वीरगन्ज,२०साउनः वीरगन्जको लजमा तीन दिनसम्म राखेर बालिकालाई बलात्कार गरी फरार भएका दुई जना अभियुक्तलाई प्रहरीले ३ महिनापछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका– २ सिसियाडी घर भई हाल वीरगन्ज– १३ राधेमाईमा रहेको नेक मोटरसाईकल वर्कशपका सञ्चालक ४० वर्षीय नेक महमद र त्यहि वर्कशपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी रहेका छन् ।
प्रहरीका अनुसार, गत बैशाख २० गते बरैनिया घर भएकी १७ वर्षीया बालिकालाई आफ्नै बाख्रा खोरमा बाख्रा बाँधेर घर फर्कने क्रममा बाटोमा नेक र अफताबले घेरा हालेर जबरजस्ति नियन्त्रणमा लिएका थिए । त्यसपछि बालिकाको मुखमा कपडा कोचेर तथा आँखामा काालो पट्टी बाँधेर वीरगन्जको नयाँ बसपार्कस्थित गणेश होटल एण्ड लजको कोठा लगेर राखेका थिए । लजको कोठामा तीन दिन सम्म राखेर नेक र अफताबले पालै पालो जरबजस्ती करणी गरेपछि बैशाख २३ गते बिहान ८ बजेतिर वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी पार्कको गल्लीमा ती बालिकालाई छाडेर उनिहरु फरार भएको पिडित बालिकाले प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीमा उल्लेख रहेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
पिडित बालिकाले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले खोजतलासका क्रममा आरोपित नेक र अफताबलाई घटना भएको भनिएको तीन महिनापछि अर्थात मंगलबार दिउँसो वीरगन्ज–१५ प्रतिमा चोकबाट नियन्त्रणमा लिएको लम्सालले बताए ।
पक्राउ परेका नेक र अफताबलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखेर उनिहरुविरुद्ध अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अन्तर्गतको कसूरमा मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए ।

