वीरगन्ज,३वैशाख:जिल्ला प्रशासन कार्यालय पर्साले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि नागरिकता प्राप्त गर्नेबित्तिकै राष्ट्रिय परिचयपत्र (नेशनल आईडी) को विवरण भर्ने तथा वितरण गर्ने प्रक्रिया सँगसँगै सुरु गरिएको छ।
बिहीबारदेखि लागू गरिएको यस व्यवस्थाअनुसार सेवाग्राहीले करिब एक घण्टाभित्रै नागरिकता र राष्ट्रिय परिचयपत्र दुवै सेवा प्राप्त गर्न थालेका छन्। सेवाग्राहीलाई सरल, छरितो र झन्झटमुक्त सेवा दिने सरकारी नीतिअनुसार कार्यालयले ‘ह्यान्ड टु ह्यान्ड’ प्रणाली कार्यान्वयनमा ल्याएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बैशाख ३ गतेदेखि नयाँ नागरिकता बनाउने सेवाग्राहीलाई सोही समयमा राष्ट्रिय परिचयपत्र पनि उपलब्ध गराउन थालिएको हो। “अहिले सुरुवाती चरणमा नयाँ नागरिकता लिनेहरुलाई मात्र हातोहात परिचयपत्र दिइरहेका छौं, प्रतिलिपिका हकमा भने यो सेवा लागू गरिएको छैन,” उनले बताए।
नागरिकताको प्रमाणपत्र तयार भएसँगै सोही समयमा बायोमेट्रिक प्रक्रिया पूरा गरी राष्ट्रिय परिचयपत्रका लागि आवश्यक सबै विवरण प्रणालीमा समावेश गरिन्छ। यसले गर्दा सेवाग्राहीलाई छुट्टै दिन कार्यालय धाउनुपर्ने, लामो लाइन बस्नुपर्ने र अतिरिक्त खर्च व्यहोर्नुपर्ने बाध्यता हटेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका राष्ट्रिय परिचय पत्र शाखाका जागृत साहका अनुसार सिसिआइएमएस प्रणालीमार्फत नागरिकताको विवरण स्वतः राष्ट्रिय परिचयपत्र प्रणालीमा जाने भएकाले प्रक्रिया छिटो र सहज भएको हो। “नागरिकता तयार भएको करिब ५ मिनेटभित्रै राष्ट्रिय परिचयपत्र पनि तयार हुन्छ,” उनले जानकारी दिए।
नयाँ व्यवस्थाप्रति सेवाग्राहीहरू पनि सन्तुष्ट देखिएका छन्। नागरिकता लिन पुगेकी पिन्की कुमारीले नागरिकतासँगै राष्ट्रिय परिचयपत्र पाउँदा खुसी व्यक्त गर्दै यस्तो सेवा निरन्तर हुनुपर्ने बताइन्। उनले करिब एक घण्टामै दुवै कागजात प्राप्त गरेको बताइन्।
त्यस्तै अर्का सेवाग्राही मनोज पटवाले पनि झन्झटबिना करिब दुई घण्टामै नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन सफल भएको बताए। “एकद्वार प्रणालीका कारण कम समयमा सेवा पाउँदा निकै सहज भयो,” उनले भने।
हाल जिल्ला प्रशासन कार्यालयबाट दैनिक ८० देखि १०० वटा नागरिकता वितरण हुँदै आएको छ। नयाँ व्यवस्थासँगै अब नयाँ नागरिकता बनाउने सबै सेवाग्राहीले नागरिकतासँगै केही मिनेटमै राष्ट्रिय परिचयपत्र पनि प्राप्त गर्नेछन्। राष्ट्रिय परिचयपत्र बनाएसँगै मतदाता नामावलीमा पनि स्वतः नाम समावेश हुने जनाइएको छ।साभार:कालिकाटाइम्स

