Madhes Khabar
रोचक दुनियाँ

नेपालमै भयो यस्तो अच्चम :आँफै प्रहरीकोमा गएर उनले भने– म अपराधी हुँ,मलाई कारबाही गरियोस्

काठमाडौं,१८बैशाखःबैशाख ११ गते। रातको १० बजेको हुँदो हो।काठमाडौंको प्रहरी वृत्त बौद्धमा एक अधवैँशे पुरूष सुइँसुइँ आए र गेटमा उभिएका प्रहरीलाई भने– म अपराधी हुँ। कार्बाही गर्नुस्। गेटमा ड्युटी गरिरहेका प्रहरी उनको कुरा सुनेर अकमक्क परे।

सामान्य अपराध गरेकाहरूलाई समेत पक्राउ गर्न प्रहरीले कति दुःख गर्नुपर्छ, त्यसदिन कोही व्यक्ति आएर आफूलाई अपराधी भनेर स्वीकार गरिरहेको पत्याउन उनलाई कठिन भयो। ड्युटीमा खटिएका प्रहरीले एक छिनसम्म विश्वास नै गरेनन्। उनले ती पुरूषमाथि सोधपुछ गरे। जबाफ सुनेर उनी चित खाए।

’आफैले गरेको अपराध सम्झेर दस वर्ष भयो राम्ररी सुत्न नसकेको। एकदम आत्मग्लानी हुन्छ। मलाई कार्बाही गर्नुस्,’ ती पुरुषले भने। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो र थप सोधखोज ग¥यो।

सोधपुछ गरेपछि उनले भनेअनुसारकै घटना भएको भेटिएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए। ’ती पुरूषले भनेझै १० वर्षअघि घटना भएको भेटियो,’ बोहराले भने, ’उनी बलात्कार मुद्दामा फरार रहेछन्।’

ती पुरूष ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ घर भई अहिले काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय काले तामाङ हुन्।उनी १० वर्षअघि पनि त्यही बस्थे। साबिक गोकर्णेश्वर नगरपालिका–१६ हालको वडा–९ मा पर्छ।

उनले प्रहरीलाई बताएअनुसार २०७२ फागुन ४ गतेका दिन वडा–९ आरूबारीस्थित ९ वर्षीया बालिकाको कोठामा गइ बलात्कारको प्रयास गरेका थिए।

’कोही नभएको मौकामा बालिकाको कोठामा पसेको थिएँ। बलात्कारको प्रयास गर्दा चिच्याएपछि भागेको हुँ,’ तामाङले प्रहरीलाई भने, ’प्रहरीको नियन्त्रणमा आउने डरले पहिला देश नै छाडे। तर गलत गरेँ भन्ने पछुतोले कहीँ कतै शान्ति मिलेन।’

काले उक्त घटनापछि भागेर भारतको असाम पुगेका थिए। त्यहाँ सात वर्ष काम गरेर फर्किएका थिए। त्यहाँबाट फर्किएपछि सुनसरी र उदयपुरका आफन्त तथा साथीहरूको लुकेर बसेको प्रहरीलाई बयान दिएका छन्।यतिका समयपछि किन आफै आउन मन लाग्यो भनेर प्रहरीले उनलाई सोधेको थियो।

’घटना लुकाउन १० वर्ष परिवारसँग टाढा बसेँ। एउटा गल्तीले बाँच्न गाह्रो भयो। रातभरि निद्रा लागेन। गल्ती गरेको छु भन्ने मनमा लागिरह्यो, छटपटी भयो। त्यसैले यो पीर हटाउन चाहन्छु, सजाय भोग्न आएको हुँ,’ उनको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक बोहराले भने।

भागेको १० वर्षपछि काठमाडौं फर्किएपछि पनि उनी बेचैन थिए। परिवारले पनि उनलाई पटकपटक छटपटीको कारण सोधेका थिए।त्यसपछि आफ्नो ब्यथा उनले परिवारलाई सुनाए। परिवारले पनि कानुनले तोकेको सजाय भोग्न सल्लाह दिएको उनले प्रहरीलाई भनेका छन्। त्यसपछि उनी आफै प्रहरी कार्यालय उपस्थित भएर आत्मसमर्पण गरेका थिए।

’उहाँले १०÷११ वर्षीय छोरा साथमा लिएर आउनुभएको थियो,’ प्रहरी उपरीक्षक बोहराले भने, ’आफ्नो गल्तीको पछुतो लागेकाले प्रहरीसमक्ष आएको हुँ भन्नुभयो।’ उनले भनेअनुसार प्रहरी अभिलेख खोज्ने क्रममा तामाङविरूद्ध बालिकाका परिवारले २०७२ फागुन ५ गते जाहेरी दिएको भेटियो।

’काले तामाङ भन्ने व्यक्ति कोठामा एक्लै भएको मौका पारी बालिकामाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको र चिच्चाउन थालेपछि भागेको हुँदा कानुनी बमोजिम कार्बाही गरिपाउँ,’ भन्दै बालिकाको अभिभावकले जाहेरी दिएका रेकर्डमा भेटिएको हो।

तत्कालीन समयमा फरार रहेकाले उनीविरुद्ध मुलुकी ऐन जबरजस्ती करणी महलको ५ नम्बर बमोजिम सजाय कायम गरी पाऊँ भन्दै प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धानको मिसिल बुझाएको थियो।

सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा तामाङलाई फरार कायम गर्दै २०७३ असोज ३० गते मुद्दा दायर गरेको प्रहरी उपरीक्षक बोहराले जानकारी दिए।

’अदालतले २०७५ मंसिर ६ गते तामाङको हकमा यकिन वतन खुली आएमा मुद्दा जगाई कार्बाही किनारा गर्ने गरी तामेलीमा राख्ने आदेश दिएको देखियो,’ उनले भने,’तामाङविरूद्ध परेका उजुरीसहित बलात्कारको प्रयास गरेको केही तथ्यहरू फेला परेपछि कानुनी कार्बाही अगाडि बढाइएको छ।’

उनको फाइलहरू खोज्न, तथ्यहरू जुटाउन दुई दिन लाग्यो। तथ्यंहरू भेटिएपछि जिल्ला अदालत काठमाडौंमा पेस गरी वैशाख १४ गते पुर्पक्षका लागि जगन्नाथ देवल कारागार पठाइएको छ। (पत्रकार सरिशा अछामीले लेखेको यो समाचार सेतोपाटी अनलाइन पोटलमा प्रकाशीत छ । )

Related posts

कलैयाका मेयर र उपमेयरलाई तौल बराबरको लड्डुले स्वागत

MadhesKhabar

चुनावमा ईदको रौनक – मतदाता फकाउन उम्मेदवारहरु मुस्लिमवस्तीमा (फोटो फिचर)

MadhesKhabar

मानिसबाट कुकुर बन्न १९ लाख खर्च

MadhesKhabar

Leave a Comment