सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन शनिबारदेखि देशभरि सुरु भएको छ । केही जिल्लामा विवादरहित ढंगले नेतृत्व चयन भएका छन् । तर केही जिल्लामा भने विवाद देखिएको छ । पार्टीभित्रको आन्तरिक विवाद कुटाकुटसम्म पुगेको छ । यस्तै कुटाकुटको अवस्था पर्सा जिल्ला अधिवेशनमा पनि भएको छ । सांसद हरि पन्त समूह र सांसदहरू सुशील शाह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य समूहबीचको आन्तरिक द्वन्द्वले अधिवेशन आज (आइतबार) दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । पुराना दलहरू भन्दा फरक पार्टी भएको दाबी गर्दै आएको रास्वपाभित्र जिल्ला नेतृत्व हत्याउन कार्यकर्ताहरूबीच नै कुटाकुटको अवस्था कसरी बन्यो ?भनेर मधेस खबरका संवाददाता प्रमोद यादवले पर्सा-२का सांसद सुशील साह कानुसँग प्रश्न गरेका छन् । प्रस्तुत छ उक्त प्रतिक्रियाको संपादित अंशः
यो अधिवेश मा कार्यकर्ता बीच हात हालाहालकै अवस्था भयो । यस्तो अवस्था किन आयो ?
यो अवस्था आउनुको कारण हो तीन नम्बर क्षेत्रमा पोखरिया नगरपालिकालाई मात्रै समावेश गरिएको छ । चारमा पनि त्यस्तै छ । सबै पालिकाको अधिवेशन भएको छैन । अर्को कुरा जुन विभागहरु गठन गरिएको छ । यसमा एकलौटी ढंगले १८० जना विभागमा थपिएको छ । पार्टीको नियम विपरीत प्रतिनिधि थपिएको छ । यस विषयमा म आफैंले पनि हिजो निर्वाचन कमिटीमा निवेदन पनि दिएको छु । त्यस्तो कुराहरु खारेज नगरेर नोमिनेसन प्रक्रिया अगाडि बढाइयो ।
केन्द्रले नन्दन यादवको संयोजकमा प्रतिनिधि तोकेको छ । नन्दन यादव आफैं यहाँ छैन । उहाँ महोतरीमा हुनुहुन्छ । आफ्नो जिल्लामा अधिवेशनका लागि उहाँ त्यहाँ बसिराख्नु भएको छ ।
तर हाम्रो जिल्ला सभापतिजीले आफ्नो निर्देशनमा निर्वाचन प्रक्रिया अगाडि बढाउनु भयो । उहाँ आफै उम्मेदवार । आफैं जिल्ला सभापति । निर्वाचन प्रमुख पनि आफैं बसेर आफ्नै मान्छे त्यहाँ निर्वाचनमा खटाउने ।
उहाँको पहिलादेखि नै एकजना गौतम श्रेष्ठ भन्ने हुनुहुन्छ । उहाँले नै महादेव कुर्मी माथि हातपात गरेका हुन् । त्यसपछि अधिवेशन स्थगित भएको हो । आज केन्द्रबाट प्रतिनिधि आउने कुरा छ । त्यसमा सरसल्लाह हुन्छ । पार्टी सभापति (हरि पन्त) ले जबर्जस्ती तरिकाले गर्नु भएकाे छ त्यसको छानबिन पनि हुन्छ । एउटा सहमति हुन्छ अनि त्यसपछि अगाडि बढ्छौं ।
पालिका अधिवेशनदेखि सुरु भएको गुटउपगुट जिल्ला अधिवेशनसम्म आइपुग्दा कुटाकुटको अवस्थासम्म सिर्जना भयो । यसले पार्टीमा पनि असर पर्छ होला नि ?
एकदम पार्टीमा असर पर्छ तर यहाँ जुन हाम्रो सभापतिजी हुनुहुन्छ उहाँले एकलौटी तरिकाले गर्न खोज्नु भएको छ । हामीसँग कहिले पनि सरसल्लाह गर्नु भएन ।
उहाँ आफैं मलाई भोट दिनुस् भनेर पालिका पालिका घुम्नु भयो । यसले अब कतै न कतै पार्टीलाई हानि भइरहेकाे छ ।
तर हामी लागिराखेका छौं। आज बेलुका माथिबाट मान्छे आउनु हुन्छ । एउटा सहमतिको वातावरण बन्छ । गुटबन्दी हैन हामी सम्पूर्ण पार्टी एक ढिक्कामा छौं ।
जिल्लाका चार जना सांसदहरू बीचको जुँगाको लडाइँले यस्तो अवस्था आएको भन्छन् नि ?
यसले यसरी नबुझ्दिनुस् । तपाई यति बुझ्नुस हामीले जुन भनेको छौं त्यो कुरा सही छ । त्यसको परिणाम बेलुकासम्म आउँछ । को सही को गलत जब छानबिन कमिटी आउँछ त्यसले टुंग्याउँछ । पार्टीले अधिवेशन किन गराउँछ भने जहाँ सबै मान्छे सहभागी हुन पर्यो ।
आठ आठ वटा पालिकामा अधिवेशन नगराएर कुन जिल्ला अधिवेशन गराउन खोज्नु भएको हो ? त्यहाँको मान्छेहरुले भन्दै छ कि हामीले पार्टीमा भोट दियो हामीलाई पनि पनि वडा समितिमा बसौं । नगर समितिमा बसौं । जिल्ला समितिमा बसौं । क्षेत्रिय कमिटीमा बसौं । सिंगो पालिकाको पालिका अधिवेशन नगरेर कुनियतले जिल्ला अधिवेशन गर्न खोज्नुलाई के भन्ने त ?
बेलुकासम्म कुनै कुनै समाधान निस्किन्छ । गुटउपगुट भन्दा पनि सत्य असत्यको कुरा छ । कसैसँग पनि पूर्वाग्रही हुनु भएन । एक जनाको पार्टी होइन । हाम्रो संगठन विभाग प्रमुख आउँदै हुनुहुन्छ। सरसल्लाह हुन्छ । उहाँ आएपछि सबै जना बसाउनु हुन्छ। त्यसपछि एउटा सहमति हुन्छ र टुंगिन्छ। त्यो सहमति पछि अधिवेशनको कुरा निस्किन्छ ।

