रौतहट,१३ वैशाख : रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती टोलमा सडक तथा नाला निर्माणमा अनियमितता भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।
स्थानीयका अनुसार सडक डिभिजन कार्यालयमा कार्यरत ईन्जिनियर सुरेन्द्र शाहले आफन्तको नाममा निर्माण कम्पनी दर्ता गराई सोही कम्पनीमार्फत उक्त क्षेत्रमा सडक र नाला निर्माणको काम अघि बढाएका छन्। निर्माण कार्य सुरु भएदेखि नै गुणस्तरमा कमी देखिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन्।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले उक्त वडामा सडक र नाला निर्माणका लागि १ करोड ८३ लाख ९९ हजार ३ सय ६६ रुपैयाँ ७८ पैसामा ठेक्का लगाएको थियो ।
श्री गायत्री माँ÷एस.के.एस.ए.जे.भी जनकपुर–१३ धनुषाले ठेक्का सकार गरेर काम सुरु गरेको थियो ।उक्त निर्माण कम्पनीका संचालक जोगेन्द्र साह उनै प्राबिधिक साहका आफ्नै काका हुन् ।
स्थानीय उपेन्द्र यादवले सडक ग्रेडिङ नगरी हतारमा ढुंगा हाल्ने, नालामा कमजोर,कमसल सामग्री प्रयोग गर्ने जस्ता कार्य भएको आरोप लगाएका छन् ।
स्थानीयबासीले गुणस्तरीय निर्माणको माग गर्दै काम रोक्न दबाब दिएका छन्। स्थानीयको विरोधपछि सम्बन्धित प्राविधिक दलबलसहित गाउँ पुगेको र त्यस क्रममा केही समय तनाव समेत उत्पन्न भएको स्थानीयले बताए ।
ठेक्का नम्बर आरडिसिएनपी/३३८०११६९४/०८२/८३–१० को उक्त ठेक्का सम्झौता २०८२–८–८ मा भएर २०८३–३–२० मा सम्पन्न गर्ने सम्झौता गरिको छ । हतारमा गरिएको गुणस्तरहिन कामले राज्यको करोडौं नोक्सान हुने र कमसल विकासले सास्ती खेप्नु परेको अर्का स्थानीय देबेन्द्र यादवले बताए ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सम्बन्धित प्राविधिकले आफू इन्जिनियर भएको उल्लेख गर्दै काममा अवरोध नगर्न चेतावनी दिएको देखिएको स्थानीयको भनाइ छ ।
स्थानीयले सरकारी कर्मचारी आफैं निर्माण कार्यमा संलग्न भई प्रश्न उठाउँदा उल्टै दबाब दिने कार्य अनुचित भएको बताएका छन्। उनीहरूले घटनाको छानबिन गरी गुणस्तरहीन निर्माण कार्य तत्काल रोक्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
यता सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरूको संलग्नताबारे समेत आशंका गरिएको छ । सरकारी निकायसँग सम्बन्धित निर्माण कार्यमा पारदर्शिता र गुणस्तर कायम गर्न आवश्यक रहेको स्थानीय बिगु सहनीले बताए ।

