
मधेसखबर , वीरगन्ज,१८: आमसञ्चार प्राधिकरण जनकपुरले मधेश प्रदेशका सञ्चारमाध्यमहरूका लागि लोककल्याणकारी विज्ञापन प्रसारण तथा प्रकाशनसम्बन्धी नयाँ कार्यादेश जारी गरेको छ।
प्राधिकरणले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालनमा रहेका टेलिभिजन, एफएम रेडियो, अनलाइन तथा पत्रपत्रिकाहरूलाई लक्षित गर्दै मापदण्ड पूरा गरेका सञ्चारमाध्यमलाई मात्र विज्ञापन उपलब्ध गराउने जनाएको छ।
सूचना अनुसार मधेश प्रदेशका ९ वटा टेलिभिजन, ६० वटा रेडियो/एफएम, ५६ दैनिक पत्रिका, १२० साप्ताहिक पत्रिका, १ पाक्षिक, ५ मासिक, १ द्वैमासिक, २ त्रैमासिक पत्रिका तथा ८५ अनलाइन मिडियालाई लोककल्याणकारी विज्ञापनका लागि कार्यादेश दिइएको छ।
त्यस्तै, प्रसारण माध्यमका आधारमा विज्ञापन दर निर्धारण गरिएको छ। टेलिभिजनलाई ७१ हजार २०० देखि ९० हजार ४०० रुपैयाँसम्म, रेडियोहरूलाई वाट क्षमताअनुसार २९ हजार ६०० देखि ४० हजार १०० रुपैयाँसम्म एकमुष्ट उपलब्ध गराइनेछ।
पत्रपत्रिकातर्फ वर्गअनुसार दैनिक पत्रिकालाई २४ हजार ६०० देखि ३० हजार ९०० रुपैयाँसम्म, साप्ताहिक पत्रिकालाई १० हजार ८०० देखि १२ हजार ३०० रुपैयाँसम्म तथा अनलाइन मिडियालाई ८ हजार २२४ रुपैयाँ तोकिएको छ।
प्राधिकरणका अनुसार लोककल्याणकारी विज्ञापन सिफारिस समितिको निर्णयलाई २०८३ वैशाख १३ गते अनुमोदन गरी सोहीअनुसार दर, समय, संख्या र शर्तका आधारमा विज्ञापन प्रसारण गर्न निर्देशन दिइएको हो।
साथै, सञ्चारमाध्यमहरूले प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवश्यक अडियो–भिडियो सामग्री डाउनलोड गरी स्थानीय भाषालाई प्राथमिकता दिँदै प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ।
टेलिभिजनमा शिक्षा, महिला हिंसा, बालविवाह र दाइजो प्रथासम्बन्धी सामग्री प्रसारण गर्नुपर्नेछ भने रेडियो, अनलाइन र पत्रपत्रिकामा सडक सुरक्षा, आगलागी, लागुऔषध दुव्र्यसन तथा कृषि सम्बन्धी सचेतनामूलक सन्देशलाई प्राथमिकता दिइनेछ।
प्रसारणको अनुगमन प्राधिकरणले गर्नेछ र मापदण्ड विपरीत कार्य गर्ने वा सूचीमा नभएका सञ्चारमाध्यमलाई भुक्तानी नदिइने स्पष्ट गरिएको छ।
साथै, सञ्चारमाध्यमहरूले आवश्यक कागजातसहित २०८३ जेठ १५ गतेभित्र भुक्तानीका लागि निवेदन दिनुपर्ने प्राधिकरणका निमित्त प्रशासकीय प्रमुख सन्तोष कुमार साहले जानकारी दिएका छन्।

