वीरगन्ज,६चैतः जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले नेपालको सीमा नाकामा रहरेका भन्सार हुकुमी शैलीमा चलिरहेको टिप्पणी गरेका छन् ।मंगलबार प्रतिनिधि सभामा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको भन्सार विधेयकमाथि आफ्नो धारणा राख्दै पर्सा क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले भन्सारमा तस्कर र कर्मचारीहरुको राज रहेको बताए ।
उनले भन्सार कार्यालयका कर्मचारीहरुको मिलोमतोमा तस्करहरुले कम बिलबिजक देखाएर राजश्व छलेर मालसामान भित्रयाइरहेको बताए ।यादवले भने,‘ भन्सार हुकुमी शैलीमा चलिरहेको छ । किन भने आयातकर्ताले भन्सार मुल्यपुस्तिका भन्दा कमको मुल्यको बिलबिजक पेश गरेमा भन्सार विभागले ५० प्रतिशत जरीवाना लाग्छ । तर भन्सार मुल्यपुस्तिकाको भन्दा बढी बिलबजिक पेस गरेर सोही अनुसार एलसी खोल्छ । तर त्यसमा जरीवाना लाग्दैन । तर बिल भन्दाको बढी रकम हुण्डीको मार्फत देशमा आइरहेको छ ।यसले राज्यलाई घाटा भइरहेको छ ।’त्यसका कारण भन्सारमा भइरहेको यस्तो विकृतिलाई सरकारले तत्काल रोक्नुपर्नेमा जोड दिए ।
यसका साथै भन्सारको अहिलेको नीति नै स्वदेशी उद्योगलाई डु्बाउने खालको रहेको यादवले बताए। विदेशबाट आउने कच्चा पदार्थको भन्दा तयारी वस्तुको आयातमा लाग्ने भन्सार राजश्व दर कम रहेको उनले बताए । जसका कारण विदेशबाट कच्चा पदार्थ आयात गरेर उत्पादन गरिरहेका स्वदेशी उद्योगहरुले आफना मालवस्तु विदेशमा निर्यात गर्न नसकिरहेको उनले बताए । उनले भने,‘ कच्चा पदार्थको भन्दा तयारी वस्तुको भन्सार राजश्व नै कम छ । जसका कारण आयातकर्ताले कच्चा पदार्थ भन्दा तयारी वस्तु नै बढी आयात गर्छन्। यसले यहाँका स्वदेशी उद्योगहरु धराशायी बन्दै गइरहेका छन् ।
यादवले उच्च भन्सार लाग्ने वस्तुहरु तस्करी भएर नेपाल भित्रने गरेकोपनि बताए ।उनले भने,‘उदाहरणका लागि
नेपालमा काजुमा प्रतिकिलो ६ सय रुपैयाँ भन्सार लाग्ने गरेको छ । नेपाली बजारमा उपलब्ध सबैजसो काजु भन्सार छलेर नै भित्रने गरेको छ ।मलाई लाग्छ अर्थमन्त्रीज्यूले जुन काजु खानुहुन्छ, त्यो भन्सार छलेरै ल्याएको काजु हो।’ त्यसकारण अहिले अर्थमन्त्रीले ल्याएको भन्सार विधेयकमा व्यापक संशोधनको आवश्यकता रहेको उनले बताए ।