Madhes Khabar
स्थानिय

निजगढकाे ग्यारेजमा भएको विष्फोटका घाइतेमध्ये १ जनाको मृत्यु (अपडेट)

बारा,१४फाल्गुन:बाराकाे निजगढस्थित गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार विष्फोट हुँदा घाईते भएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर रहेका छन्।

निजगढ नगरपालिका-७ स्थित रोहित वर्कशपका सञ्चालक मगरसहित पाँच जना विष्फोटमा परी गम्भीर घाइते भएका थिए। मगरको उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

घटनामा दुई भारतीय नागरिकसहित अन्य चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्णरुपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन्।

घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत र निजगढ नगरपालिका ५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन्। घाइतेमध्ये थापाको अवस्था सामान्य छ। थापाको कलैया र अन्यको वीरगन्जमा उपचार भइरहेको छ।

विष्फोट भएको उक्त वस्तु के हो भन्ने खुल्न सकेको छैन। प्रहरी प्रवक्ता न्यौपानेले लेथमा फलाम काट्ने क्रममा विष्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ। प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

डेढ कराेडकाे सामानसहितकाे ट्रक र पिकअप प्रहरीले लियाे नियन्त्रणमा

MadhesKhabar

सुक्खा र संकटग्रस्त मधेसको समस्या बुझ्न संघ सरकारले पठाएको अनुगमन टोली वीरगन्जमा

MadhesKhabar

सहकारी पत्रकारिता पुरस्कारबाट बाराका पत्रकार भण्डारी सम्मानित

MadhesKhabar

Leave a Comment