काठमाडौं,१५असार:६२९ औं कबीर जयंती एवं विश्व भोजपुरी दिवस २०८३ को अवसरमा काठमाडौंमा आयोजित एक समारोहमा भोजपुरीका बेग्लाबेग्लै तीन विधामा तीन जना व्यक्तित्वलाई पुरस्कृत गरिएको छ ।
भोजपुरी प्रज्ञा प्रतिष्ठान, काठमाडौंका अध्यक्ष आनन्द गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सदस्य मातृका प्रसाद पोखरेल तथा पुष्करराज भट्ट, आयोगका पूर्व अध्यक्ष डा.गोपाल ठाकुर, पूर्व राज्यमन्त्री एवं बंगलादेशका लागि नेपालका पूर्व राजदूत डा.बंशीधर मिश्र, पूर्व सांसद शोभाकर पराजुली लगायतले पुरस्कारहरू हस्तान्तरण गरेका थिए ।
शंखमूलस्थित भाषा आयोगको कार्यालयमा आयोजित समारोहबीच २५ हजार राशीको लीलाधर स्मृति पुरस्कारबाट भोजपुरी मातृभाषा अभियानी दीपक गुप्तालाई प्रदान गरियो । यस पुरस्कारका संस्थापक रहेका डा। मिश्रले भोजपुरी भाषा र संस्कृतिको उन्नयनमा योगदान गर्ने व्यक्तिलाई हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कार केही वर्षको अन्तरालपछि पुनः सुचारु गरिएको बताए ।

पुरस्कृत भएका दीपक गुप्ता काठमाडौंमा भोजपुरी भाषीहरूलाई संगठित पार्ने र मातृभाषाको आन्दोलनमा अगुवाइ गर्ने जस्ता योगदान विगतमा गरेका छन् । त्यसैगरी १५ हजार राशीको भोजपुरी पत्रकारिता पुरस्कार, २०८३ बाराका अग्रज पत्रकार रामप्रसाद साहलाई प्रदान गरिएको छ । उनी भोजपुरिया माटी पत्रिकाका सम्पादक हुन् । यसका संस्थापक ढुनराज शर्मा पन्थीले भोजपुरी भाषालाई माध्यम बनाएर पत्रकारिता गर्ने व्यक्तित्वलाई सम्मानित गर्ने उद्देश्यसाथ आफूले यसको स्थापना गरेको बताए।
त्यसैगरी १० हजार राशीको अफिमी लाल – परमेश्वरी देवी भोजपुरी सेवा पुरस्कारबाट भोजपुरीका वरिष्ठ साहित्यकार एवं कवि बिकाउ गिरीलाई प्रदान गरियो । विभिन्न विधाका पुस्तकहरू लेखेका गिरीको शारीरिक असमर्थताका कारण उनको वीरगञ्ज श्रीपुरस्थित निवासमै प्रतिनिधि पठाई सम्मानित गरिएको थियो । अनलाइन माध्यमले उक्त दृश्य काठमाडौंमा भइरहेको कार्यक्रमसँग जोडिएको थियो ।
पुरस्कार संस्थापकमध्ये ऋषभदेव ठाकुर, साहित्यकारहरू अनिता साह, रितुराज, लोकगायक ध्रुवसिंह ठकुरी, कवि आमोद गुप्ता लगायतले आयोजकका तर्फबाट गिरीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
शंखमूलस्थित भाषा आयोगको कार्यालयमा भएको समारोहमा ‘वर्तमान सन्दर्भमा कबीर’ शीर्षकमा सत्र समेत सञ्चालन गरिएको थियो ।
पत्रकार रितेश त्रिपाठीले सहजीकरण गरेको यस सत्रमा आयोगका पूर्व अध्यक्ष डा. ठाकुर, त्रिभुवन विश्वविद्यालयकी हिन्दी विभागकी अध्यक्ष सह–प्राध्यापक डा.श्वेता दीप्ति र भोजपुरी साहित्यकार दिनेश गुप्ताले करिब ६ सय वर्षपछि पनि कबीर सान्दर्भिक भइरहेका छन् भन्ने विषयमा प्रकाश पारेका थिए ।
कबीरको प्रगतिशील र मानवतावादी विचार आजको राजनीतिक भाषाका समाजवादसँग मेल खाने किसिमको रहेको बताएका थिए । वर्गीय, जातीय र धार्मिक आधारमा गरिने विभेद र परस्पर द्वेषका विरुद्धमा मात्र होइन, सामाजिक कुरीति र विसंगतिका बारेमा उनले दोहाका छन्दहरूका व्यक्त गरेका विचार आज पनि जीवन्त र प्रासंगिक रहेको उनीहरूको भनाइ थियो ।
विगतमा भोजपुरीका अभियानी समेत रहेका डा.मिश्रले भाषाहरू धेरैजसो ठाउँमा मानिसहरूको बसोवाससँगै आपसमा मिसिएको भए पनि भोजपुरीको सीमा नेपालमा पूर्वमा रौतहट र सर्लाहीबिचको बागमती नदी र पश्चिममा कपिलवस्तुको बाणगंगा नदीबीच रहेको अध्ययनहरूले देखाएको बताए । उनले भोजपुरी पश्चिममा काशिका, मध्यमता मल्लिका र पूर्वमा बज्जिका स्वरूपमा बोलिने गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि पोखरेलले मातृभाषाहरूको विकासले देशको भाषागत विविधता समृद्ध हुने बताए ।

