वीरगन्ज,२फाल्गुनः‘स्वदेशी उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराकासाथ वीरगन्जमा बुधबारदेखि ‘दोस्रो वीरगन्ज फुटवेयर एक्स्पो २०८०’ सुरु भएको छ ।वीरगन्जको लालबंगला परिसरमा नेपाली जुत्ता–चप्पल उत्पादन संघले बुधबारदेखि एक महिने ‘दोस्रो वीरगन्ज फुटवेयर एक्स्पो २०८०’ सुरु गरेको हो ।
एक्सपोको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गर्दै वीरगन्जमा आयोजित एक महिने जुत्ता–चप्पल व्यपार मेलाले अहिलेको आर्थिक मन्दिको प्रभावमा परेको वीरगन्जको व्यपार–व्यवसायलाई चलायमान बनाउन टेवा पुने अपेक्षा गरेको बताए । उनले नेपाली उत्पादनको प्रयोगलाई हरेक नेपालीले प्राथमिकता दिए मुलुकको अर्थतन्त्रपनि बलियो हुने बताए ।
पछिल्लो समय युवा उद्यमीहरुको सकरात्मक प्रयास प्रशंसनीय रहेको भन्दै मेयर सिंहले भने,‘ वीरगन्जमैपनि युवाहरुले धेरै राम्रा उद्यमहरु सुरु गरेका छन् । सफलतापनि पाइरहेका छन् । यसले गरे असम्भव केहि छैन भन्ने पुष्टि भइरहेको छ ।’
स्वदेशी उत्पादनका जुत्ता–चप्पल उपभोक्तको आफनै घरदैलोमा सुलभ मुल्यमा उपलब्ध गराउने उदेश्यले मोफसल बाहिर वीरगन्जमा एक महिने फुटवेयर एक्स्पो आयोजना गरिएको नेपाल जुत्ता उत्पादक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुरज बन्जोडेले बताए । यसका साथै नेपाली उत्पादनको पब्रर्धन गर्नुपनि यसको उदेश्य रहेको उनले बताए ।
बन्जाडेका अनुसार, वीरगन्ज फुटवेयर एक्सोमा नेपालकै विभिन्न १३ वटा उद्योगका ५० वटा ब्राण्डका तीन हजार मोडेल जुत्ता–चप्पलका २६ वटा स्टलहरु राखिएको छ । ती स्टलमा १ सय ५० देखि ५ हजार रुपैयाँसम्म मुल्यका जुत्ता–चप्पलहरु बिक्रीका लागि राखिएको जानकारी बन्जाडेले दिए ।
एक महिने एक्सपोमा ३५ देखि ४० हजार जोर जुत्ता बिक्री हुने र त्यसबाट करिब तीन करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान आँफुहरुको रहेको नेपाल जुत्ता उत्पादक संघका केन्द्रिय उपाध्यक्ष जीवनकुमार श्रेष्ठले बताए ।एक्सपोमा जुत्ता–चप्पल खरिदमा ग्राहकलाई १५ देखि ५० प्रतिशतसम्म छुटपनि दिइने उनले बताए ।
संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बन्जाडेका अनुसार, नेपालको जुत्ता–चप्पलको बजारमा स्वदेशी उद्योगको योगदान ६०देखि ६५ प्रतिशत मात्रै रहेको छ । देशमा वार्षिक १० करोड जोर जुत्ता–चप्पलको माग रहेकोमा स्वदेशी उद्योगले हाल ६ करोड जोर जुत्ता–चप्पलमात्रै उत्पादन गरिरहेको बन्जाडेले बताए । बाँकी चार करोड जोर जुत्ता–चप्पल अहिलेपनि चोरीपैठारीबाट नेपाल भित्रिरहेको उनको भनाइ थियो । उनले भने,‘ देशभर साना ठूला गरी २ सय ५० भन्दा बढी जुत्ता–चप्पल उद्योग छन् । उनिहरुको वार्षिक उत्पादन क्षमता १६ करोड जोर छ । तर देशमा १० करोड जोरको माग छ । हामीले उत्पादन ६ करोड जोर मात्रै गरिररहेका छौं । माग मध्येको बाँकी चार करोड जोर जुत्ताचप्पल भने भारतबाट अवैध रुपमा भित्रिरहेको छ।’
भारतबाट अवैध रुपमा भइरहेको आयातका कारणले स्वदेशी उद्योगहरुले उत्पादन क्षमता हुदैं गर्दापनि पूर्ण क्षमतामा उत्पादन गर्न नसकिरहेको बन्जाडेको गुनासो छ ।
नेपाल जुत्ता उत्पादक संघका केन्द्रिय उपाध्यक्ष जीवन कुमार श्रेष्ठको अध्यक्षतामा भएको एक्सपोको उद्घाटन कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका हिरालाल साह कानु, एनप्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, वीरगन्ज युवा समाजका अध्यक्ष सन्जिव थापा, वीरगन्ज–३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार लगायतकोपनि उपस्थिती थियो ।

