Madhes Khabar
अन्तरवार्ता साहित्य

‘वीरगन्जलाई आर्थिक नगरी भनिएपनि यसका ऐतिहासिक र सांस्कृतिक कथा पनि गज्जबका छन्’ 

मकवानपुरकालाई मकवानपुरे अथवा झापाकालाई झापाली भनेजस्तै उति बेलाको मारवाडका बासिन्दालाई मारवाडी भनिन्थ्यो । ती मारवाडी संसारको जुनै कुनामा पुगे पनि पृथक् पहिरन, रहनसहन, भाषा र संस्कृतिका कारण ‘मारवाडी’ भनेर फरक समुदायका रूपमा चिनिएका मात्रै हुन् ।

लेखक गणेशप्रसाद लाठको वीरगन्ज सहर माथिको नोस्टाल्जिया हो– ‘सीमान्त सम्झना’ । किताबमा लाठले देखेको र आजका तन्नेरीले देखेको वीरगन्जबीच कुनै तालमेल छैन । सहर र संस्मरणबारे उनीसँग कान्तिपुरका दीपक सापकोटाको संवाद :

‘लाठ’ बारे किताबमा केही लेख्नुभएको त छ, तर हाम्रा पाठकलाई भनिदिनुस् न– तपाईं कस्तो लाठ, कसरी लाठ ?

ब्रिटिस भारतमा लाठ–साहेब वा मार्शल–लाठ भन्ने एक थरीको सरकारी तथा मानार्थ ओहदा हुने गथ्र्यो । राणाकालीन नेपालमा समेत जङ्गी–लाठ भन्ने ओहदा हुने गथ्र्यो । बूढापाकाहरूबाट सुनेको कुरो– मेरा पुर्खाले कुनैबेला लाठ उपाधि पाएका थिए रे । र, पछि आउने सन्ततिले सो ओहदालाई थरको रूपमा निरन्तरता दिए रे । गूढ सत्य के हो दैवबाहेक कसैलाई थाहा छैन ।

किताबमा ‘मारवाड’ माथि विमर्श गर्नुभएको छ । ‘मारवाड’ र ‘मारवाडी’ को नेक्सस कस्तो हो ?

मारवाडको शाब्दिक अर्थ मरुभूमि हो । मरुभूमि अर्थात् मृत्युभूमि । मध्यकालीन भारतको मध्यपश्चिमी, वर्तमानको राजस्थान प्रान्तको पश्चिमी भूभागमा एक पृथक् राज्य हुने गथ्र्यो । त्यहाँ चारैतिर बालुवाको पहाड, वातावरण साह्रै तातो, बाह्र महिना पानीको हाहाकार भइराख्ने । नेपालका शाहवंशीय राजाहरूका पुर्खाहरू पनि त्यही मारवाडतिरका त हुन् । अनि मारवाड र मारवाडीबीचको नेक्सन

(अथवा कनेक्सन भनौं) मा अनौठो केही छैन । अन्यथा मारवाडी समुदायभित्र व्यापारी मात्र हुँदैनन्, फरकफरक जात र वर्णका मान्छे पनि हुँदारहेछन् ।

बालखैमा देखेको वीरगन्ज सहरको रूपान्तरण–कथामाथि घोत्लिनुभएको छ । त्यो रूपान्तरित सहर–चित्र कस्तो छ ?

आफ्नै कविताको अंशबाट बुझाउने प्रयास गर्छु है– गाउँ मेरो बबुरो बालक रहेन÷ऊ खाइलाग्दो युवक भएछ÷इनार तालतलाउ चौतारा चउर कुन्नि कता घुम्न हिँडे÷ फर्किएनन् कहिल्यै÷हरिया फाँट रुख खेत खलियान पँधेरो अलप भए सप्पै÷हराए माटाका ती छाप्रा गोठ आफैं÷स्कुल पुरानो उहिले नै ढलेछ÷नदी प्यारो बल्ल ढल भएछ÷जे होस् गाउँ त गज्जबको कंक्रिटगन्ज भएछ ।

बालक गणेशले देखेको वीरगन्ज, अग्रजले देखेका वीरगन्ज र आजका तन्नेरीहरूले देख्दै गरेका वीरगन्जबीच कुनै तालमेलै देखिँदैन । पुस्तान्तरणसँगै यस सहरको हैसियत गोरुगाडाबाट उठेर ईभी गाडीमा पुगेको छ । साथसाथै मान्छेको जीवनशैली, मूल्यमान्यता र सोचाइ पनि फेरिएका छन् । वीरगन्जले थुप्रै कुरो पाएको छ, गुमाएको पनि छ । विडम्बना भनौं, आजको वीरगन्जमा दर्शनले होइन, प्रदर्शनले महत्त्व पाउँदो रहेछ । आदर्शभन्दा आवरणको माग बढी छ । आत्मीयताको ग्राफ अवसरअनुसार तल–माथि भइरहन्छ ।

‘सीमान्त सम्झना’ मा वीरगन्जका धेरै मानिससँग कुराकानी गरेर साझा भोगाइ लिपिबद्ध गर्नुभएको छ । के लाग्छ, संस्मरणात्मक लेखाइमा लेखकको निजी कोरा अनुभव मात्र आउँदा के हुन्छ ?

हो ! संस्मरणमा प्रायः लेखकका निजी अनुभव लेख्ने चलन छ । तर, मैले ‘सीमान्त सम्झना’ लाई केवल लेखकको संस्मरण बनाउन खोजेकै थिइनँ । आफू जन्मिनुअगाडिका कुरा, आफ्नो अनुभवको परिधिभन्दा बाहिरका कुरा र समग्र राष्ट्र विकासमा एक सीमान्त सहरको भूमिका आदिइत्यादि नसमेटिएसम्म ‘सीमान्त सम्झना’ ले नाम अनुसारको सार्थकता पाउने पनि थिएन । हो, संस्मरणको परिधि कति साँघुरो बनाउने वा फराकिलो ? यो बहसको विषय बन्न सक्छ ।

वीरगन्जको माटोमा आधुनिकताको बाटोको कथा भन्न तपाईंलाई के विषयले प्रेरित ग¥यो ?

एक त, वीरगन्जलाई फगत आर्थिक नगरीको रूपमा चिनिए पनि यसका ऐतिहासिक अथवा सांस्कृतिक कथा पनि गज्जबका छन् । तर, ती कुरा पुस्तान्तरणसँगै स्मृतिपटलबाट विलुप्त हुन लागेका थिए । ती कुरालाई लिपिबद्ध गर्नुपर्छ भन्ने लाग्यो । अर्को, प्राविधिक विकासका कथा छन् । आजभन्दा सय–दुई सय वर्षअगाडि वीरगन्जलगायत सिङ्गो नेपालभित्र प्राविधिक सुविधाहरू कस्ताकस्ता थिए ? अथवा भनौं, हाम्रा पुर्खाले कस्ताकस्ता अभावबाट गुज्रिनु परेको थियो ? यस्ता विषय नयाँ पुस्तालाई जनाउ दिनुपर्छ भन्ने पनि लाग्यो ।

वीरगन्जलाई आप्रवासीको सहर भनिन्छ । वीरगन्जको जनसांख्यिक र सांस्कृतिक बनावटबारे तपाईंको बुझाइ के छ ?

हो नि, कुनै बेला वीरशमशेरले मारवाडी र कलवार व्यापारीहरूलाई निम्तो दिएरै वीरगन्जमा कारोबार गर्न बोलाएका थिए । सरकारी कामकाजका लागि नेपालका अन्य भूभागबाट ब्राह्मण र नेवारहरू खटाइएका थिए । आफ्ना नातागोतामा पर्ने शाह र राणामध्ये कसैलाई राजधानीको राजनीतिबाट टाढा राख्न, कसैलाई राजकाजमा सहयोग पाउने ध्येयका साथ स्थापित गराइएको थियो ।

चिकित्सा सेवा सुरु हुँदा होस् वा रेल यातायात सेवा, बङ्गाली समुदायका डाक्टर तथा विशेषज्ञलाई झिकाइएको थियो । जुद्धशमशेरको शासनकालमा वीरगन्जमा अनेक विद्यालयको स्थापना भयो । ती विद्यालयका लागि पनि भारतबाट शिक्षक झिकाइएका थिए । सडक यातायातको विकासमा सिख सरदारहरूको अग्रणी भूमिकाबारे भनिराख्नै परेन । यसैगरी फरकफरक क्षेत्रमा फरकफरक समुदायका मान्छे आबद्ध हुँदै गए । जे होस्, फरक फरक समुदायको जमघट भए पनि वीरगन्जको वातावरण बडो आत्मीय थियो ।

पर्व–उत्सवमा सबै समुदायका मान्छे सम्मिलित हुन्थे । दैवीय विपदामा सबै समुदाय अग्रसर रहन्थ्यो । सडकपेटीमै रामलिला, महाभारत, अल्लाहरूदल इत्यादिका नाटक मञ्चन हुन्थे । लाखे नाच पनि प्रख्यात थियो । होली, दीपावली, दसैँ, सप्पै पर्व मिलिजुली मनाइन्थ्यो । राजा वा रानीको जन्मोत्सव पर्दा पूरै वीरगन्जको शृङ्गारपटार हुन्थ्यो । वीरगन्जको रंगशालामा फुटबल, क्रिकेट, हाँकी र पहलमानी खेल खुबै हुन्थे । भारतबाट समेत खेलाडी–टोली आउँथ्यो । कौवाली र मुसायराको आयोजन पनि गज्जबै हुन्थ्यो । मेला र प्रदर्शनी पनि बाक्लै लाग्थे । वीरगन्जमा साहित्यिक संस्था तथा लाइब्रेरीहरू पनि बाक्लै थिए । साहित्यिक कार्यक्रम खुबै हुन्थे ।

अचेल बङ्गाली र सिख सरदारहरूको संख्या न्यून छ । प्रायः रैथाने वीरगन्जेलीको नयाँ सन्तति वीरगन्जबाहिर छन् । क्षेत्रफल विस्तारित भएर वीरगन्ज महानगरपालिका भएको छ । एक्लो वीरगन्जमा सर्वाधिक आम्दानी संकलन गर्ने नेपालका भन्सार नाकाहरू तीन वटा छन्, यसैबाट यहाँको आर्थिक गतिविधिबारे आकलन गर्न सकिन्छ । जहाँ मह हुन्छ, त्यहाँ माहुरी मात्र होइन, अजिङ्गर पनि आउने नै भए । भविष्यमा दंगा–फसादको गढ भनेर पो चिनिन्छ कि ? डर लाग्न थालेको छ ।

वीरगन्ज कस्तो सहर हो ? त्यसको देह र आत्मा केले बनेको छ ? त्यहाँको नशा–नशा कस्तो छ ?

निकै पछाडिका पाना पल्टाउँदा, यो सहर कुनैबेला टुक्राटुक्रा बस्तीका रूपमा तिरुहत अथवा बज्जी गणराज्यको अंग थियो भन्ने पनि देखिन्छ । सेनवंशीहरूले पनि यस क्षेत्रमा शासन गरे । तर, प्रस्ट भन्दा वीरशमशेरको शासनकालभन्दा अघि वीरगन्जको हैसियत एक उपेक्षित बस्तीभन्दा बढी थिएन ।

कलकत्ता बन्दरगाहबाट जम्मा ७०० किमि पर र आन्तरिक ढुवानीको हिसाबले नेपालको मध्यमा रहेको, वातावरण पनि बाह्रै महिना कामकारोबार गर्न मिल्ने भएकाले आयात–निर्यातको हिसाबले मुख्य नाका बन्न पुग्यो । आन्तरिक ओसारपसारका लागि यातायात नगरी बन्न पुग्यो । सनैसनै यहाँ उद्योग कलकारखाना पनि स्थापित हुँदै गए ।

यसको देह बनाउन थुप्रै आर्किटेक्टको भूमिका छ । यहाँ भएभरका स्कुल, कलेज, धर्मशाला, मन्दिर, पाटी, पौआ सप्पै वीरगन्जवासीले आफ्नै खर्चमा बनाइदिएका हुन् । नेपालका बडेबडे उद्योगपति यसै सहरका उत्पादन हुन् । गरिखानेहरूले सयौं वर्ष लगाएर बसालेको एक सहर हो वीरगन्ज । आत्माको कुरो गरौं भने सर्वे भवन्तु सुखिनः भन्ने मन्त्रबाट यसको आत्मा बनेको छ । यसका नशा–नशामा कर्मयोग छ ।

विज्ञानले आविष्कार गरेका धेरै यन्त्र–उपकरणसित तपाईंको बाल्यकालीय नोस्टाल्जिया किताबमा आएको छ । नोस्टाल्जियाको आयु कति हुन्छ ?

नोस्टाल्जियाको आयु सम्बन्धित मान्छेको आयुजत्तिकै हुन्छ । चालीस काटेका प्रायः मान्छेभित्र नोस्टाल्जियाको रसायन तीव्र गतिमा बढ्न थाल्छ । र, उसको नोस्टाल्जिया उसँगै जान्छ पनि । तर, नोस्टाल्जियालाई लिपिबद्ध गरियो भने नयाँ सन्ततिलाई इतिहास बुझ्न सहायक हुन सक्छ ।

‘सीमान्त सम्झना’ पढ्दा लागिरह्यो– तपाईंको लेखन फिल्महरूबाट धेरै प्रभावित देखिन्छ । फिल्मी लेखन सीमा हो कि शक्ति ?

फिल्म भनेको लिखित कथाको अडियो र भिडियो मिश्रित रूप त हो ! जति मान्छेले वाल्मीकिको ‘रामायण’ पढेर राम र सीताको कथा बुझे, त्योभन्दा सय गुणा फिल्म देखेर राम र सीताको कथा बुझे । नालापानीको लडाइँकै कुरो गरौं । फिल्म नबनेसम्म आजका पुस्तालाई नालापानीको लडाइँबारे खासै जानकारी थिएन । यसकारण फिल्मी शैलीमा लेखिँदा मान्नुपर्छ, लेखक साँघुरो घेराबाट फराकिलोपनतिर बढ्न खोज्दै छ । अर्को अर्थमा भनौं, फिल्मी शैलीमा लेख्न सक्नु मलाई त लाग्छ शक्ति नै हो ।

नेपाली भाषामा ‘नेपाली साहित्यकार, नेपाली लेखक’ भई पाठकमाझ चिनिन तपाईंले गर्नुपरेको संघर्ष–वृत्तान्त कस्तो छ ?
लामो कथा छ । लाठले लेख्छ भनेर सुरुसुरुमा कसलै पत्याएनन् । अरूलाई लेख्न लगायो होला भन्ने आरोप पनि नलागेको होइन । दुःख त लाग्थ्यो, तर धैर्य राखें, लेख्दै गरें, आफ्ना कमी–कमजोरी केलाउँदै, घटाउँदै लगें । त्रुटिमुक्त त अझै हुन सकेको छैन । भाषागत शुद्धी–अशुद्धीमा आज पनि बल्झिनुपरेकै छ । यात्रा निरन्तर जारी छ, अगाडि पनि जारी नै रहनेछ । जे होस्, विगतमा तीव्र आलोचना गर्ने अथवा नपत्याइदिनेप्रति आभार प्रकट गर्नैपर्छ । उनीहरू नभएका भए म अनाहकमै फुर्किन्थे होला ।

उपन्यास लेखिरहनुभएको थियो, कसरी ‘सीमान्त सम्झना’ मार्फत ननफिक्सनतिर आउनुभयो ? उपन्यास र ननफिक्सन लेख्दाको फरक के रहेछ ?

हुन त उपन्यास लेख्दा पनि घटनाक्रम मोटामोटी असली नै हुन्छन्, पात्र अथवा स्थान मात्रै फेरिन्छन् । तैपनि उपन्यासमा लेखिएका विषयको ग्राहयता हुँदैन । उपन्यासका विषयलाई ऐतिहासिक वा शैक्षिक दस्तावेजमा सामेल पनि गर्न मिल्दैन । अर्थात् जति मिहिनेत गरे पनि उपन्यास मनोरञ्जनको परिधिभन्दा बाहिर आउनै सक्या थिएन । त्यही भएर गैरआख्यानमा समेत हात हालेर हेरौं भन्ने इच्छा पलायो । उपन्यास लेख्न पनि थुप्रै ठाउँ पुग्नुपर्दो रहेछ, थुप्रै कुरा खोज्नुपर्दो रहेछ ।

तर, लेखनका क्रममा कुनै पात्रलाई खलपात्रको रूपमा उभ्याउँदा अथवा कुनै घटनाक्रमप्रति कसैको आपत्ति हुँदा पनि खासै कोपभाजनको सिकार भइँदैन– घटनाक्रम बङ्ग्याउन, घुमाउन, पल्टाउन र उल्ट्याउन मिल्दोरहेछ । गैरआख्यानमा त्यस्तो छुट हुँदैन भन्ने हेक्का थियो । त्यसैले सकिएजत्ति सम्बन्धित मान्छेको ढोकामा पुगें । सिल्भा लेभी, टोनी हेगनजस्ता लेखकजस्ता विदेशी लेखकका किताब पढेर कसैले औंला ठड्याउन नपाओस् भनेर सक्दो प्रमाण जुटाएँ । उपन्यासको तुलनामा तेब्बर मिहिनेत प¥यो । तर, जे होस्, फरक अनुभव रह्यो– नयाँ–नौला कुरा सिक्न पाइयो, मज्जा आयो ।

एक दुइटा किताब त मानिसले रहरले लेख्छ, तर ६ वटा किताब लेखिसक्नुभयो, किन ? कति लेख्नुहुन्छ ? तपाईं व्यवसायी पनि हुनुहुन्छ, लेख्ने कसरी समय मिल्छ ?

यस्तै जिज्ञासा सबैले पोख्छन् । सप्पै समय व्यवस्थापनको कुरो हो, एक जना व्यवसायीले सिनेमा हेर्न, विदेश घुम्न, पार्टी आयोजन गर्न वा तास खेल्न समय निकाल्न सक्छ भने किताब लेख्न पनि समय निकाल्न सक्छ । मैले पनि त्यसैलाई ध्यानमा राखेर मेरा अन्य रुचिका कार्यहरूबाट समय झिकेर लेखन कार्यमा खर्चेको मात्र गरेको हुँ ।

कुनैबेला कतै पढेको थिएँ– यो चराचर जगत्मा आएपछि कि किताबको मुखपृष्ठमा लेखक भएर आफ्नो नाम लेखाउने काम गर्नु कि किताबको भित्री पृष्ठमा प्रेरणाको पात्र भएर आउनु, यति गरेपछि आफू मरेर गए पनि नाम चाहिँ मर्दैन ।’ सायद त्यो सन्देशले पनि अवचेतनमा लेखक बन्ने इच्छा जगाएको हुन सक्छ । आफू बाँचुन्जेल केही न केही लेखिराख्छु ।

(वीरगन्जका लेखक गणेशप्रसाल लाठसंग गरिएको यो संवाद कान्तिपुरमा प्रकाशन गरिएको छ ।)

Related posts

सिद्धार्थ माविमा भोजपुरी कला–संस्कृति बारे प्रशिक्षण सम्पन्न

MadhesKhabar

मधेसीका लागि संविधान पुर्नलेखन हुनुपर्छ :राजेन्द्र महत्तो

MadhesKhabar

“आधुनिक भोजपुरी समालोचना” पुस्तकको वीरगन्जमा गरियो विमोचन

MadhesKhabar

Leave a Comment