Madhes Khabar
स्थानिय

बारामा फेरि हत्या गरिएको अवस्थामा एक महिलाकाे शव भेटियाे

बारा,१६कार्तिक: बारामा एक शिक्षककाे हत्या भएकाे तीनदिन नबित्दै फेरि एक महिलाकाे हत्या भएकाे अवस्थामा शव भेटिएकाे छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ मा बिहीबार बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव भेटिएको हाे ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीका अनुसार जितपुरसिमरा – ६ स्थित खेतमा घाँटी थिची हत्या गरिएको अवस्थामा अन्दाजी २५ देखि ३० वर्ष उमेर भएको अपरिचत महिलाको शव बरामद भएको हो ।

सलको प्रयोग गरेर महिलाको घाँटी थिचेर मारिएको अवस्थामा शव भेटिएको क्षेत्रीले बताए । उनका अनुसार हत्या दुईदेखि तिन दिन पहिला भएको हुनसक्छ। ‘शव कुहिएको अवस्थामा बरामद भएको छ, शरीरको अधिकांश भागमा किरा लागिसकेको छ,’ उनले भने ।मधेसी मूलको जस्तो देखिने शवको अनुहारमा समेत किरा लागिसकेकोले महिलाको पहिचान गर्न कठिनाइ भइरहेको उनले बताए ।

महिलाको मुखमा समेत सलको टुक्राहरू भेटिएको कारण मुख थुनेर त्यही सलले घाँटी थिची हत्या गरिएको हुनसक्ने क्षेत्रीको भनाई छ ।

‘आत्महत्या होइन, हत्या त हत्या नै हो । अनुसन्धान गर्दै छौँ, छिट्टै थप जानकारी उपलब्ध गराउने छौँ,’ उनले भने । महिलाको शव हाल पोस्ट मार्टमका लागि कलैयास्थित प्रादेशिक अस्पतालमा राखिएको उनले बताए ।

बिहीबार बिहान मर्निङ वाकमा गएको बेला शव देखेर स्थानीयहरूले करिब ७ बजेको समयमा प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै इलला प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको टोली घटनास्थलमा पुगेको थियो ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिए । शव बरामद भएको क्षेत्रमा विगत दुई-तिन भित्र कुनै महिला हराएको घटना नभएको कारण शव स्थानीय महिलाको नभएको प्रहरीले निष्कर्ष निकालेको छ । अन्य ठाउँमा हत्या गरेर शव ल्याएर घटनास्थलमा राखिएको हुनसक्ने अथवा त्यहाँ ल्याएर हत्या गरिएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बिहीबार शव बरामद भएको महिलाको हत्यासँगै बारामा पछिल्लो चार दिन भित्र दुई जनाको हत्या भएको छ । यसअघि कलैयास्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारको दिनदहाडै कलैया – ६ स्थित मदर्शा टोलमा गोली हानी हत्या गरिएको थियो ।

Related posts

सहिद दिवसमा कांग्रेसद्वारा वीरगन्जमा १० जना सम्मानित

MadhesKhabar

यू–१९ विश्वकपमा पुग्न सफल क्रिकेटर साना र एसईईमा उत्कृष्ट रिया वीरगन्ज महानगरबाट सम्मानित

MadhesKhabar

समाजवादी प्रेस संगठन पर्साको नयाँ नेतृत्व चयन,अध्यक्षमा शम्भु सुमन

MadhesKhabar

Leave a Comment