
हेटाैंडा,१०फाल्गुन:मकवानपुरको सबैभन्दा उचाइमा रहेको दामन सिमभन्ज्याङ क्षेत्रमा बिहीबार अपरान्ह हिमपात र वर्षा भएको छ । हिमपात र वर्षाले उक्त क्षेत्रका कृषकहरुमा खुसीयाली छाएको छ ।
दामन सिमभन्ज्याङ क्षेत्रमा परेको हिमपातका कारण त्रिभुवन राजपथमा चल्ने सवारी साधनहरुलाई उक्त क्षेत्रमा आवत जावत गर्न समस्या भएको छ । यो क्षेत्रमा यसवर्षको हिउँदयाममा पहिलोपटक वर्षा र हिमपात भएको हो ।
लामो समयदेखि वर्षा नहुँदा आलुलगायत हिउँदेबालीमा सिँचाइ गर्न नपाएका किसान तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा हिमपात भएपछि खुसी भएका हुन् । थाहा नगरपालिकाको सिमभन्ज्याङ र दामन क्षेत्रमा हिमपात भएको र तल्लो भेगमा पानी परेको स्थानीय पत्रकार सुरज भुजेलले बताए ।
‘पानी परेपछि थाहा नगरपालिकाका कृषकहरु खुसी भएका छन्,’ खुसी पोख्दै किसान रामबहादुर केसीले भने, ‘खेतबारीको हिउँदेबाली पानी नपाएर सुक्ने डर थियो, ढिला भएपनि वर्षा भयो, राम्रो भयो ।’ हिमपात भएपछि पर्यटकीयस्थल दामनमा हिउँ खेल्नेहरु पुग्ने गरेका छन् ।
सिमभञ्ज्याङमा हिउँ परेपछि हरेक वर्ष मकवानपुरसहित सर्लाही, बारा, पर्सा, रौतहटदेखि चितवनसम्मका पर्यटक घुम्न पुग्ने गरेका छन् । स्थानीय गणेश विष्टले वर्षकै पहिलो पटक हिउँ परेकाले दामन ,सिमभञ्ज्याङ पर्यटकको पखाईमा रहेको बताए ।

