–सुदिप थापा , संयोजक ,झण्डा स्थापना
पर्साको ठोरी साविकको चितवन जिल्ला अझैपनि ठोरीलाई चितवनकै भाग भनेर चिन्नेहरु पनि धेरै छन् ।ठोरी गाँउपालिकाको ३० किलोमिटर चौडाई भारतसंग जोडीएको छ । ठोरी गाँउपालीकाको पनि ठोरी बजार चहलपहल बाक्लो हुने स्थान हो । त्यहाँ रहेको छोटी भन्सार , १०० बर्ष देखीको ब्यापारीक स्थल , रेल मार्ग जोडिएको स्थल , पर्यटकिय क्षेत्र सिमा पारी र वारी गर्ने ठोरीको प्रमुख क्षेत्र नै ठोरी बजार हो । जुन ठुटे खोला वारी छ ।
ठोरी पटक पटक विविध कारणले चर्चामा आइरहन्छ ।सन् १९११ मा जर्ज पाँचौंलाई नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले स्वागत गरेको स्थानदेखि कपडा , नुन , हुदै अझ मधेस आन्दोलनमा त पेट्रोलियम पदार्थ आपुर्तीले धेरैलाई यो भुमीले राहत दियो । ठोरी राज्यको आवश्यकता पर्दा मात्रको क्षेत्रको रुपमा थियो ।यहाँको सिमा समस्यासंगै पानी समस्या ,वनजंगल समस्या , पुर्वाधार समस्या सधै ठोरी पिछडीएको नामबाट परीचित बनिरह्यो ।
ठोरी हुदै निर्माण भएको हुलाकी सडकले ठोरीलाई परीवर्तन नै गरिदियो । हुलाकी सडकसंगै बनेको ठुटेखोलाको पुल ४३५ (१ ) नम्बर पिल्लर जुन स्थान सिमा क्षेत्र हो करिब उक्त पिल्लरबाट ४५ मिटर जती उत्तरमा पुल निर्माण भएको छ । यो क्षेत्रमा हुलाकी सडकखण्ड अन्तर्गत पुल निर्माण भएको हो ।तर भारतीयहरु उक्त क्षेत्र हाम्रो हो भन्दै नेपाली पक्षसंग पटकपटक विवाद गर्दै आईरहेका थिए ! ४३५ (१) नम्बर पिल्लरलाई कुनै समयमा खोलाले बगाएको आधारमा उनीहरु त्यो पुल भएको क्षेत्र र त्यो भन्दा १०० मिटर माथी जहाँ पानीको ठुलो स्रोत छ त्यहाँ सम्म हाम्रो भूमी हो भन्ने गरिहन्थे । जब सिमावीदहरुको वैठकले सिमा टुंगो लगायो तब उनीहरु पछाडी हटे ।तर समुदायमा त्यो देखिन नयाँ सिमा स्तम्भ राखिंदाा पनि विवाद उस्तै रहिरह्यो।
यसैकाबीच ठुटेखोलामा पुल निर्माण पनि भयो ,तर बिडम्बना निर्माण सम्पन्न भएको ४ बर्ष सकिदा पनि नेपाल पक्षले पुल संचालनमा ल्याउन सकेको थिएन । कारण थियो पुलसंगै भारत तर्फ बगेको कुलो ।कुलोको विवादले बनेको पुल पनि ४ बर्षसम्म संचालनमा आउन सकेन ।यसले स्थानीयलाई असहज मात्र बनाएन, खोला तर्न नसक्दा कैयन गर्भवती महिलाले नै ज्यान गुमाए । कति बिरामी सहि समयमा सदरमुकाम पुग्न सकेनन् । यी सब घटना र परिदृश्यहरु मेरा आँखाले नियाली रहेका थिए ।
बनिसकेको पुल संचालनमा नआउनु, राज्य निरीह बनी रहनु,स्थानीय सिमा क्षेत्रमा सिमा विवाद टुंगीदा पनि बखेडा आईरहनु , कुलो विवादकै कारण पटक पटक दुई देशका नागरिकबीच झगडा निरन्तर हुनु मात्र होईन ‘पुल नै हाम्रो हो ,यो पानीको स्रोत नै हाम्रो हो’ भनेर पटक पटक भारतीय पक्षले सीमामा आएर सन्त्रास फैलाउनु जस्ता गतिविधीले केही त समाधान निकाल्नै पर्छ भन्ने लागिरहेको थियो ।
हाम्रो लागी हामी नै तातीनुपर्छ भनेर सबैभन्दा पहिला ४ बर्ष देखी निर्माण सम्पन्न रहेरपनि संचालनमा आउन नसकेको ठुटेखोलाको पुल जुन ठोरी गाँउपालीका वडा नम्बर २ र ३ को सिमानामा पर्छ । ती दुई वटै वडामा मसहित वडा अध्यक्ष, सरोकारवाला केहि व्यक्ती बसेर पुल आजैबाट संचालनमा ल्याउने निर्णय गर्यौ ।त्यो संचालन गर्न पुलसंगै बगेको भारततर्फ लगीएको दुई वटा कुलोमध्ये एउटा पुर्ने र एउटामा ह्युमपाईप राख्ने गरी निर्णय गरेर त्यहि दिन पुलको दायाँबायाँ भाग पुरेर संचालनमा ल्याइयो ।
तर बिडम्बना नेपालकै भूमीको भएपनि भारततर्फ पानी गईरहेको कुलो पुरिएपछि ठुलो समुहमा भारतीयहरु एसएसबीसहित दलबलका साथ नेपाली सिमा क्षेत्रमा प्रवेश गरे । एसएसबीलाई उनिहरुले नेपाली भूमीका ठुटेखोला पुलमा राखेर फेरि कुलो खन्न लागे ।हामी नेपाल प्रहरी, सशस्त्र प्रहरी ,स्थानीयवासी त्यो ठुलो जमातको सामु मुक दर्शक बन्यौं । लगतैं उनीहरुका सरकारी अधिकारीहरु त्यसको दोस्रो दिन आएर सायद उनीहरुलाई सम्झाए ।त्यसपछि उनीहरु पछाडि हटे ।
नेपाल तर्फ देखाउँदै भारतीयहरुले हमारा जमीन है , हमारा देशका है जस्ता अभिब्यक्ति दिने भारतीयहरु प्रति सांकेतिक केही कुरा पस्कनु पर्छ भन्ने मनमा लाग्यो ।धेरै विकल्पहरु सोचें,तर एउटा कुराले मेरो दीमागमा क्लीक गर्यो‘ १ दर्जन नेपाली झण्डाहरु फर्फराएर उनीहरुलाई हाम्रो झण्डा मुनि फोटो खिच्ने अवस्था सिर्जना गर्छु । यो सामान्य ५०–६० हजार लागतको कुरा थियो ।मैले साथीहरुलाई पटकपटक भारतीयले दाबी गर्ने ठूटे खोलाकै पुलमा एक दर्जन नेपालको राष्ट्रिय झण्डा फर्फराएर देखाईदिउँ भनेर प्रस्ताव गरे । साथीहरुपनि तयार हुनुभयो । लागतमा सबैजनालाई सहभागी गराए । साथीहरुले मेरो संयोजनमा खुलेर साथ दिनुभयो । दुई दिनमै झण्डा राख्न हामी आफैं तात्यौं र पुलमा नेपाली झण्डाहरु राखियो पनि ।
झण्डा राखेपछीको ठुटे खोला पुलको रौनक सामान्य रहेन ।संगै जोडीएको सेतो पहाड,अनि पुलमा २० फिटमाथि फर्फराएर रहेका १ दर्जन राष्ट्रिय झण्डाले ठोरी आफैंमा पर्यटकीयस्थल रहेकाले ती झण्डाले पर्यटकीय द्धारको काम पनि गर्यो । पुलमा रोकिएर फोटो खिच्ने सयौंको संख्यामा रहन थाले ।हिजोका दिनमा हमारा पुल हैं भन्ने भारतीयको जमात अहिले वाह नेपालकी झण्डा भन्दै झण्डा सिरमाथी पारेर सामाजिक सञ्जालमा फोटो पोष्टाउन थालेका छन् । ठुटे खोला पुल झण्डाकै कारण भाईरल बन्यो।े त्यसपछिठोरी गाँउपालीकाका सबै पुलहरुमा क्लब , विभिन्न समिति, स्थानीय सरकारले नेपाली झण्डा राखेका छन् । जसको संरक्षण पनि गाँउपालिकाले गरीराखेको छ ।
झण्डा अभियान ठोरी गाँउपालिकामा मात्र सिमीत रहेन ।पर्साकै तथा छिमेकी चितवनको माडी नगरपालिका धेरै पुलहरुमा झण्डा राखेको देखेको छु ।एउटा ठुटे खोलाको समस्याले झण्डा अभियान देशव्यापी दौडिएकोमा गर्व महसुस गरेको पनि छु । हामीले सबै कुराको समाधान धेरै कोणबाट निकाल्न सक्छौ भन्ने गतीलो पाठपनि भएको छ ।
(लेखक सुदीप थापा ठोरीका होटल तथा पर्यटन व्यवसायी पनि हुन् । उनि ठोरी जंगल रिसोर्टका सञ्चालकपनि हुन् )

