Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे कालिकामाई गाँउपालिकामा कामकाज ठप्प, कर्मचारी कुट्ने २ जना पक्राउ

वीरगन्ज,२४असार:पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले कामकाज ठप्प पारेका छन् । दोषीमाथि कडा कारबाहीको माग गर्दै कर्मचारीहरूले बुधबारदेखि पेनडाउन गर्दै आन्दोलन सुरु गरेका हुन् ।

 

गाउँपालिकाका कम्प्युटर अपरेटर (चौथो तह) चन्दन कुमार चौरसियामाथि मंगलबार दिउँसो करिब १२:५१ बजे गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी भाेला दाहाललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

गाउँपालिका सम्पूर्ण कर्मचारीहरुले संयुक्त रुपमा प्रेस विज्ञप्तिमा जारी गर्दै घटनाको पृष्ठभूमि स्वास्थ्य शाखाबाट सञ्चालन हुने बहुक्षेत्रीय पोषण कार्यक्रमसँग सम्बन्धित विषय रहेको उल्लेख गर्दै उक्त विषयमा कम्प्युटर अपरेटर चौरसियाको व्यक्तिगत कुनै दोष नरहेको अवस्थामा उनीमाथि आक्रमण हुनु अत्यन्त दुर्भाग्यपूर्ण र निन्दनीय भएको जनाएका छन् ।

कर्मचारीहरूले घटनामा संलग्न रहेको आरोप लगाउँदै कालिकामाई गाउँपालिका–२ का राजनिश कुशवाहा, वडा नंबर ३ का वडाध्यक्ष सञ्जय कुमार पटेलसहित अन्य व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । सरकारी कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षा सुनिश्चित गर्दै दोषीलाई संघीय कानुनबमोजिम कडा कारबाही गर्न उनीहरूको माग छ ।

माग सम्बोधन नभएसम्म गाउँपालिकाका सम्पूर्ण कर्मचारी कार्यालयमा काम नगरी जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने तथा पेनडाउन आन्दोलन जारी राख्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।

कर्मचारीहरूको आन्दोलनका कारण बुधबार गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प भएको छ । गाउँपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयसमेत बन्द भएका छन् ।

यसैबीच, इलाका प्रहरी कार्यालय पोखरियाले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको तथा फरार रहेका अन्य आरोपितहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।साभार:कालिका टाइम्स

Related posts

ठोरी नाकाबाट एक गाडी गँहु प्रहरी नियन्त्रणमा

MadhesKhabar

बारामा ८ हजार भन्दा बढी लागू औषधसहित राैतहटका एक काराेबारी पक्राउ

MadhesKhabar

वीरगन्जको लजमा बालिकालाई ३ दिनसम्म राखेर बलात्कार गरी फरार दुई जना ३ महिनापछि पक्राउ

MadhesKhabar

Leave a Comment