काठमाडौं,१ वैशाख : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सदस्यता लिइसकेपछि पार्टीको चुनाव चिह्न बाहेक अन्त मतदान गर्न नपाइने स्पष्ट पारेका छन्।
मंगलबार एक महिने जरामा जाऊँ अभियान’को शुभारम्भ गर्दै उनले पार्टीको क्रियाशील सदस्य बनेपछि चुनाव चिह्नको पक्षमा मात्र मत दिनुपर्ने बताएका हुन्। पार्टीको विधानभन्दा बाहिर गएर पार्टीको अनुशासनभन्दा बाहिर गएर गर्ने कुरालाई संस्थाले स्वीकार गर्न नसक्ने उनले बताए। सभापति थापाले पार्टीभित्र अनावश्यक विवाद ननिकाल्न आग्रह गर्दै सबैलाई मिलाएर लैजाने प्रतिबद्धता समेत जनाए।
संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले बताए। उनले पार्टीको सदस्यता लिइसकेपछि पार्टीको चुनाव चिन्ह बाहेक अन्त मतदान गर्न नपाइने स्पष्ट पारे। उनले कार्यसम्पादन समितिको बैठकबाट भ्रातृ संस्था लगायतका विषयमा महत्वपूर्ण निर्णय लिइने भन्दै पार्टी सम्पूर्ण रूपमा महाधिवेशनमा होमिएको उल्लेख गरे।
अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न कांग्रेसले आग्रह गरेको छ। पार्टीको सदस्यता अद्यावधिक गर्न आफ्नो वडामा आफै जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।
विगतमा अरूले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेसले जनाएको छ।

