Madhes Khabar
विचार हेडलाइन

‘वीरगन्जलाई पनि भरतपुर महानगरसरह व्यवहार गर्नुपर्यो’

राजेशमान सिंह, मेयर, वीरगन्ज महानगर

वीरगन्जले विरासतमा पाएको पहिलो चिज यसको नाम नै हो । सय वर्षअघि नै यो नाम प्रचलनमा थियो । यहाँको मानव बस्ती, भोजपुरी भाषा र सुगौली सन्धिदेखि नै काठमाडौंसँग जोड्ने देशको मुख्य नाका पनि वीरगन्जका विरासत हुन् । यसका साथै, २००८ सालमा स्थापना भएको नेपालको पहिलो विश्वविद्यालय ‘नेपाल राष्ट्रिय विद्यापिठ’ यहाँको अर्को विरासत हो ।

सो विश्वविद्यालयमा गणेशमान सिंह कुलपति र महाकवि लक्ष्मीप्रसाद देवकोटा उपकुलपति हुनुहुन्थ्यो । योसँगै, विभिन्न जनसमुदायमाझको धार्मिक सहिष्णुतालाई वीरगन्जको विरासत मान्नुपर्छ । राजीतिक रूपमा पनि वीरगन्जले विरासत पाएको छ । २००७ र ०४६ सालको क्रान्ति होस् वा २०६४ को लोकतन्त्रको लडाइँ, सबैमा वीरगन्ज नजिकबाट जोडिएको छ ।

वीरगन्जले योजनाबद्ध तरिकाले धेरैथोक पाएको छ । यहाँका कलकारखाना, सुक्खा बन्दरगाहदेखि ऐतिहासिक मठमन्दिरहरू पनि विरासत हुन् । वीरगन्जमा रहेको शंकराचार्य गेट, गहवा माई मन्दिर हाम्रा विरासत हुन् । यिनै विरासतमा पाएका पूर्वाधारको सौन्दर्यकरण र सरसफाइमा जोड दिएर यो शहरलाई थप सुन्दर बनाउने हाम्रो प्रयत्न छ । यसमा हामीलाई वीरगन्जबासीको पनि साथ र सहयोग चाहिन्छ र त्यो पाएका छौं पनि । हामी सबै मिलेर अहिले ‘वैभव वीरगन्ज’ बनाउने अभियानमा छौं । वीरगन्ज भनेको सम्भावनै सम्भावना बोकेको शहर हो । ती सम्भावना साकार पार्नु छ।

वीरगन्जलाई औद्योगिक र आर्थिक नगरी पनि भन्ने गरिन्छ । वीरगन्जले पाएको विरासमा मलाई व्यक्तिगत रूपमा भने त्यति गर्व लाग्दैन । हामी वीरगन्जबासीले आर्थिक नगरीको अनुभव गर्न पाएका छैनौं र यहाँका युवाले पनि रोजगारी पाएका छैनन् । त्यसकारण, वीरगन्जको उत्थान गर्न नसक्ने त्यस्तो विरासतको के काम !

वीरगन्जलाई वैभवशाली वीरगन्ज बनाउने हाम्रो परिकल्पना हो । यहाँ १३५ वर्ष पूरानो नेपालको एकमात्र नरसिंह भगवानको मन्दिर छ । यो जिर्ण अवस्थामा छ । गहवा माई मन्दिर चर्चित भए पनि उहाँका सात दिदि बहिनीहरूका मन्दिरबारे त्यति चर्चा छैन । ओझेलमा परेका यस्ता कुरा जनसमक्ष ल्याउन चाहिरहेका छौं ।

वीरगन्जलाई धार्मिक पर्यटीय क्षेत्रका रूपमा थप प्रचार गर्ने हाम्रो प्रयास हो । भारतीय पर्यटकलाई पशुपतीनाथको दर्शन गर्न काठमाडौं गइरहनु पर्दैन किनभने वीरगन्जमै पशुपतीनाथको मन्दिर छ । चीनी मिल स्थापना भएदेखि नै यो मन्दिर थियो । बन्द रहेको सो मन्दिर हामीले खोलेका छौं । अन्य अतिक्रमिक मठमन्दिरको पनि प्राण प्रतिस्थापन गरेका छौं । रामलालाको प्रतिमूर्ति हेर्न अयोध्या जानैपर्दैन, यहीँ छ ।

वीरगन्ज महानगर हो कि महागाउँ हो भन्ने प्रश्न पनि छ । यो चाहिँ विगतका राजनीतिक गतिविधिसँग आबद्धको कुरा हो । मुख्य बजारबाट १० मिनेटभित्र पस्यो भने वीरगन्ज महानगर होइन, महागाउँकै अनुभव हुन्छ । महानगर घोषणा गर्नैका लागि विगतका सरकारले यहाँका १६ वटा गाविसलाई एकै वडामा बदलिएर महानगरको जनसंख्या निर्माण गरेका थिए । तर महानगरको भौतिक पूर्वाधार सुधार गरिएन, अझै गतिलो छैन । हामीले केही सुरुवात गरेका छौं र एकअर्कासँग हातेमालो गरेमा वैभव वीरगन्ज बन्छ भन्ने विश्वास लिएका छौं । वीरगन्जका जेष्ठ नागरिक र आवश्यक अन्यलाई पनिको निः ःशुल्कस्वास्थ्य स्वास्थ उपचासेवा उपलब्ध गराउनेरको विषयमा महानगरपालिका सकारात्मक छ । यहाँको नेसनल मेडिकल कलेजले यस विषय राखेको प्रस्ताव स्विकार्न हामी तयार छौं, कलेजले यसमा थप पहल गर्नुपर्छ ।

वीरगन्ज सम्भावनासँगै यसमा नेसनल मेडिकल कलेजले राखेको प्रस्तावप्रति हामी सकारात्मक छौं । सबैभन्दा ठूलो चुनौती अर्थकै विषयमा छ । नेपालका कुल ६ वटा महानगरपालिकामध्ये आर्थिक सामाजिक रूपमा सबैभन्दा तल्लो आर्थिक, सामाजिक स्थितिमा वीरगन्ज छ । कहाँ काठमाडौं महानगरपालिकाको २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट, कहाँ वीरगन्जको साढे ३ अर्बको बजेट ! संघले प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने बजेट लगायत स्रोतमा विदेभ छ । काठमाडौं खाडलमा बस्ने केही व्यक्तीले वीरगन्जबाट सम्पूर्ण कुरा लिएका छन् तर वीरगन्जलाई बेवावस्ता गरेर हिँडेको महसुस हुन्छ ।

हामी संघीय र प्रदेशको बजेट हेरेर आफ्नो बजेट बनाउँछौं । संघले त हामीलाई एक रुपैयाँ पनि दिएको हुँदैन । हामीले आफ्नै गच्छेअनुसार बजेट बनाउँछौं तर विडम्बना के छ भने बजेटमा भएका कतिपय विषय अस्विकृत हुन्छ, बजेट रोक्का गरिन्छ । योभन्दा पहिलका अर्थमन्त्रीले हाम्रो १७ करोड रुपैयाँ रोक्का गरिदिनुभयो, हाम्रा योजना अलपत्र परे । त्यसरी बजेट रोक्का गर्नुको तात्पर्य के हो ? कि त सुरुमै यति बजेट दिन्छौं, यी काम गर्नुस् भनेर सहजिकरण गर्नुपर्यो कि त बीचमा बजेट रोक्का गरिदिनु भएन । समपूरकदेखि सबै वित्तीय अनुदानमा संघले भरतपूरलाई जस्तो सहयोग गरिरहेको छ, वीरगन्जलाई पनि त्यति नै दिइयोस् भन्ने हाम्रो माग छ ।

आजको दिनमा संघले हामीलाई दिएको ११५ करोड रुपैयाँले के हुन्छ ? त्यही काठमाडौं महानगरपालिकालाई साढे १४ सय करोड रुपैयाँ दिने, काठमाडौंमै सरकारी÷गैरसरकारीदेखि वाग्मती बचाऊ सबैले अभियान सञ्चालन हुने, वीरगन्जमा चाहिँ कोही पनि आउँदैनन् । विभिन्न संघसंस्थालाई यहाँ ल्याउन नसक्नुमा हाम्रो पनि कमजोरी होलान् । किन कोही यहाँ आइरहेको छैन ? हाम्रा उद्योगी–व्यापारीहरू पनि गुनासो मात्रै गर्नुहुन्छ । तर उहाँहरूमध्ये कतिले आफ्ना व्यवसाय महानगरमा दर्ता गराएर सञ्चालन गर्नुभएको छ ? संविधानमा स्पष्टै उल्लेख भएअनुसार स्थानीय निकायले उठाउन पाउने करसमेत उहाँहरूले दिनुभएको छैन । हाम्रो सिरसिया नदी छठमा मात्रै सफा हुन्छ । छठ सकिएको १० दिनमै फोहोर हुन्छ । वातावरण सफा राख्न व्यवसायीहरूले प्रयत्न गरेका छैनन् ।

बढे–बढे ढोलके आगे तीन टकेकी मोल भनेझैँ उहाँहरू पनि संघीय मन्त्री र सांसदसँग संगत गर्नुहुन्छ, स्थानीय निकायको के मतलब ! मन्त्रालयले जारी गरेको परिपत्रले तरंगित हुने हाम्रा उद्योगीहरू संविधानमै लेखिएको विषय भने पालना गरिरहनु भएको छैन । बहाल करको प्रसंगमा पनि उहाँहरूले किन बोलिरहनुभएको छैन ? अर्थमन्त्रालयको एउटा शाखाको उपसचिवले लेखेको पत्रको भरमा बहाल कर कर कार्यालयमा जान्छ ? महानगरपालिकाले पाउनुपर्ने कुरा किन उहाँहरूलाई हामीलाई दिनुहुन्न ? हामीले इमानदारीपूर्वक आफ्नो दायित्व पालना गरेनौं भने वैभव वीरगन्जको परिकल्पना साकार हुँदैन । सबैको साथ पाए वैभव वीरगन्ज बनाउनु ठूलो कुरा छैन, सबैले सहकार्य गर्नुपर्छ ।

यसो भनिरहँदा हामीले वैभव वीरगन्जअन्तर्गत यो महानगरलाई धार्मिक पर्यटकीय स्थल बनाउन खोजे पनि संघीय कानुनले नै त्यसलाई सहयोग गरेको छैन । भारतीय पर्यटकलाई नेपाल भित्र्याउन खोजेका छौं । पहिले वीरगन्जलाई बाटोको रूपमा मात्रै प्रयोग गरिन्थ्यो । अब यहाँ आइसकेपछि कम्तीमा दुई रात यहाँ बसून् भन्ने हाम्रो चाहना छ । यही कुरामा अवरोध छ । नाका जहिले पनि १० बजे बन्द गर्ने, भारतीय पर्यटकले १० हजार भारतीय रुपैयाँभन्दा बढी ल्याउन नपाउने र त्यसमा पनि ५ सयको नोट ल्याउनै नपाउने नियम छन् ।

सय–सयको गड्डी ल्याएर पर्यटकले यहाँ के नै गर्न पाउँछन् र ? यत्रा ठूला–ठूला मल, होटल, क्यासिनो बनेका छन्, यसमा त संघ सरकार सचेत हुनुपर्यो । भारतबाट जति पैसा आउँछ, आउन दिनुपर्यो । बरु यताबाट बाहिर जान नदिऊँ । साभार : ईकान्तिपुरबाट

 

 

Related posts

पर्सा–बारामा छुवाछुतको विभेद नरोकिएपछि दलितहरु विद्रोहको तयारीमा

MadhesKhabar

उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा डा. सुबाेध गुप्ता निर्वाचित

MadhesKhabar

बंगलादेशमा रहेका हिन्दु लगायतका अल्पसंख्यकको रक्षाका लागि नेपाल सरकारले पहल गरोस् :पूर्वमुख्यमन्त्री सोनल

MadhesKhabar

Leave a Comment