Madhes Khabar
राष्ट्रिय

भदौ २४ को उपद्रवमा संलग्न २५० जनालाई गृह मन्त्रालयको निर्देशनमा प्रहरीले छोड्यो

फाइल तस्बिर ।

काठमाडौं,२२ असोजःभदौ २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत राष्ट्रिय सम्पदामाथि आगजनी, लुटपाट र प्रहरी चौकीमा आक्रमण गर्नेमध्ये पहिचान गरेर पक्राउ परेका करिब २५० जना व्यक्ति हाजिरी जमानीमा रिहा भएका छन् ।

महानगरीय प्रहरी कार्यालय मातहतका युनिटबाट पक्राउ परेका २५० जति व्यक्तिलाई गृह मन्त्रालयको निर्देशनमा छाडिएको हो । गृह मन्त्रालयले जाँचबुझ आयोगको प्रतिवेदन नआई कसैमाथि धरपकड नगर्ने भनेर वक्तव्य जारी गरेसँगै दशैँमा उनीहरू छुटेका हुन् ।

विभिन्न घटनामा संलग्न रहेको आधारमा पक्राउ परेकाहरूलाई बयान लिएर छाडिएको परिसरका प्रवक्ता पवन भट्टराईले बताएका छन् । जघन्य अपराधमा संलग्न भएकाहरू भने अनुसन्धानमै रहेका छन् ।

प्रहरीले विभिन्न भिडिओ फुटेज, फोटो र प्रमाणका आधारमा भदौ २४ को उपद्रवमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको थियो । त्यसमा महाराजञ्ज र कोटेश्वरका प्रहरीको हत्यामा संलग्न व्यक्ति समेत छन् । प्रहरीको हत्यामा संलग्नहरुलाई भने रिहा गरिएको छैन ।

आगजनी, लुटपाट र विध्वंसमा संलग्नहरू जो बयान हाजिरीमा छुटेका छन् उनीहरू अनुसन्धानकै क्रममा रहेकाले उन्मुक्ति भने नपाएको प्रहरी अधिकारीहरूले बताएका छन् । उनीहरू जेन–जी आन्दोलनको दबाब र सरकारको निर्देशनपछि प्रहरीले खोजेको बेला आउने गरी रिहा भएका हुन् ।

परिसरका एक प्रहरी अधिकृतले भने, उनीहरू सबैसँग बयान कागज गरिसकेको छ । धेरैको प्रमाण संकलन भएको छ । बयानका क्रममा धेरैजसोले हुलमुल र अन्जानमा संलग्न भएको भन्दै प्रत्यक्ष संलग्नता अश्वीकार गरेका छन् । तर, पनि उनीहरू सबैको बयान लिएर जमानीमा छाडिएकाले अनुसन्धानकै क्रममा छन्, कुनै पनि बेला उनीहरूलाई कानून बमोजिम कारबाही अघि बढाउन समस्या छैन ।

यसैबीच उपत्यका अपराध महाशाखाका प्रमुख रमेश बस्नेतले प्रहरीले आफ्नो नियमित काम जारी राखेको र कतैबाट दबाब नरहेको बताए । उनले अहिले आफूहरूको मुख्य प्राथमिकता भागेका कैदी बन्दीलाई खोजेर बुझाउने, लुटिएका हतियार फिर्ता र जघन्य अपराधको अनुसन्धान रहेको बताए ।साभारःनेपाल प्रेस

Related posts

सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै काठमाडौंमा धर्ना बसेका अभियन्ताहरुलाई गृहमन्त्री श्रेष्ठले भेटे

MadhesKhabar

राष्ट्रपतिले प्रमाणीकरण गरेकाे नागरिकता विधेयक विरुद्ध सर्वाेच्च अदालतमा रिट

MadhesKhabar

सहकारी ठगी प्रकरणमै रवि लामिछाने विरुद्ध रुपेन्देही अदालतबाट पनि पक्राउ पुर्जी जारी

MadhesKhabar

Leave a Comment