वीरगन्ज, फागुन ३: महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। यस क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा पाकेटमार्ने, धकेलाधकेल गर्ने, अवाञ्छित गतिविधि गर्ने तथा गाँजा सेवन गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले पर्वको अवसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी पशुपति क्षेत्रमा सुरक्षा प्रदान गरिएको जनाएको छ। आइतबार बिहानैदेखि दर्शनार्थीहरूको उल्लेख्य भीड पशुपति क्षेत्रमा देखिएको छ।
प्रहरीले धार्मिक स्थलमा शान्ति र सुरक्षा कायम राख्न थप निगरानी बढाइएको बताउँदै सर्वसाधारणलाई अनुशासन कायम राख्न आग्रह गरेको छ।

