चितवन,२८ असार: पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बस र त्यसका चालकसहित यात्रुहरु अहिलेसम्म बेपत्ता रहेका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरे पनि बस वा यात्रु केहिपनि फेला पर्न सकेको छैन ।
प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा नारायणगढ -मुग्लिन सडकखण्डमा पर्ने चितवनकाे भरतपुर महानगरपालिका वडा नंबर २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए । त्रिशूलीमा वीरगन्जबाट काठमाडौं जांदै गरेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ आउदै गरेको गणपति डिलक्सको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस खसेर बेपत्ता भएका हुन् ।
वीरगन्जबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए ।
उक्त स्थानमा सशस्त्र प्रहरी बलका १७ गोताखोरसहित सशस्त्र प्रहरी र नेपाली सेना गरी ७० जना सुरक्षाकर्मी परिचालन भएका थिए । अहिलेसम्म बस र यात्रुको अवस्था अज्ञात रहेको र आजका लागि खोजी कार्य स्थगित भएको प्रहरीले जानकारी दिएको छ ।भाेलि बिहानैदेखि फेरि खाेजी कार्य सुरु गरिने बताइएको छ।

