Madhes Khabar
राजनीति

रास्वपाको कार्यक्रममा पहिलो पटक सहभागी हुन बालेन शाह माघ ५ गते जनकपुर जाने

काठमाडौं,२९पुस:वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएलगत्तै मधेस जाने कार्यक्रम तय भएको छ।

बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने छन्। त्यसको भोलिपल्ट माघ ५ गते रास्वपा सभापति रवि लामिछाने र बालेन जनकपुर जाने कार्यक्रम तय भएको रास्वपाका मधेस प्रदेश सभापति तपेश्वर यादवले जानकारी दिए।

उनका अनुसार त्यस दिन पार्टी प्रदेश कमिटीले जनकपुरमा विस्तारित भेला राखेको छ। भेलामा मधेस प्रदेश समितिका पदाधिकारी, सदस्य, आठवटै जिल्ला समितिका सभापतिहरूलाई बोलाइएको छ।

‘हामीले प्रदेशका पदाधिकारी, जिल्ला समितिका सभापति लगायतलाई बोलाएका छौं। त्यो भेलामा मधेस प्रदेशमा पार्टीको अवस्था, आठ जिल्लाका ३२ वटै निर्वाचन क्षेत्रमा पार्टीको स्थिति आदिबारे छलफल गर्ने कार्यसूची तय गरेका छौं,’ यादवले मंगलबार भने, ‘हामीले त्यस दिन ठूलो कार्यक्रम तय गरेका छैनौं। भर्खरै पार्टीमा आउनुभएका बालेन शाहको योजनाबारे सुन्नेछौं। पार्टी सभापति रवि लामिछानेको निर्देशन सुन्नेछौं।’

रास्वपा प्रवक्ता मनिष झाले पनि बालेन शाह जनकपुर जाने गरी कार्यक्रमको तयारी भइरहेको बताएका छन्।

रास्वपा मधेस सभापति यादवले त्यस दिन बालेन महोत्तरीको एकडारा गाउँपालिकास्थित आफ्नो पुर्ख्यौली घर (महोत्तरीको निर्वाचन क्षेत्र ३) समेत जाने कार्यक्रम रहेको जानकारी दिए।

बालेन शाहको पुर्ख्यौली घरमा अहिले उनका आफन्त, परिवारका सदस्यहरूको बसोबास छैन। पुर्ख्यौली घर एकडारा गाउँपालिकाले भाडामा लिएर प्रशासकीय भवनका रूपमा उपयोग गरिरहेको छ।

बालेन पुर्ख्यौली क्षेत्र गए भने स्थानीय नेता–कार्यकर्तासँग छलफल गर्ने गरी सानो कार्यक्रमको तयारी भइरहेको उनले बताए।

‘मधेस आएका बेला उहाँले सबै बस्तुस्थिति बुझ्ने तयारी गर्नुभएको छ। उहाँले कहाँबाट चुनाव उठ्ने भनेर बताइसक्नुभएको छैन। तर हामीलाई त मधेसबाटै उम्मेदवार बन्नुभए हुन्थ्यो भन्ने लागेको छ। यसै पनि पार्टीको मताधार राम्रो बनेको छ। उहाँ आए झन् मजबुत हुनेछ,’ उनले भने।

यसबाहेक जनकपुरमै सभाको तयारी गरिरहेको पनि यादवले बताए।

सबैलाई छुट्टाछुट्टै भेट्न असम्भवप्रायः हुने भएकाले बालेनसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी कार्यक्रमको रूपरेखा तयार पार्न लागिएको उनले जानकारी दिए।

बालेन शाहले झापा–५ बाट उम्मेदवार बन्ने तयारी गरेको आफूलाई भेट्न जानेहरूलाई बताउने गरेका छन्।साभार:सेताेपाटी

Related posts

कांग्रेसको सदस्यता लिइसकेपछि रुख चुनाव चिह्न बाहेक अन्त भाेट हाल्न पाइँदैन : गगन थापा

MadhesKhabar

मुख्यमन्त्री यादवले भने : गगनलाई प्रधानमन्त्री बनाउन पर्सा–२ बाट अजय चौरसियालाई जिताउनुपर्छ

MadhesKhabar

पर्सा–४ मा उम्मेदवार रिजालको समर्थनमा नेपाली काङ्ग्रेसका युवाहरुको बैठक सम्पन्न

MadhesKhabar

Leave a Comment