वीरगन्ज,११फागुनःपर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियाको चुनावी अभियानमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवपनि सहभागी भएका छन् ।
सोमबार जनकपुरबाट वीरगन्ज आइपुगेका मुख्यमन्त्री यादवले पर्सा क्षेत्र नम्बर २ मा पर्ने बुहवरी, पिडरी,चैनपुर, टिकुलीया,एकटांगा लगायतका गाँउमा उम्मेखवार चौरसियासंगै घुमेर घरदैलो गरेका हुन् ।
घरदैलोपछि आयोजित कार्यकर्ता भेलामा बोल्दै मुख्यमन्त्री यादवले कांग्रेस सभापति गगन थापालाई प्रधानमन्त्री बनाउन पर्सा–२ बाट पनि कांग्रेसले जित्नु अपरिहार्य रहेको बताए ।मधेसलाई बुझ्न र मधेसको आवाज काठमाडौंसम्म पर्याउनकै लागि सभापति थापा आँफू काठमाडौ छाडेर मधेसको सर्लाही–४ बाट चुनाव लडिरहेको उनले बताए ।
यादवले भने,‘शासनसत्तामा मधेसको नेतृत्वदायी नेता नहुदाँ बजेट वितरणमा मधेससंग विभेद हुदैं आएको छ । यदि मधेसबाटै जितेर गगन थापा प्रधानमन्त्री बन्नु भयो भने शासनसत्ताको बागडोर उहाँकै हातमा रहन्छ । त्यस्तो अवस्थामा मधेसले बजेट,योजना लगायतका लागि हात पसार्नु पर्दैन । अब गगन थापालाई प्रधानमन्त्री बनाउनु छ भने पर्सा–२ बाट पनि कांग्रेस जित्नु पर्छ ।अजय चौरसियालाई यहाँँका जनताले जिताउनुपर्छ ।’
फरक प्रसंगमा मुख्यमन्त्री यादवले मधेस प्रदेशलाई कृषिमा देशकै नमूना र सृमद्ध प्रदेश बनाउने योजनामा आँफु लागि रहेको सुनाए । त्यसका लागि विदेशी दातासंग् ५० अर्ब भन्दा बढीको योजना ल्याउने पहल गरिरहेको उनले सुनाए ।
उक्त कार्यक्रममा पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसिया, पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव, कांग्रेस नेता बसरुदिन अन्सारी लगायतकाकोपनि सहभागिता थियो ।

