Madhes Khabar
राष्ट्रिय

विद्यार्थीलाई गाडी भाडामा अनिवार्य ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

काठमाडौं,९वैशाख:यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । हालै यातायात व्यवसायी र सरोकारवाला निकायलाई परिपत्र गर्दै विभागले सहुलियत कडाइका साथ लागू गर्न ताकेता गरेको हो ।

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थीहरूले पाउने कानुनी अधिकारको पालना गर्न विभागले सम्झाएको छ ।

 

इन्धनको मूल्य बढेसँगै कतिपय सार्वजनिक सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढिरहेको छ । हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले सार्वजनिक यातायातमा तोकिएको ४५ प्रतिशत छुट नपाएको भन्दै उजुरीहरू आइरहेको विभागले जनाएको छ ।

 

सार्वजनिक सवारीका चालक र सहचालकले विद्यार्थी परिचयपत्र देखाउँदा पनि सहुलियत दिन अस्वीकार गर्ने र दुर्व्यवहार गर्ने गरेको गुनासो प्राप्त भएपछि विभागले पुनः पत्राचार गरी ध्यानाकर्षण गराएको हो ।

 

विभागले पठाउको पत्रमा सरकार र यातायात व्यवसायीहरूबीच २०६५ फागुन २० गते भएको निर्णयलाई स्मरण गराइएको छ । त्यसदिन विद्यार्थीहरूलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिने सहमति अनुसार विद्यार्थीहरूले गाडी भाडामा सहुलियत पाउँदै आएका छन्। यदि कुनै पनि सवारी साधनले परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन आनाकानी गरे कारबाही प्रक्रिया अगाडि बढाइने विभागका अधिकारीले बताएका छन् ।

Related posts

वन मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी बनाउँछौँ : मन्त्री यादव

MadhesKhabar

आचारसंहिता नमान्नेलाई पक्राउ गरेर मतदान सम्पन्न नभएसम्म नछोड्न निर्वाचन आयोगको निर्देशन

MadhesKhabar

टिकटक बन्द गर्ने सरकारकाे निर्णय गलत छ : कांग्रेस महामन्त्री थापा

MadhesKhabar

Leave a Comment