
वीरगन्ज,१६बैशाखःगर्मी बढेसँगै वीरगन्जको रक्त सञ्चार केन्द्र (ब्लड बैंक)मा फेरि रगतको अभाव सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा वीरगन्ज–३ छपकैयामा सञ्चालित रक्त सञ्चार केन्द्रमा मंगलबार मुस्किलले ३० पोका रगत मौज्दात रहेको छ ।
केन्द्रका प्राविधिक धीरेन्द्र झाका अनुसार रक्त सञ्चार केन्द्रमा दैनिक ७० देखि ८० पोका रगतको माग रहेकामा आपूर्ति भने बन्द प्रायः रहेको छ । ‘रगतको उच्च माग छ, तर आपूर्ति गर्ने रक्तदान कार्यक्रम घटेका छन्,’ उनले भने, ‘साताको एक दिन शनिबार मात्र प्रायः वीरगन्जमा रक्तदान कार्यक्रम आयोजना हुन्छ, त्यसकै भर छ ।’
रक्तदान कार्यक्रम पनि गर्मी लागेसँगै घट्दो क्रममा हुने गरेका छन् । यस्तो अवस्थामा रगतको माग गर्न आउनेलाई प्रायः सट्टाभर्ना गरेर मात्र रगत दिनुपरेको उनले बताए । यसरी सट्टा भर्नामा रगत दिँदा पनि सम्बन्धित समूहकै रगत लिने गरिएकाले रगत माग गर्नेलाई पनि सास्ती हुने गरेको झा बताउँछन् ।
यसबाहेक कुरुवा बसेकाहरु, भारतीय नागरिक, बेवारिस अवस्थामा बिरामी भएका व्यक्ति, एचआईभी संक्रमित, डायलसिस र थाइलेसिमियाका बिरामीलाई पनि नियमित रुपमा तत्कालै रगत उपलब्ध गराउनुपर्ने जिम्मेवारी रहेको उनले बताए । यस्तो अवस्थामा चिकित्सकले सिफारिस गरेको रगत उपलब्ध गराउन पनि हम्मेहम्मे पर्ने गरेको उनी बताउँछन् ।
हाल केन्द्रमा बी र ओ समूहका रगतको माग बढी रहेको उनले बताए । एबी, ए, ए पोजिटिभ रक्त समूहको रगत दुर्लभ छ । सामान्य अवस्थामा पनि तराईमा रक्तदानप्रति रुचि नराख्ने प्रवृत्ति रहेको र हालका दिन गर्मी बढेसँगै नियमित रक्तदान कार्यक्रम पनि घट्दो क्रममा छ । यस्तो अवस्थामा सामाजिक संघसंस्था रगत संकलन गर्ने अभियानमा जुटे धेरै राहत हुने उनले बताए ।साभारः कान्तिपुर