वीरगन्ज,२बैशाख:वीरगन्ज मंगलबार बेलुकी देखि फेर तनावग्रस्त बनेकाे छ।गत शनिबार निकालिएको हिन्दुहरुकाे शाेभायात्राका क्रममा भएको झडपकाे घटनामा संलग्न रहेकाे आराेपमा मंगलबार प्रहरीले तीन जना हिन्दु युवाहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि उनिहरुकाे बिना शर्त रिहाइको माग गर्दै हिन्दुवादीहरु प्रदर्शनमा उत्रिएपछि तनाव भएको हाे।मंगलबार बेलुकी ७.३० बजेतिर हिन्दुवादी संघसंगठनका अगुवाहरुले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भेला भएर धर्नामा बसेपछि उनिहरुलाई प्रहरीले लाठी चार्ज गरेर लखेटेकाे थियाे।त्यसक्रममा दुई जना सञ्चारकर्मी घाइते भएका छन्।पत्रकार अर्जुन गुप्ताको टाउकाे फुटेकाे छ भने अर्का पत्रकार अनिल मिश्रकाे खुट्टामा चाेट लागेकाे छ।उनिहरुकाे नारायणी अस्पतालमा उपचार गरिएको छ।
जिल्ला प्रहरी कार्यालयबाट लखेटिएका हिन्दुवादीहरुले घण्टाघर, घडिअर्वा चाेक लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
गत शनिबार वीरगन्जको छपकैयामा हनुमान जन्माेत्सवको शाेभायात्रामा झडपपछि उत्पन्न भएको तनाव शान्त पार्न गत आइतबार सर्वपक्षीय सहमति जुटाएको २४ घण्टा नबित्दै मंगलबार बेलुकी पुनः विरोध र प्रदर्शन सुरु भएपछि स्थिति तनावपूर्ण बनेको हाे ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकमा दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने र कसैले पनि त्यसमा अवरोध नगर्ने सहमति भएको थियो । तर पक्राउको विरोधमा मंगलबार बेलुकी जिल्ला प्रहरी कार्यालय अगाडि हिन्दुवादीहरुले प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेकाे हाे ।
गत शनिबार वीरगन्जको घण्टाघरबाट सुरु भएको हनुमान जन्माेत्सवको शाेभायात्रा छपकैयामा पुग्दा दुई फरक समुदायबीच झडप भएको थियो ।उक्त झडपमा प्रहरीतर्फ २५ जना र प्रदर्शनकारी तर्फ १५ जना घाइते भएका थिए।त्यसबेला प्रहरीले १४५ राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर गरेकाे थियाे भने शनिबार बेलुकी ७.३० बजेदेखि आइतबार राति १२ बजेसम्म कर्फु पनि लगाएकाे थियाे।

