Madhes Khabar
अन्तर्राष्ट्रिय

ममता बनर्जीलाई हराएका शुभेन्दु अधिकारी पश्चिम बंगालको मुख्यमन्त्री बन्ने पक्का

काठमाडौं,२५वैशाख:भारतका गृहमन्त्री एवं भारतीय जनता पार्टी (बिजेपी) का नेता अमित शाहले शुभेन्दु अधिकारी पश्चिम बंगालका नयाँ मुख्यमन्त्री हुने घोषणा गरेका छन्। विधानसभा निर्वाचनमा बिजेपीले २०७ सिट जितेको छ।

काेलकतामा शुक्रबार आयाेजित कार्यक्रममा अमित शाहले शुभेन्दु अधिकारीको नाम घोषणा गर्दै भने, ‘भारतीय जनता पार्टीका पश्चिम बंगाल विधानसभा सदस्यहरूको बैठक यहाँ सम्पन्न भएको छ। उक्त बैठकमा पार्टीका राष्ट्रिय अध्यक्षले मलाई र मोहन चरण माझी लाई केन्द्रको तर्फबाट पर्यवेक्षकका रूपमा पठाउनुभएको थियो।’

उनले थप भने, ‘केही समयअघि मात्रै निर्वाचन प्रक्रिया पूरा भएको छ। करिब आठ प्रस्ताव र समर्थन प्राप्त भएका छन्। सबै प्रस्ताव र समर्थन एउटै नामका लागि आएका छन्। दोस्रो नामका लागि पनि समय दिइएको थियो, तर अर्को नाम आएन।’

‘म केन्द्रीय पर्यवेक्षकको हैसियतले शुभेन्दु अधिकारीलाई पश्चिम बंगाल विधानमण्डल दलको नेताका रूपमा निर्वाचित भएको घोषणा गर्दछु,’ शाहले भने।

पश्चिम बंगाल विधानसभा चुनावमा बिजेपीले तृणमूल कांग्रेसको बलियो किल्ला भत्काउँदै सत्तासम्म पुग्न सफल हुनुमा ठूलो श्रेय शुभेन्दु अधिकारीलाई पनि दिएको छ।

राजनीतिक सक्रियता र आक्रामक शैलीका कारण उनी पार्टीको केन्द्रीय नेतृत्वका विश्वासिला नेतामध्ये एक बनेका थिए र मुख्यमन्त्री पदका प्रमुख दाबेदारका रूपमा अगाडि आएका थिए।

शुभेन्दुलाई सन् २०२० सम्म ममता बनर्जीपछि दोस्रो शक्तिशाली नेताका रूपमा हेरिन्थ्यो। तर पार्टीभित्र अभिषेक बनर्जीको प्रभाव बढ्दै जाँदा उनी क्रमशः किनारामा परेका थिए। त्यसपछि सन् २०२१ को चुनावअघि उनले भारतीय जनता पार्टी प्रवेश गरेका थिए।

बीजेपीमा प्रवेश गरेको करिब चार महिनापछि भएको विधानसभा चुनावमा शुभेन्दु अधिकारीले पार्टीलाई तीन सिटबाट ७७ सिटसम्म पुर्‍याएका थिए।

त्यसबेला पार्टीका केन्द्रीय नेताहरूले ‘अबकी बार दुई सय पार’ को नारा दिएका थिए। त्यो लक्ष्य पूरा नभए पनि तीनबाट ७७ सिटसम्म पुग्नु पार्टीका लागि ठूलो उपलब्धि मानिएको थियो।

अब पाँच वर्षपछि पार्टीले पश्चिम बंगालमा ममता बनर्जीको १५ वर्ष पुरानो सरकारलाई सत्ताबाट हटाउन सफल भएको छ। शुभेन्दले भवानीपुर सिटबाट ममतालाई १५ हजार बढी मतले हराएका थिए।साभार:नेपालप्रेस

Related posts

अत्याधिक गर्मीका कारण साउदी अरबमा १४ जना हजयात्रीको मृत्यु

MadhesKhabar

सिरियामा पछिल्लो २ दिनमा भएको झडपमा परि १ हजार बढीको मृत्यु

MadhesKhabar

पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्वीर भाइरल

MadhesKhabar

Leave a Comment