Madhes Khabar
स्थानिय हेडलाइन

ठाकुरराममा निर्वाचन समितिले नै गर्यो मतगणना स्थगीत, पुन मतदान हुनुपर्ने विद्यार्थी संगठनको माग

वीरगन्ज,०७चैतःवीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना स्थगीत भएको छ ।मतगणनाका क्रममा एउटा मतपेटिकामा मतदान सकिएका दिन लगाइएको सिलबन्दी नम्बर मतगणना गर्ने क्रममा खोल्न लाग्दा मेल नखाएपछि विवाद भएको र त्यहि विवादका कारण मतणना स्थगीत भएको हो ।

गत मंगलबार मतदान सकिएलगत्तै निर्वाचन समितिले मतपेटिका सिल गरेर मुचुल्का उठाउने क्रममा उम्मेदवारका प्रतिनिधीहरुलाई पनि सिलबन्दी नम्बर दिएको थियो ।बिहीबार दिउँसो एउटा मतपेटिका खोल्ने क्रममा उम्मेदवारका प्रतिनिधीसंग रहेको सिलबन्दी नम्बर र मतपेटिकामा रहेको सिलबन्दी नम्बर मेल नखाएपछि विवाद भयो। मतपेटिकाको सिलबन्दी नम्बर फरक परेपछि मतगणनामा खटिएका उम्मेदवारका प्रतिनिधीहरुले क्याम्पस प्रशासन र निर्वाचन समितिविरुद्ध नाराबाजी गर्दै प्रदर्शनसमेत गरे । उनिहरुका संगठनहरुले पनि क्याम्पसको मूल गेट अगाडि टायर बालेर प्रदर्शन गरे ।

उम्मेदवारी दर्ता गरेका १४ मध्ये १० संगठनका नेताहरुले मतदानमै धाँधली गरिएको भनेर आँफुहरुले यसअघि लगाएको आरोप अहिले गणनाका क्रममा पुष्टि नै भइसकोले पुन मतदानको माग गरेका छन् । अनेरास्ववियु,अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जय नेपाल विद्यार्थी संघ, स्वतन्त्र विद्यार्थी समुह,सुधिर पटेल समुह लगायतका १० संगठनहरुले पुन मतदानको माग गरेका हुन् ।

यता नेविसंघ,नेपाल विद्यार्थी समुह लगायत चार वटा संगठनहरुले भने विवादीत मतपेटिकालाई तत्काल अलग्गै राखेर बाँकी रहेका अरु मतपेटिकाको मतगणना सुचारु गर्नुपर्ने पक्षमा छन् ।

बिहीबार दिउँसो मतगणना अवरुद्ध हुनुअघि निर्वाचन समितिले सार्वजनिक गरेको मतगणनाको परिणाम अनुसार, सभापति पदमा नेविसंघबाट विद्रोह गरेर नेपाल विद्यार्थी समुहको नामबाट उम्मेदवार बनेका राज कुमार ४२० मतका साथ पहिलो स्थानमा छन् । यादव कांग्रेस नेता शेखर कोइराला पक्षधरका कांग्रेस नेताहरुका समर्थित उम्मेदवार हुन् । यादवलाई नेविसंघका उम्मेदवार विकास मण्डल धानुकले २६१ मतका साथ पछ्याइरहेका छन् । यस्तै तेस्रो स्थानमा रहेका समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादवले २२१ मत, सुधिर पटेल समुहका उम्मेदवार कमलेश यादवले २०४ मत र पाँचौ स्थानमा रहेका अनेरास्ववियुका पवन यादवले १५० मत पाएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा १६ बर्षपछि यसपालि भएको स्ववियु निर्वाचनमा सभापति पदमा १४ जना उम्मेदवार छन् । गत मंगलबार भएको निर्वाचनमा ४० प्रतिशत मात्रै अर्थात कुल १० हजार ७२९ मतमध्ये ४ हजार २९९ मत मात्रै खसेको थियो ।
बिहीबार साँझसम्म पनि विवाद नसुल्झिएपछि निर्वाचन समितिले मतगणना भइरहेका चार वटै कोठा र मतपेटिका राखिएका कोठामा सिल गरेर मतगणना अर्को सूचना जारी नगरिएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

प्रमुुख निर्वाचन अधिकृत दिलिप सिंहले मतगणना अवरुद्ध हुनु भन्दा पहिले मतपेटिकाहरु जुन अवस्थामा थिए त्यहि अवस्थामा कोठामा सिल गरेर मतगणना तत्कालका लागि स्थगित गरिएको बताए । मतगणनाका क्रममा उत्पन्न विवाद सुल्झाउनका लागि क्याम्पस प्रशासन र निर्वाचन समितिले विद्यार्थी संगठन र तीनका उम्मेदवारहरुसंग छलफल गर्ने उनले मधेसखबरलाई बतााए ।

सर्वपक्षिय छलफलमा विवादीत मतपेटिका तत्काल नगर्ने र बाँकी रहेका अन्य मतपेटिकाको मतगणना सुचारु गराउनका लागि क्याम्पस प्रशासन र निर्वाचन समितिले विद्यार्थी संगठनहरु समक्ष प्रस्ताव राख्ने उनले बताए । सिंहले भने,‘हामी अब सहमतिको प्रयासमा लाग्छौ । सर्वसम्मपतिमै मतगणना सुचारु गरााउने प्रयास हाम्रो तर्फबाट रहन्छ ।’

प्रमुख निर्वाचन अधिकृत सिंहले बिहीबार दिउँसो मतगणना चलिरहदा एउटा मतपेटिका खोल्ने क्रममा उक्त मतपेटिकामा लगाइएका ५ मध्ये ४ वटा सिलको नम्बर मेल खाएको र बिचमा लगाइएको एउटा सिलको नम्बर फरक भेटिएपछि विवाद भएको बतााए । त्यहि विवादका कारण मतगणना अवरुद्ध हुन पुगेको उनले मधेसखबरलाई बताए । सिंहका अनुसार , गत मंगलबार भएको निर्वाचनमा प्रत्यक्षतर्फ १५ र समानुपातिकतर्फका ९ गरी कूल २४ वटा मतपेटिका प्रयोग गरिएको थियो । बिहीबार दिउँसोसम्म १ हजार ४ सय बढी मतको गणना सकिसकेको अवस्थामा विवाद भई मतगणना रोकिएको उनले बताए ।

 

Related posts

वीरगन्जमा बन्न लागेको चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसमा क्याम्पस प्रमुखको दादागिरी : नेविसंघका छात्राहरुलाई गालीगलौज र हातपात

MadhesKhabar

गढीमाई मेलामा करोडौं अनियमितता गरिएको आरोप

MadhesKhabar

Leave a Comment