रामदयाल राकेश
वीरगन्जलाई गुलमोहरगन्ज बनाउन सकिन्छ। यसका लागि वीरगन्ज महानगरपालिकाले धेरै लगानी गर्नु पर्दैन। छिमेकी मुलुक भारतको जयपुरलाई गुलाबी नगर बनाइएको छ। बंगलुरुलाई गार्डेन सिटी (बगैंचाको सहर) बनाइएको छ, त्यस्तै वीरगन्जलाई गुलमोहरगन्ज बनाउन सकिन्छ। अहिले वीरगन्ज तातो सहर भएको छ। वीरगन्जको रापताप असह्य भएको छ। हावा पनि तातो, पानी पनि तातो, बाटो पनि तातो। यहाँका बासिन्दा भोजपुरी र नेपालीका लेखक दिनेश गुप्तासँग एक्कासि भेट भयो।
केही दिनअघि साँझपख माईस्थानको दर्शनार्थ गएको थिएँ। उहाँ गन्थन सुनाउन थाल्नुभयो। वीरगन्जको गर्मी असह्य भयो। कतिबेला काठमाडौं पुगौं झैं भइसक्यो। लाग्यो, हामीसँग त विकल्प छ वीरगन्जको गर्मी छल्ने। तर यहाँँका रिक्साचालक, टाँगा (टमटम) चालक तथा मजदुरसँग कुनै विकल्प छैन। दिनभरि वीरगन्जको तातोमा निथ्रुक्कै पसिनाले भिजेर रिक्सा नचलाइकन सुखै छैन। नुहाउनै पर्दैन। पसिना नै पसिनाले सम्पूर्ण शरीर भिजेको हुन्छ। हिन्दी साहित्यका क्रान्तिकारी कवि सूर्यकान्त त्रिपाठी निरालाको प्रसिद्ध कविता ‘वह तोडती पत्थर’को याद आउँछ, त्यस्तै उनको अर्को कविता ‘वह आता दो टुक कलेजे करता, पछतताता पथ पर आता’ पेट पीठ दोनों मिलकर है एक। चल रहा लकुटिया टेक। एक भिक्षुकको तस्विर हठात् मेरो हृदयलाई विदीर्ण गर्दै चीत्कार गर्न थाल्छ। निरालाले इलाहाबादसम्बन्धी यी दुई कवितामा चित्र कोरेर त्यहाँको रापतापको चित्रण गरेका छन्।वीरगन्जका भोजपुरिया कुनै पनि कविले त्यहाँको भिख माग्नेको हृदयस्पर्शी कविता कोरे हुन्थ्यो जस्तो लाग्दछ।
वीरगन्ज महानगरपालिकाले चाहेको खण्डमा वीरगन्जको बीच बजारदेखि वरिपरि गुलमोहरको रुखविरुवा रोप्न लगाएर यसलाई गुलमोहरको गुलजार सहर बनाउन सक्छ। यसका लागि कुनै वनस्पतिविज्ञसँग सरसल्लाह गरेर यहाँको गर्मी छल्न गुलमोहरको बोटबिरुवा रोप्न लगाउनु पर्छ। यसमा चार चाँद जड्न गुलमोहरको बोटविरुवाको तल विभिन्न रंगीचंगी गुलाफहरूको बोट रोपेर मनमोहक बनाउन सकिन्छ। कुनै अतिरिक्त व्ययभार पनि व्यहोर्नु पर्दैन। सदाबहार गुलजार सहर वीरगन्जलाई बनाउन सकिन्छ। वीरगन्जको रैथाने सवारी नै टाँगा हो, यसलाई टमटम पनि भनिन्छ। यसलाई विस्थापित गर्नुपर्छ भन्ने छैन। यसलाई व्यवस्थित गर्न सकिन्छ।
जहाँसम्म यसमा प्रयुक्त हुने घोडाहरूको लिदीको सबाल छ, यसलाई महानगरपालिकाद्वारा नियुक्त सडक सफा गर्ने कुचीकारहरूलाई लगाउन सकिन्छ। यो टांगा चालकहरूलाई बेरोजगार बनाउन हुँदैन। बरु यसलाई व्यवस्थित गर्न सकिन्छ, जसले गर्दा यिनीहरूको रोजगारी पनि बन्द हुँदैन। सडक सफा गर्ने काम महानगरपालिकाका सफाइ गर्ने कर्मचारीहरूको हो। यसप्रकार अलिकति विचार गरेर यसलाई एउटा आकर्षक सहर बनाउन सकिन्छ, जहाँ चारैतिर गुलमोहरको लालिमा तथा गन्धबाट वीरगन्ज एउटा चित्ताकर्षक सहर हुनेछ। घडीहरवा पोखरी वीरगन्जको शान हो र यसलाई व्यवस्थित गरेर एउटा प्रशंसनीय काम गरिएको छ, जहाँ बिहान–बेलुका स्वच्छ र सफा बतास (हावा) खाने र हिँड्ने मानिसको घतलाग्दो घुइँचो हेर्न सकिन्छ।
वीरगन्जदेखि काठमाडौंसम्मको यात्राको अनुभव पनि कटु–मधु मिश्रित छ। द्रुत रेल मार्गसँग तथा सडक सञ्जालसँग यस कहालीलाग्दो यात्रालाई निराकरण गर्न सकिन्छ। यसलाई कार्यान्वयन गर्न रेल तथा सडक विभागले तत्परता देखाउन धेरै ढिलो भइसक्यो। योजना बनाइन्छ र सपना देखाइन्छ तर यसको कार्यान्वयन कहिले हुने हो भन्न गाह्रो छ। अहिले वीरगन्जदेखि काठमाडौं जान आउन दुईवटा बाटो छन्। एउटा लामो र घुमाउरो बाटो काठमाडौं थानकोट, भरतपुर, नारायणगढ, हेटौंडा, पथलैया र सिमरा हुँदै अर्को विकल्प र छोटो बाटो वीरगन्ज, भीमफेदी, दक्षिणकाली र काठमाडौं। पहिलो र तेस्रो विकल्प चाहिँ त्रिभुवन राजपथ धेरै प्रयोगमा आउँदैन। पहिला यो बाटो नै लाइफलाइन थियो तर यो अनुपयुक्त र प्रयोगविहीन छ।
वीरगन्जदेखि काठमाडौंसम्मको विकल्प र छोटो बाटोको प्रयोग धेरै भइराखेको छ तर सडक विभाग यस बाटोलाई धेरै काठमाडौंसम्म कम्तीमा पाँच घण्टा लाग्छ। विभागले मर्मतसम्भार गरेको भए यो बाटो तीन घण्टामात्र लाग्न सक्छ। यो सबैभन्दा छोटो बाटो सावित भएको छ। बलौटे बाटो र बगरै बगर आउँदा यात्रीहरूले कम सास्ती खप्नु पर्दैन। बिरामी यात्रुका लागि त झन् गाह्रो सावित भइराखेको छ। यसपल्ट दुई वर्ष ६ महिनापछि वीरगन्ज गएँ तर प्रगतिको कुनै नामोनिशाना देखिनँ।
गुलमोहरका राताराता फूल वीरगन्जको भौतिक सौन्दर्यमा चार चाँद जडिरहेको छ तर फाट्टफुट्ट रूपमा। तसर्थ यसलाई उद्यानको रूपमा विकसित गर्नुपर्छ र गुलमोहर पार्क चौक–चौकमा निर्मित गरेर यस नगरको शोभा सौन्दर्यमा वृद्धि गर्नुपर्छ। वीरगन्जको व्यापारिक विस्तार दुई देश भारत–नेपाल सीमा क्षेत्रमा भइराखेको छ। यसबाट आर्थिक लाभ लिएर यस सहरको कायापलट गर्न सकिन्छ। अहिले तस्करहरूको सञ्जाल सीमा वारि र सीमा पारि धेरै फस्टाएको छ। यसबाट अवैध धन्धा पनि खूब चलिराखेको छ। भारतीय सीमा क्षेत्रमा भन्सार जाँचकीको हातमा पाँच सय भारु र नेपाली सीमा क्षेत्रभित्र ५०० नेरु जाँचकीको हातमा राखिदिइयो भने अवैध हातहतियारलाई पनि हरियो झण्डा देखाइन्छ। जबकि जनसाधारण र यात्रुलाई अनावश्यक झन्झट गर्दै झगडा गर्ने स्थिति पनि देखिन्छ।
दुई देशको सिमानामा कालो बजार पनि खुब फस्टाएको देखिन्छ। यस किसिमको कालो बजारियालाई जस्तो किसिमको पनि छुट छ। यस्तै कालो क्रियाकलापबाट खुला सीमा विवादित एवं विवादास्पद भइराखेको छ। सिरसिया नदीमाथि निर्मित पुल यस्तो कालो क्रियाकलापको मौन साक्षी बनेको छ। खुला सिमानालाई बन्द नगरिकन यसलाई व्यावहारिक र वैज्ञानिक बनाउन सकिन्छ। जसबाट सीमा वारि र पारिका बासिन्दाहरूले वास्तविक लाभ लिन सक्छन् तर अहिलेको स्थिति कस्तो छ भने यसलाई काला बजारिया र तस्करहरूको जायज फाइदा उठाउने एउटा सर्वसुलभ साधन बनाइएको छ। सिरसिया नदीमाथि निर्मित पुल मितेरी पुलको रूपमा आफ्नो भूमिका निर्वाह गरिराखेको छैन। यसमा काला बजारियाहरू र तस्करहरूको जगजगी र बिगबिगीबाट मुक्त गरी वीरगन्जलाई व्यापारिक केन्द्रको रूपमा विकसित गर्न सकिन्छ। साथै प्राकृतिक सौन्दर्यबाट पनि सुसज्जित गर्ने भावी रणयोजना तयार गर्नु आवश्यक देखिन्छ।
छिमेकी मुलुक भारतको बिहारको मुजफ्फरपुर र नेपालको वीरगन्ज सहर लामखुट्टेको लावालस्करबाट लकबाको मारमा अक्सर पर्ने गरिन्छ। तसर्थ, लामखुट्टेको समस्यालाई निर्मूल पार्न पनि रणयोजना चाहिन्छ। यसमा वीरगन्ज महानगरपालिकाले महŒवपूर्ण भूमिका खेल्न सक्छ। यहाँका होटेल तथा लजमा बाह्य बासिन्दाहरू बस्न बाध्य हुन्छन्। अस्पताल पनि अस्तव्यस्त देखिन्छ र यसको कम्पाउन्डभित्र नै फोहोरको डंगुरले गर्दा लामखुट्टेको जीवन झन् लामो हुन्छ। तसर्थ यस समस्याबाट मुक्त हुन स्थानीय बासिन्दाले पनि सजग र सचेष्ट हुनु आवश्यक देखिन्छ।
यस किसिमबाट वीरगन्जको विकासमा धेरै विलम्ब भइसकेको छ। यसलाई सुन्दर सपनाको रूपमा होइन, वस्तुतः एउटा वास्तविक सुन्दर सहर बनाउन वीरगन्ज महानगरपालिका महत्वपूर्ण भूमिका खेल्न सक्छ। यसको परिसर भित्र र बाहिर अहिले केही रुखबिरुवा लगाइएको देखिन्छ तर यो सीमित मात्रामा छ। यसलाई विस्तृत र व्यापक रूपमा लागू गर्नुपर्छ। संयोगवश यस वर्षको विश्व वातावरण दिवसको अवसरमा पंक्तिकार वीरगन्जको वातानुकूलित होटलको कोठामा बन्द थियो। कुनै वातावरणीय विकासात्मक गतिविधि देखिएन। यो धेरै दुःखद् विषय हो। (यो लेख अन्नपूर्णपोष्टबाट साभार गरिएको हो ।)