धेरै कुरा गर्न नसकिरहेको अवस्था छ । कर्मचारी अभाव प्रमुख समस्या रहेको छ । प्रदेशमा कानुन बनेको छैन । प्रदेश र संघमा बारम्बार भने पनि आश्वासनबाहेक अरू केही पाउन सकेका छैनौँ । समन्वय गरे पनि स्थानीय निकाय सञ्चालनमा निकै अप्ठ्यारोको अवस्था रहेको छ ।
महानगरलाई समृद्ध बनाउन के के गर्दै हुनुहुन्छ ?
अहिले म नेतृत्वमा आएको २१ महिना भएको छ । ‘वैभव वीरगन्ज’ बनाउन गरिएको सुरुवात ठिक छ कि छैन, आमवीरगन्जवासीले विचार गर्नु पर्दछ ।
महानगरमा शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ?
महानगरको शिक्षा र स्वास्थ्यको अवस्था भन्नुपर्दा सबै डामाडोल छ । सुधारका लागि सुरुवात गरिसकेका छौँ । रिजल्ट आउने वर्षसम्ममा देखिन्छ । सबैले महसुस गर्न पाउनुहुने छ । चार वटा सरकारी विद्यालयलाई अङ्ग्रेजी माध्ययमा पढाउने गरी सञ्चालनमा ल्याइसकेका छौँ । आगामी दिनमा त्यसलाई बढाएर लैजान्छौँ ।
सडक, विद्युत लगायत महानगरभित्र पूर्वाधारको अवस्था कस्तो छ ?पूर्वाधार विकासमा महत्त्वपूर्ण योजना के के छन् ?
१६ वटा गाविसलाई वीरगन्ज महानगरका वडाका रूपमा थपिएको छ । त्यहाँ कुनै पूर्वाधार नै छैनन् । अत्यावश्यक भौतिक पूर्वाधार निर्माणको कार्य सुरुवात गरिसकेका छाै । उज्यालो वीरगन्ज योजना अन्तर्गत १ देखि ३२ वडासम्म बिजुलीबत्तीको व्यवस्थापन गरिसकेका छौँ । ठुला ठुला भौतिक पूर्वाधार, तीन/चार वटा निर्माणको कार्य यसै आर्थिक वर्षमा सुरुवात गर्ने तयारीमा छौँ ।
सुशासन र पारदर्शितामा महानगर कस्तो छ ?
कर्मचारी अभावमा नगरवासीले सुशासनको पाउनुपर्ने जति अनुभूति पाएका छैनन् । नगरपालिकाले दिनुपर्ने सेवासुविधा दिइरहेका छौँ । सकभर महानगरका हरेक गतिविधि पारदर्शी बनाउने प्रयास गर्दै आइरहेका छौँ ।
कृषि र पर्यटनको विकासमा कसरी काम गर्दै हुनुहुन्छ ?
कृषि र पर्यटनको विकासमा पनि अगाडि बढेका छौँ । खास गरी चुनौती नै चुनौती रहेको छ । महिला दिदीबहिनी तथा युवालाई कृषिमा आत्मनिर्भर बनाउन केही कार्यक्रम सुरुवात गरेका छौँ । परिणाम आइसकेको अवस्था छैन । पर्यटनका विषयमा हामीले वीरगन्जलाई धार्मिक पर्यटकीय ‘हब’ का रूपमा विकास गर्न लागिरहेका छौँ । पुराना मठमन्दिरको जीर्णोद्धार गरी सौन्दर्यीकरण गरेका छौँ । २९ बिघा क्षेत्रफलमा ठुलो सुविधासम्पन्न एउटा पोखरी निर्माण गर्न गइरहेका छौँ ।
महानगरका आगामी रणनीति के के छन् ?
वीरगन्जलाई शिक्षा, स्वास्थ्य, विकास, निर्माणका क्षेत्रमा व्यवस्थित गर्दै ‘वैभव वीरगन्ज’ बनाउने एउटै रणनीति रहेको छ । वीरगन्जवासीको जीवनयापन स्वस्थ, शिक्षित, व्यवस्थित र सम्पन्न बनाउनु नै हाम्रो मुख्य लक्ष्य हो । साभार : गोरखापत्रबाट