वीरगन्ज,५पुस : झण्डै तीन दशकदेखि प्रदुषण र अतिक्रमणको चपेटामा परेको वीरगन्जको सिर्सिया नदीको सफाई र संरक्षणका लागि यहाँका युवाहरुले स्वस्फूर्त जागेर दबाबमुलक अभियान थालेका छन् ।
पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरुले उद्योगका रसायनयुक्त दुषित पानी र फोहारजन्य पदार्थ सिधै सिर्सिया नदीमा बिसर्जन गर्दै आएका कारण नदी करिब तीन दशकदेखि प्रदुषित छ ।
नदीलाई प्रदुषण मुक्त बनाउन वीरगन्ज महाननगरपालिकाले निरन्तर रुपमा प्रयास गर्दै आएको भपनि त्यसले सार्थकता नपाएपछि वीरगन्जका युवाहरु अब आँफै जागरुक भएर अगाडि सरेका हुन् ।
शनिबार बिहान वीरगन्जका जेनजी पुुस्ताका करिब ३० जना युवाहरुले रानीघाटस्थित नदिमा पुगेर त्यहाँबाट २० वटा बोत्तलमा नदिको फोहोर पानी भरेर ती पानीका बोत्तलहरु जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकाको कार्यालयमा लगेर दिएका छन् ।
सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन यसअघि महानगरसहित विभिन्न निकायले गरेको प्रयास सफल नभएपछि अब युवाहरु नै स्वस्फूर्त रुपमा अगाडि आएको युवाहरुको अगुवाई गरिरहेका किसु सर्राफले बताए ।
सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउने अभियान अब युवाहरु आँफैले सुरु गरेको भन्दै उनले अभिानको पहिलो दिन शनिबार सिर्सिया नदीको कालो पानी २० वटा बोत्तलमा भरेर जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकामा लगेर दिएको बताए । उनले भने,‘ केहि व्याक्तिले नदी सफा भइसक्यो भन्ने भ्रमपनि छरेका थिए । तीनीहरुलाई वास्तविकता देखाउनका लागि पनि बोत्तलमा पानी भरेर हामीले लगेर दिएका हौं ।’
सिर्सिया नदीलाई प्रदुषित बनाउने कार्यमा यहाँका उद्योगहरु नै मुख्य जिम्मेवार रहेकाले आगामी शनिबार बोत्तलमा नदीको पानी भरेर वीरगन्ज उद्योग वाणिज्य संघमा पनि लगेर दिने उनले जानकारी दिए ।उनले भने,‘ नदी प्रदुषित पार्ने उद्योगहरुको पक्षमा सधै उद्योग वाणिज्य संघले पक्षपोषण मात्रै गर्दै आइरहेको छ । त्यसका कारण उसलाई पनि नदीको यथार्थ अवस्थाबारे जानकारी गराउनु पर्नेछ ।’
त्यसपछि बाराको परवानीपुर गाँउपालिका, जीतपुरसिमरा उपमहानरपालिकाका साथै पर्सा र बाराबाट संघ र प्रदेश सभामा प्रतिनित्व गरेका निर्वतमान संघीय सांसद, पूर्व संघीय सांसद, प्रदेश सांसद, पूर्वमन्त्रीहरुको पनि घर र कार्यालयमै पुगेर फोहोर पानीसहितको बोत्तल लगेर दिने कार्यक्रम रहेको सर्राफले बताए । उनले भने,‘ म हाम्रा पूर्वमन्त्री र सांसदहरुलाई अहिले नै भन्छु कि तपाईको घर वा अफिसको टेबलमा पनि सिर्सिया नदीको फोहोर पानीको बोत्तल उपहारका रुपमा पुग्नेवाला छ ,तयार भएर बस्नु होला ।’
यसका अतिरिक्त युवाहरुले सिर्सिया नदीकै फोहोर पानीमा उभिएर कविता वाचन गर्ने , महाआरती गर्ने कार्यक्रमहरु पनि रहेको उनले जानकारी दिए ।
अर्का युवा आयुष गुप्ताले छठ पर्बका बेलामात्रै नदी प्रदु्षणबारे प्रश्न उठ्ने गरेको भाष्यलाई चुनौती दिन अहिले छठ नभएको बेलामा पनि वीरगन्जका युवाहरुले नदी प्रदुषणमुक्त अभियान सुरु गरेको बताए ।
वीरगन्ज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन युवाहरुले सुरु गरेको अभियानमा साथ र सहयोग दिन महानगरवासीसंग उनले आह्वान पनि गरे । उनले भने,‘नदीको प्रदुषण हटाउन भन्दै महानगरपालिकाले बेलाबेलामा प्रयास गरेको थियो । तर उसको एक्लो प्रयासले सम्भव भएन । त्यसका कारण अब हामी युवाहरुपनि अगाडि सरेका हौं ।सबैको साथ र सहयोग आवश्यक छ ।’
बाराको रामवनबाट मुहान सुरु भएर बग्दै पर्साको वीरगन्ज महानगर हुदैं भारत बिहारको रक्सौलसम्म पुगेको सिर्सिया नदीमा पर्सा–बारा औद्योगिक कोरिडोरमा रहेकामध्ये २० भन्दा बढी उद्योगहरुले प्रदुषण गर्दै आइरहेका छन् ।कपडा, कार्टुन , छाला , साबुन लगायतका उद्योगहरुले उद्योगको रसायनयुक्त पानी, फोहोरको लेदो ,कोइलाको छाँई, खरानी , सडेगलेका छाला, रौंं लगायतका फोहोर पदार्थ प्रशोधन नगरी सिधै नदीमा मिसाउँदै आएका छन् ।
सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउने निरन्तर प्रयास वीरगन्ज महानगरपालिकाले यसअघि पाँच वटा उद्योगहरुलाई जनही तीन तीन लाख रुपैयाँ आर्थिक जरिवाना गरिसकेको छ । त्यति गर्दापनि नटरेपछि महानगरपालिकाले महानगरबाट संकलित फोहोर कचरा ती उद्योगहरुभित्रै लगेर खन्याएको थियो । तरपनि सिर्सिया नदी अझैसम्म प्रदुषणमु्क्त भने हुन सकेको छैन ।
नदीको प्रदुषण र दुर्गन्धले नदी आसपासमा रहेका बारा र पर्साका करिब दुई दर्जन गाँउका बासिन्दा प्रभावित हुँदै आएका छन्। सिर्सिया नदीको प्रदुषित पानीका कारण नदी छेउका बासिन्दा तथा पशु चौपायामा रोगको संक्रमणसमेत देखिने गरेको नदि छेउका स्थानीय बताउछन् ।
२०६७ सालमा जिल्ला प्रशासन कार्यालय पर्साले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदुषणको कारक उद्योगहरु नै रहेको उल्लेख थियो। प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नामै किटान गरिएको थियो ।रितेश त्रिपाठी संयोजकत्वको समितिको प्रतिवेदनमा नदि प्रदुषित बनाउनेमा औद्योगिक करिडोरका ४६ वटा उद्योगहरुको नाम किटान गरिएको थियो ।उक्त समितिले २०६७ साल मंसिर २२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई उक्त प्रतिवेदन बुझाएको थियो ।

