
वीरगन्ज, १८ साउन : वीरगन्ज नाकाबाट चार पांग्रे विद्युतीय सवारी साधनको आयात हृवात्तै बढेको छ । सवारी साधन आयात हुने मुलुककै प्रमुख नाका वीरगन्जबाट अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा विद्युतीय जिप, कार र भ्यानको आयात १ सय २७ प्रतिशतले बढेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज नाका हुँदै ६० करोड ४३ लाख रुपैयाँ बराबरको १ सय ५९ वटामात्र विद्युतीय सवारी भित्रिएको थियो ।तर गत आर्थिक वर्षमा भने १ अर्ब ३९ करोड रुपैयाँ बराबरको ३ सय ६१ वटा विद्युतीय जिप, कार, भ्यान आयात भएको छ । तुलनात्मक रुपमा यो नाकाबाट आयात हुने अन्य सवारी साधनको आयात भने गत आर्थिक वर्षमा घटेको छ ।
इन्धनबाट चल्ने सवारी आयातको तथ्यांक हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ८० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज नाका हुँदै ७ अर्ब २७ करोड ५७ लाख रुपैयाँ बराबरको ५ हजार ६ सय ७४ जिप, कार, भ्यान आयात भएकोमा गत आर्थिक वर्षमा १ अर्ब ६८ करोड रुपैयाँ बराबरको १ हजार १ सय १० वटा मात्र भित्रिएको थियो ।
त्यसैगरी, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ९ सय ५६ डबल क्याब पिकअप गाडी आयात भएकोमा गत आर्थिक वर्षमा यसको आयातमा ४१ प्रतिशतले गिरावट आएको छ । गत आवमा ८६ करोड ३१ लाख रुपैयाँ बराबरको ५ सय २८ डबल क्याब पिकअप गाडी आयात भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा वीरगन्ज नाका हुँदै २ अर्ब २४ करोड रुपैयाँ बराबरको २५ हजार २ सय ४८ वटा अन एसेम्बल्ड मोटरसाइकल आयात भएकोमा गत आवमा १ अर्ब ८५ करोड रुपैयाँ बराबरको १८ हजार ८ सय ३३ वटा अन एसेम्बल्ड मोटरसाइकल भित्रिएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करीब २८ प्रतिशतले कमी हो ।
आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६३ करोड रुपैयाँ बराबरको १ हजार २ सय ८७ वटा बस ट्रकका चेसिस वीरगन्ज नाकाबाट आयात भएकोमा गत आवमा १ अर्ब ३३ करोड रुपैयाँ बराबरको ७ सय ३६ वटा बस ट्रकका चेसिस भित्रिएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करीब ४७ प्रतिशतले घटेको छ ।
भन्सार कार्यालयको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब १० करोड रुपैयाँ बराबरको ४५ हजार १ सय ६२ वटा तयारी मोटरसाइकल आयात भएकोमा गत आवमा ७१ करोड ६३ लाख रुपैयाँ बराबरको ७ हजार ४ सय ९५ वटा तयारी मोटरसाइकल भित्रिएको थियो । यो सवारीको आयात करीब ८४ प्रतिशतले घटेको छ ।
समग्रमै सवारी साधनको आयातनै घटेपछि वीरगन्ज भन्सार कार्यालयले वार्षिक रुपमा संकलन गर्दै आएको राजश्वमा यसको योगदान पनि व्यापक रुपमा घटेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा संकलन भएको कुल राजश्वमा सवारी साधन आयातबाट संकलित राजश्वको योगदान ७ दशमलव ४७ प्रतिशत मात्र रहेको छ ।
अघिल्ला आर्थिक वर्षहरुमा कुल संकलित राजश्वमा सवारी साधनको योगदान २५ देखि ३० प्रतिशतसम्म रहँदै आएको थियो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले उपभोक्तामा विद्युतीय सवारी साधनको आकर्षण बढ्दै गएकाले यसको आयात पनि बढ्दो क्रममा रहेको बताए ।
‘विद्युतीय सवारी साधनको आकर्षण बर्सेनि बढ्दो क्रममा छ,’ उनले भने , ‘यो निरन्तर जारी नै रहन्छ ।’ इन्धनबाट चल्ने सवारी साधनको आयात घट्नुमा भने आर्थिक मन्दीनै मुख्य कारण रहेको ढकालको भनाई छ । साभार : रेडियो कान्तिपुर

