वीरगन्ज,१५भदौं :गृहमन्त्री रमेश लेखकले वीरगन्जमा हैजा र झाडापखालाको संक्रमण फैलिनुुको कारण अहिलेसम्म पत्ता लाग्न नसकेको बताएका छन् ।
हैजा प्रभावित वीरगन्जमा शनिबार बेलुकी आइपुगेका गृहमन्त्री लेखकले शनिबार राति र्नै नारायणी अस्पतालमा पुगेर त्यहाँ उपचारत हैजा र झाडा पखालाका बिरामीहरुलाई भेटेर उनिहरुको अवस्था बुझेका थिए ।
त्यसपछि खानेपानी मन्त्री प्रदीप यादव, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया,मधेस प्रदेशका कृषि मन्त्री जर्नादन सिंह क्षेत्री ,पूर्वगृहमन्त्री कृष्ण सिटौला, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ,जिल्लाका सुरक्षा निकायका प्रमुख, अस्पतालका चिकित्सक लगायतसंग छलफल गरेका थिए ।
उक्त छलफलका क्रममा गृहमन्त्री लेखकले वीरगन्जमा हैजाको संक्रमण फैलिनुको कारण पत्ता लगाउन सरकार लागि पर्ने बताए । उनले भने,‘यसको कारण नै के हो ? भनेर पत्ता लाग्न जरुरी छ । संक्रमण फैलिएको निक्कै दिन भइसक्दा पनि यसको कारण के हो ? अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।अब हामी कारण पत्ता लगाउन पनि ध्यान दिन्छौ । त्यसका लागि सरकार लागी पर्छ ।’
गृहमन्त्री लेखकले वीरगन्ज फैलिएको हैजाको महामारी सरकारले जसरी भएपनि पूर्ण रुपमा नियन्त्रण गर्ने बताए ।अअस्पताल र चिकित्सकहरुले दिएको पछिल्लो जानकारी अनुसार वीरगन्जमा दुई दिन यता संक्रमित हुने नयाँ बिरामीको संख्या कम हुदैं गएको र उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या बढ्दै गएकाले हैजाको महामारी नियन्त्रण उन्मूख रहेको उनले बताए ।
उनले सरकारले उपचारका अभावमा कुनैपनि नागरिकको ज्यान जान नदिने दाबी पनि गरे। वीरगन्जमा हैजा वा झाडापखालाका बिरामीको उपचार तथा महामारी नियन्त्रणका लागि आवश्यक थप औषधि,उपकरण र जनशक्ति सरकारले सरकारले उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।गृहमन्त्री लेखकले भने,‘महामारी नियन्त्रणका लागि आवश्यक परेमा नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनामा रहेका स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय सरकारले गरिसकेको जानकारीपनि उनले गराए ।
उनले भने,‘यदि महामारी नियन्त्रण हुन सकेन , अझ बढ्दै गयो भने तीनवटै सुरक्षा निकायका स्वास्थ्यतर्फका जनशक्ति सरकारले तत्काल खटाउनेछ ।’
छलफलमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरले आफ्नो प्रयोगशालामा गरेको पानी परीक्षणमा हैजा वा झाडापखालाका जीवाणु फेला नपरेको जानकारी गृहमन्त्री लेकखलाई गराए । सिंहले भने,‘ संक्रमण फैलिएका क्षेत्रका खानेपानीको नमूना संकलन गरेर ल्याबमा परीक्षाण गर्दा त्यसमा हैजाको जीवाणु भेटिएन।’

