वीरगन्ज,१३वैशाखःपर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित पारसनाथ महादेव महुवन मठमा पर्ने गुठी संस्थानको अतिक्रमित ५ बिघा जग्गा आइतबार डोजर लगाएर खाली गराइएको छ ।
मधेस प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयको निर्देशन तथा गाँउपालिका कार्यालयको अग्रसरतमा आइतबार बिहानैदेखि ७ वटा डोजर लगाएर अतिक्रमण हटाइएको हो ।
महुवनको पारसनाथ महादेव महुवन मठको कित्ता नम्बर २७६ को करिब ५ बिघा ६ कठ्ठा क्षेफल रहेको पोखरीको डिल लगायत गुठी संस्थानको जग्गामा जबरजस्ती घर,टहरा लगायतका विभिन्न संरचना निर्माण गरेर अतिक्रमण गरिएको थियो।
मधेस प्रदेशका गृहमन्त्री फकिरा महतोको प्रत्यक्ष निर्देशनमा आइतबार बिहानैदेखि ७ वटा डोजर लगाएर अतिक्रमित जग्गा खाली गराउने काम भइरहेको गाँउपालिका अध्यक्ष जसवन्त यादववले जानकारी दिए ।
७ वटा डोजरको मदतले मठको जग्गा अतिक्रमण गरेर बनाइएको ३८० वटा घरटहरा भत्काएर हटाइएको यादवले बताए ।
यसअघि २०८१ माघ ४ गाँउपालिका अध्यक्ष यशवन्त यादवले सूचना जारी गर्दै उक्त अतिक्रमण ३ दिनभित्र हटाएर जग्गा खाली गर्न अनुरोध गरेका थिए । ३ दिनभित्र अतिक्रमण नहटाइए नेपालको प्रचलित कानुन बमोजिम गाँउपालिका अगाडि बढ्ने चेतावनीसमेत यादवले दिएका छन्।
त्यसपछि गुठी संस्थान वीरगन्जले पनि २०८१ पुस २९ गते सुचना जारी गरे ३ दिनभित्र अतिक्रमण हटाउन आग्रह गरेको थियो। तर ती दुवै पटकको पहलमा पनि अतिक्रमण हटाउन सकिएको थिएन ।
तर अहिले मधेसका गृहमन्त्री महतोको निर्देशनमा सुरक्षाकर्मीको सहयोग लिएर आइतबार बिहानैदेखि अतिक्रमण हटाउन थालिएको गाँउपालिका अध्यक्ष यादवले बताए । यस्तै मधुवनमा रहेको गुठीकै २९ विघा अतिक्रमित जग्गा पनि खाली गराउने काम भइरहेको अध्यक्ष यादवले जानकारी दिए ।

