वीरगन्ज,६पुस:सुशीला कार्की नेतृत्वको सरकारले गरेकाे निर्णय नमान्ने भन्दै पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले ठाडै चुनाती दिएका छन्।
गत मंगलबार संघ सरकारकाे सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुकाे सरुवा गरेकाे थियाे।त्यस क्रममा कालिकामाई गाँउपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित गिरिकाे जिराभवानी गाँउपालिकामा र जिराभवानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाकाे कालिकामाई गाँउपालिकामा सरुवा गरेकाे थियाे।
तर जिराभवानी गाँउपालिकाका अध्यक्ष चाैधरीले भने गिरिलाई पालिकामा हाजिर गर्न नदिने भन्दै सरकारलाई ठाडै चुनाैती दिएका हुन्।आँफुले चाहेकाे कर्मचारीकाे सट्टा गिरिलाई सरकारले सरुवा गरेर पठाएको झाेंकमा अध्यक्ष चाैधरीले गिरिलाई आफ्नो पालिकामा सरकारले सरुवा गर्ने निर्णय नमान्ने घुर्की समेत देखाएका छन्।
गाँउपालिका अध्यक्ष चाैधरीले आफ्नाे असन्तुष्टि सम्बन्धित मन्त्रालयमा पुगेर विधिसम्मत राख्नुकाे साटाे पुस ३ गते एक प्रेस विज्ञप्ति सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेर आक्राेश पाेखेका छन्।
चाैधरीले गिरिलाई जिराभवानी गाँउपालिकमा पठाउने सरकारकाे निर्णय रद्द गरेर उनकाे ठाउँमा आफ्नाे सहमति लिएर मात्रै अरु अधिकृतलाई पठाउन सरकारलाई आदेशात्मक आग्रहसमेत फेसबुकबाटै गरेका छन् ।अन्यथा आउने परिस्थितिको जिम्मेवार स्वयंम मन्त्रालय नै हुने ठाडाे चेतावनीसमेत उनले सरकारलाई दिएका छन् ।

तर जिराभवानी गाँउपालिकाका उपाध्यक्षसहित पाँच वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधिहरु भने सरकारले गाँउपालिकामा गिरिलाई सरुवा गरेर पठाएकोमा खुशी छन्।
गत मंसिर १५ गते जिराभवानी गाँउपालिकामा गाँउ कार्यपालिका (बाेर्ड) काे बैठक बसेकाे थियाे।गाँउपालिका अध्यक्ष चाैधरीले १ वर्ष यता बैठक नै नबाेलाएपछि उनी बाहेक बसेकाे बाेर्ड बैठकले हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले जनप्रतिनिधिहरुलाई नटेरेकाे, गाँउपालिका कार्यालयमा लामाे समयदेखि नआएकाेले कार्यालयकाे कामकाज प्रभावित भएकाे भन्दै कुशवाहाकाे अन्तै सरुवा गरेर अमित गिरि सरुवा भइ आउन इच्छुक रहेकाले गिरिलाई नै जिराभवानी गाँउपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेर पठाइदिन मन्त्रालयमा अनुराेध गर्ने निर्णय गरेकाे थियाे ।
त्यहि निर्णयअनुसार मन्त्रालयले गत मंगलबार राज कुशवाहालाई कालिकामाई गाँउपालिकामा सरुवा गरेर अमित गिरिलाई जिराभवानी गाँउपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेकाे एक कार्यपालिका सदस्यले बताए।अध्यक्ष बाहेकका अरु सबै जनप्रतिनिधिकाे सहमति मै जिराभवानी गाँउपालिकामा गिरिकाे सरुवा भएकाे ती कार्यपालिका सदस्यले बताए ।
यसअघि डेढ वर्षपहिले जिराभवानी गाँउपालिकामै गिरि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।उनी त्यसबेला कार्यरत रहेकाे अवधिभर गाँउपालिका अध्यक्ष चाैधरीले अनुचित आर्थिक लाभका कामहरु गराउन खाेज्दा गिरिले गर्न नमानेकाे र त्यहि कारण अहिलेसम्म पनि चाैधरीले गिरिलाई नरुचाएकाे ती गाँउकार्यपालिकाका सदस्यले बताए ।
ती सदस्यले भने,`गिरि सरुवा भएर अन्त गएपछि करिब डेढ वर्षसम्म अध्यक्ष चाैधरीले हाकिम राज कुशवाहालाई आफ्नाे इशारामा नचाएर गर्न मिल्ने नमिल्ने जति सबै कामहरु गराए । दुवै जनाले मिलजुली चाहेसम्म गर्नु गरे।अहिले सरकारले कुशवाहाकाे अन्त सरुवा गरेर गिरिलाई फेरि हाम्राे पालिकामा पठाएपछि अध्यक्ष चाैधरीलाई झाेंक चलेकाे छ।´

