Madhes Khabar
स्थानिय हेडलाइन

बाराको ३ नम्बर पुल क्षेत्रको बस्तीमा चल्यो डोजर

बारा, १ जेठः डिभिजन वन कार्यालय बाराले ३ नम्बर पुल नजिकको बस्ती डोजर लगाएर खाली गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडाको टोलीको सहयोगमा शुक्रबार बिहान डोजर लगाएर बस्ती हटाइएको हो ।

डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले वन क्षेत्र र निकुञ्जको क्षेत्रमा बस्ती रहेकाले हटाउनु परेको बताए ।

दुई हप्ता अघि सडक विभागको सूचना पछि त्रिभुवन राजपथको दुवैतर्फ २५–२५ मिटर आफैंले खाली गरेर व्यवसायीहरुले सडक सीमाभन्दा बाहिर व्यवसाय गरिरहेका थिए । त्यसैमा आज डोजर चलाइएपछि राज्यले दमन गरेको आरोप व्यवसायीहरुले लगाएका छन् ।

स्थानीय अगुवा अनिल पाख्रिनले २०४५ सालबाट यहाँ व्यवसाय गरिरहेका स्थानीयलाई राज्यले ज्यादतीपूर्ण तरिकाले हटाएको गुनासो गरे । ‘सडकको क्षेत्राधिकार भित्रका घर टहरा आफैंले हटाइसकेका व्यवसायीलाई समय नदिई हटाउँदा हामी अन्यायमा परेका छौं,’ उनले भने ।

त्रिभुवन राजमार्गको हेटौंडा–पथलैया खण्डमा पर्ने तीन नम्बर पुल क्षेत्र यो मार्ग भएर यात्रा गर्ने यात्रुहरुको विश्रामस्थलको रुपमा परिचित थियो । ७० भन्दा धेरै व्यवसायीको होटल व्यवसाय सन्चालनमा रहेको यो बजार खाली भएपछि स्थानीय जीविकोपार्जनलाई लिएर चिन्तित छन् ।

स्थानीय व्यवसायी मिनाकुमारी रुम्बाले पसलकै कमाइबाट १२ लाख रुपैयाँ खर्च गरेर केही दिन अघि मात्रै नयाँ घर बनाएकी थिइन् । ‘सडकको क्षेत्र छोडेर बस्दा केही हुँदैन भन्ने ठानेर १२ लाख ऋण गरेर नयाँ घर बनाएँ, अब मेरो सबैथोक सक्कियो,’ रुम्बा भन्छिन् ।

उद्योग वाणिज्य संघ जीतपुरसिमराका अध्यक्ष मोहन शर्माले व्यवसायीलाई ठाउँ सार्ने पर्याप्त समय नदिई डोजर चलाएर राज्यले बर्बर दमन गरेको बताए । ‘व्यवसायी माथिको मात्रै नभई स्थानीयको मानवअधिकार माथि पनि राज्यका तर्फबाट दमन गरिएको छ,’ शर्माले भने ।

तर जिल्ला वन कार्यालयले भने पटकपटक माइकिङ र लिखित सूचना बस्तीमा टाँस्दा पनि स्थानीयले अटेर गरेकाले डोजर चलाउनु परेको बताएको छ ।साभारःअनलाइखबर

Related posts

भारतीय बन्दरगाहबाट रेल्वे -याक वीरगन्ज ड्राइपोर्टमा समयमा नआउँदा उद्योगी–व्यपारीहरु मर्कामा

MadhesKhabar

वीरगंजमा जसपा छाडेर सयौं नेता–कार्यकर्ता प्रदीप यादवको नेतृत्वमा एमालेमा प्रवेश

MadhesKhabar

वीरगन्जमा परिवर्तनको अनूभूती : अन्तत बनेरै छाड्यो घण्टाघरको सडक

MadhesKhabar

Leave a Comment