वीरगन्ज,१३वैशाखः वीरगन्ज महानगरपालिकाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मेनरोड (मुख्य सडक ) विस्तारको पक्षमा अदालतले गरेको फैसला कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई कानूनी कारबाही गर्न स्थानीय प्रशासनसंग माग गरेको छ ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयनका क्रममा सडक विभागले राष्टिय राजमार्गको मापदण्ड बमोजिम वीरगन्जको मेनरोडको दाँयाबायाँ २५ /२५ क्षेत्रभित्रका करिब १ हजार २ सय घर तथा पसलमा गत शनिबारदेखि डोजर लगाएर खाली गराएको थियो ।
त्यसको विरोधमा मेनरोडका जग्गाधानी र व्यपारीहरुले गत शुक्रबारदेखि प्रदर्शन गर्दै सडक विस्तार कार्यमा बाधा खडा गरेको तथा महानगरका मेयर राजेशमान सिंहविरुद्ध प्रतिशोधपूर्ण र आपत्तिजनक अभिव्यक्ति दिदैं आएका छन् ।
त्यहि कारण आइतबार मेयर सिंहका स्वकीय सचिव सत्याराज घिमिरेले एक विज्ञप्ति नै जारी गरेर सर्वोच्चको फैसला कार्यान्वयनका लागि भइरहेको सडक विस्तार कार्यमा बाधा खडा गर्ने र मेयरका विरुद्धप्रतिशोधपूर्ण र आपत्तिजनक अभिव्यक्ति दिनेको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसंग माग गरेका हुन् ।
सडक विस्तार कार्यको विरोधमा शनिबार प्रदर्शनका क्रममा वीरगन्ज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले वीरगन्जको सबै भन्दा ठूलो दुश्मन मेयर राजेशमान सिंह रहेको भाषण गरेका थिए । साथै उनले यसअघिको चिल्डेन पार्कको नाम फेरेर मेयर सिंहले आफ्नै जातका राष्ट्रिय विभुती शंखधर साख्वाको नामबाट नामाकरण गरेर वीरगन्जको पहिचान मेटाउने काम गरेको आरोप पनि लगाएका थिए ।
रौनियारको सार्वजनिक अभिव्यक्ति साम्प्रदायिक भावना भड्काउने र समग्र नेवार समूदायलाई होच्याउने खालको रहेको भन्दै घिमिरेले सम्मानित सर्वोच्च अदालतको अन्तिम फैसला पछि शुरु भएको सडक विस्तार र त्यसको विरोधमा आवेग र असन्तुलित अभिव्यक्तिसहित तथ्यहीन, भ्रामक र सामाजिक सदभावमा प्रतिकुल असर पार्ने गतिविधि प्रदर्शन भएकोमा गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
विशेष गरी कुन्दन रौनियार लगायतका व्यक्तिहरुले संघर्ष समितिको नाममा विगतदेखि नै घृणायुक्त अभिव्यक्ति दिँदै आएकोमा यस पटक सबै हद पार गरि प्रतिशोधपूर्ण अभिव्यक्ति दिनुका साथै सडक डिभिजन प्रमुखलाई खरिद गरि सडक भत्काएको आरोपित गर्दै वीरगन्ज महानगरका मेयर सिंहलाई दुश्मन करार गरि घटनाक्रमलाई विषयान्तर गर्नुका साथै गालिबेइजतीमा उत्रनु अत्यन्तै खेदजनक र निन्दनीय भएको घिमिरेले बताएका छन् ।
वीरगन्ज महानगरको वर्तमान नेतृत्व सुरुबाटै सडक विस्तार हुनुपर्ने पक्षमा स्पष्ट रहेको तर सम्बन्धित सडक विस्तारको अधिकार क्षेत्र संघीय सरकार अन्तर्गत पर्ने भएकाले स्थानीय सरकारको प्रत्यक्ष नियन्त्रणभन्दा बाहिरको विषय रहँदै आएको उनले जनाएका छन् ।
राष्ट्रिय विभुती शंखधर साख्वाको योगदानलाई अवमूल्यन गरि अपमानजनक अभिव्यक्ति दिनु, साम्प्रदायिक भावना भड्काउने किसिमका टिप्पणी गर्नु तथा समग्र नेवार समूदायलाई होच्याउने कार्य गर्नु अत्यन्त दुखद, आपत्तिजनक र अस्वीकार्य रहेको घिमिरेले जनाएका छन् ।
शंखधर साख्वाको शालिक बाहिरबाट ल्याएको नभई वर्षौंदेखि वीरगन्जकै विर्तामा त्रिजुद्ध मावि अगाडी रहेको शालिकलाई नै पार्कको विस्तार तथा सौन्दर्यकरण पछि स्थानान्तरण र नामाकरण गरिएको उनले जनाएका छन् ।
तसर्थ वीरगन्ज महानगरपालिका र मेयरका विरुद्ध प्रतिशोधपूर्ण र साम्प्रदायिक अभिव्यक्ति दिने तथा सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा अवरोध खडा गर्नेहरुको पहिचान गरि आवश्यक कानुनी कारवाही अगाडी बढाउन स्थानीय प्रशासनसंग माग गरिएको घिमिरेले जनाएका छन् ।
साथै सबै पक्षलाई संयमता अपनाउन, सत्यतथ्यमा आधारित अभिव्यक्ति दिन, सामाजिक एकता, आपस सम्मान र कानुनी शासनको संरक्षणमा जिम्मेवार बन्न सम्बन्धित सबैलाई अनुरोधपनि गरिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


