वीरगन्ज,०९मंसिरःयू–१९ विश्वकप क्रिकेटमा पुग्न सफल नेपाली राष्ट्रिय टोलीकी सदस्य साना प्रविणलाई वीरगन्ज महानगरपालिकाले सम्मानित गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मुल्ी निवासी सानालाई आइतबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले महानगर कार्यालयमै बोलाएर सम्मानित गरेका हुन् । त्यसअवसरमा मेयर सिंह र उपमेयर आलमले सानालाई ५१ हजार रुपैयाँ नगद प्रदान गर्दै पुरस्कृतपनि गरे ।
हालै सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्डविरुद्धको खेलमा सानाले अर्धसतक प्रहार गर्दै कप्तान पूजा महत्तोसंग मिलेर नेपालका लागि कीर्तिमानी साझेदारी गरेकी थिइन् ।
यस्तै आइतबार वीरगन्ज महानगरपालिकाले सानासंगै २०८० सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षामा पर्सा जिल्लामै सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छात्रा रिया साहलाईपनि सम्मानित गरेको छ ।
कार्यक्रममा मेयर सिंह र उपमेयर आलमले साहलाई एक थान कम्प्युटरपनि प्रदान गरे ।साह २०८० सालको एसईईमा ३.९७ जीपीए ल्याएर पर्सा जिल्लामै सर्वोत्कृष्ट भएकी थिइन् ।
कार्यक्रममा मेयर सिंहले क्रिकेटको माध्यममार्फत वीरगन्ज र नेपालको नाम विश्वमै चिनाउन सफल भएको भन्दै साना प्रविण र परीक्षामा पर्सा जिल्लामै प्रथम भएर शिक्षामा छोरीहरु पनि अघि छन् भनेर अनुकरणीय उदाहरण बनेकी रिया साहको मनोबल र हौसला बढाउन सम्मानित गरिएको बताए ।
छोरीहरुको आत्मबल बढाउन महानगरले कुनै कसर बाँकी नराख्ने भन्दै उनले छोरीहरुले पनि केही गर्न सक्छन् है भन्ने उदाहरणको पात्रको रुपमा दुबै जना बनेको भन्दै आउँदा दिनमा अझै मेहनत गरेर वीरगन्जको नाम रोशन गर्ने काममा लाग्न दुवैलाई आग्रहपनि गरे ।
उपमेयर आलमले वीरगन्जलाई चिनाउन आफ्नो क्षेत्रबाट कम्मर कसेर लागेकाहरुको प्रोत्साहनमा महानगर सँधै साथमा रहेको धारणा व्यक्त गरे । यस अघि पनि क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका आरिफ शेख र आसिफ शेखको महानगरले भव्य सम्मान गरेको स्मरण गर्दै उनले आउँदा दिनमा पनि वीरगन्ज र नेपाललाई चिनाउनेहरुलाई सम्मान गर्न महानगर पछि नपर्ने स्पष्ट पारे ।
वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सबैको सकारात्मक पहलबाटै समाज परिवर्तन हुने हुँदा छोरीहरुलाई पढ्न र खेल्न घरैबाट उत्साह दिनु पर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले क्रिकेटको विकासमा सबैले सहयोग गरिदिन आग्रह गरे ।