Madhes Khabar
स्थानिय हेडलाइन

भूमाफीयाले कब्जा गरेको अरबौं मूल्यको जग्गा वीरगन्ज महानगरको प्रयासले सरकारको नाममा कायम

वीरगन्ज,१७असोजः वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाँ स्थित रेल्वेरोडसँगै जोडिएको अरबौँ मुल्य पर्ने करिब ३२ कट्ठा जग्गा सार्वजनिक कायम भएको छ ।

विगत लामो समयदेखि भूमाफियाहरुले नक्कली कागजात खडा गरी स्वमीत्वको विवाद देखाउँदै आएको उक्त जग्गालाई मालपोत कार्यालय पर्साले सार्वजनिक कायम गर्दै नेपाल सरकारको नाममा गर्ने फैसला गरेको हो ।

ताराचन्द केडिया, जगदीश नारायण साह कानु, इन्दु देवी, तारणी विक्रम शाह, शरद विक्रम शाह, हरिनारायण गुप्ता लागायतले उक्त जग्गा आफ्नो दाबी गर्दै किचलो गर्दै आएका थिए । तर उक्त जग्गा २०४६ सालमा नयाँ नापी हुदा जग्गाधनी महल खाली रही कोही कसैले आवाद नगरेको अवस्थामा हुँदापनि भूमाफियाहरुले कब्जा गर्न खोजेको देखेपछि संस्थागत रुपमा नै वीरगन्ज महानगरपालिकाको २०८० असोज २६ गतेको बोर्ड बैठकले सार्वजनिक कायम गर्नु पर्ने निर्णय गर्दै मालपोत कार्यालय पर्सामा निवेदन दिएको थियो ।

बुधबार मालपोत कार्यालयले व्यक्तिगत दाबीलाई खारेज गर्दै महानगरपालिकाको पक्षमा जग्गा सार्वजनिक कायम हुने गरी नेपाल सरकारको नाममा गर्ने निर्णय गरेको हो । मालपोत कार्यालय पर्साको बुधबारको निर्णय, सार्वजनिक जग्गा संरक्षणमा महानगरले चालेको कदममा महत्वपूर्ण सफलता भएको महानगरका मेयर राजेशमान सिंहले बताए ।

४ जेठ २०६८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ताराचन्द केडियाको नाउँमा मालपोत कार्यालय पर्सामा दर्ता रहेको कित्ता नम्वर ११७ र ९७ नम्बरको जग्गा व्यक्तिको नाम खारेज गरी नेपाल सरकारको नाममा लालपूर्जा बनाएर जिल्ला प्रशासन कार्यालय पर्सामा दिनु भनेर आदेश दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णय र त्यही निर्णयको आधारमा भूमिसुधार विभागको निर्देशनमा केडियाको नाममा रहेको दाबी गरिएको जग्गा नेपाल सरकारको नाममा गर्ने निर्णय विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर भएको थियो ।

त्यसपछि सर्वाेच्च अदालतका न्यायधीस इश्वर खतिवडा र हरि प्रसाद फुयाँलको २०७९ साउन २६ गते बसेको सयुक्त बेन्चले अख्तियार अनुसन्धान आयोगको ठाडो निर्देशनमा मालपोत कार्यालय पर्साले व्यक्तिको नाउँमा रहेको जग्गा नेपाल सरकारको नाउँमा कायम गर्ने निर्णय बदर गरिदिएको थियो । सर्वाेच्चले जग्गाको हकदावी र कागजपत्र बुझि फैसला गर्ने अधिकार मालपोत कार्यालय पर्सालाई दिएको थियो ।

सर्वाेच्च अदालतको निर्णयलाई आधार बनाएर मालपोत कार्यालय पर्साले कित्ता नंबर ११७ र ९७ दाबी गर्ने व्यक्तिहरुलाई प्रमाणसहित हकदावी गर्न पत्राचार गरेको थियो । उक्त जग्गाको मुद्दा पटक पटक तारेख तोकेर बुधबार मालपोतले फैसला गरेको हो ।

बुधबार मालपोत कार्यालय पर्सामा भएको बहसमा ताराचन्द्र केडीयाको पक्षबाट अधिवक्ता बालमुकुन्द खरेल तथा महानगरपालिकाको तर्फबाट अधिवक्ता कमलमोहन पोखरेल र कानुन अधिकृत अधिवक्ता इश्वर बरालले बहस पैरवी गरेका थिए भने अन्य पक्षका तर्फबाट पक्षहरु स्वंय उपस्थित भई प्रमुख मालपोत अधिकृत डमरु प्रसाद निरौलाको इजलासमा आफ्नो नाममा दर्ता हुनुपर्ने मागदावी पेस गरेका थिए ।

प्रमुख मालपोत अधिकृत निरौलाको अर्धन्यायिक इजलासले मालपोत ऐन २०३४ को दफा २४ (२) बमोजिम उक्त जग्गा नेपाल सरकारको नाममा कायम गर्ने फैसला सुनाएको हो । साविक छपकैया गाविस “वी” वडा नंबर ९ र हाल वीरगन्ज महानगरपलिका वडा नंबर २ मा रहेको नारायणी अस्पतालसँगै जोडिएको पूर्व पट्टीको ३२ कठ्ठा जग्गा आफ्नो दावी गर्दै केडिया परिवार सहित ७ जना व्यक्तिले आफ्नो भएको दावी सहित मालपोत, नापी हुदै सर्वाेच्च अदालत सम्म पुगेका थिए ।

 

Related posts

वीरगन्जमा अतिक्रमित जग्गा खोजि अभियान जारी, आज पनि ७ विघा जग्गाको अतिक्रमण हटाईयो

MadhesKhabar

वीरगञ्जमा रात्रीकालिन खाना तथा सांस्कृतिक मेला आज पनि जारी

MadhesKhabar

माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक

MadhesKhabar

Leave a Comment