
मधेस खबर
वीरगन्ज, २२ बैशाख :पर्सा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रमा बाघको संख्या बढेको छ । निकुञ्जका सहायक संरक्षण एवं सूचना अधिकृत सन्तोषकुमार भगतका अनुसार निकुञ्जको हल्खोरिया दह, पसाहा खोला र मजौना क्षेत्रमा बाघको संख्या बढेको हो ।
जेडएसएलसँगको सहकार्यमा निकुञ्जका ती क्षेत्रमा गरिएको निरन्तरको बायोलोजिकल क्यामरा मोनिटरिङको नतिजाले यस्तो संकेत गरेको छ । ती क्षेत्रमा क्यामरा ट्र्यापिङमा बच्चा र वयस्क गरी ७ वटा बाघ परेका छन् ।
२०१९ को जनवरी ३१ मा हल्खोरिया क्षेत्रमा १ आमा र ३ बच्चा क्यामेरा ट्र्यापिङमा परेका थिए । २०२० को नोभेम्बरमा पनि ती बाघ त्यसै क्षेत्रमा क्यामरामा कैद भएका थिए । निकुञ्जको विस्तारित क्षेत्रको ८÷९ स्थानमा क्यामरा जडान गरिएकोमा विभिन्न स्थानमा गरी ७ वटा बाघ क्यामेरामा कैद गरिएको भगत बताउँछन् ।
३ वर्षअघि निकुञ्जको क्षेत्र पूर्वी भेगमा विस्तार भएपछि उक्त क्षेत्रमा मानवीय हस्तक्षेप घट्दै गएर बाघले निकुञ्जमा आफ्नो नयाँ बासस्थान बनाएको हुन सक्ने भगत बताउँछन् । निकुञ्जसँग जोडिएको बारा र रौतहटको राष्ट्रिय वन क्षेत्रमा पनि बाघको गतिविधि देखिएकाले निकुञ्जमा वयस्क भएका बाघ नयाँ बासस्थानको खोजीमा त्यसतर्फ गएको हुन सक्ने सम्भावना पनि रहेको उनले बताए ।
निकुञ्जमा बाघलगायतका वन्यजन्तुको संख्या बढ्नुमा बाघको बासस्थानको संरक्षण, यसको आहारा प्रजातिका जनावरहरूको लागि घाँसे मैदानको विकास, वन्यजन्तुलाई पिउने पानीको व्यवस्थापनलगायतको कारण रहेको भगत बताउँछन् । यसबाहेक रामभौरी, भाठा, रमौली, प्रतापपुर जस्ता निकुन्ज भित्र रहेका मानवबस्तीहरूलाई स्थानान्तरण गरिएपछि पनि बाघ लगायतका अन्य वन्यजन्तुको संख्या पनि वृद्धि हुन गएको उनले बताए ।
साभार ः कान्तिपुर ( शंकर आचार्य )

