वीरगन्ज, १७ वैशाख : वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिको कार्यालयले वीरगन्जमा बाख्राको मासुलाई खसीको मासु भन्दै झुक्यायर बिक्री वितरण गर्ने मासु पसलेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
केहिदिन यता वीरगन्जका मासु पसलमा बाख्राको मासुलाई खसीको मासु भन्दै उपभोक्तालाई झुक्याएर बिक्रीवितरण भइरहेको जनगुनासो व्यापक रुपमा आइरहेको छ ।
उक्त जनगुनासो आएपछि बिहीबार वीरगन्ज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखाले एक विज्ञप्ति नै जारी गरेर त्यस्तो कार्य नगर्न /नगराउन आग्रह गर्दै यदि त्यस्तो गरिएको भेटिएमा सम्बन्धित पसलेलालार्य प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
सूचनामा भनिएको छ : वीरगन्ज महानगरपालिका क्षेत्रभित्र संचालनमा रहेका केही मासु पसलहरूवाट बाखाको मासुलाई खसी ÷ वोकाको मासु भनी भ्रामक तरिकाले विक्री–वितरण भइरहेको भन्ने सम्वन्धमा प्राप्त जनगुनासोप्रति यस महानगरपालिका पशु सेवा शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
उपभोक्ताको अधिकार संरक्षण, खाद्य स्वच्छता तथा व्यापारिक आचारसंहिता कायम राख्नु सबै व्यवसायीहरूको दायित्व हो । यस सन्दर्भमा, महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण मासु व्यवसायी तथा विक्रेताहरूलाई मासुको सही पहिचान खुलाइ पारदर्शी रूपमा मात्र विक्री–वितरण गर्न, कुनै पनि किसिमको गलत सूचना, मिसावट वा भ्रामक गतिविधि नगर्न/नगराउन यसै सूचना मार्फत कडाइका साथ निर्देशन दिइन्छ ।यस सूचनाको उल्लंघन गरी यस्ता गैरकानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन वमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।


