वीरगन्ज,०८ भदौं :हैजाको महामारी फैलिएको वीरगन्जका प्रभावित ११ ठाउँको खानेपानीको नमूना संकलन गरि परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
हैजाका बिरामीहरु भेटिएका टोलमा पुगेर संकलन गरिएको खानेपानीको नमूना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा शनिबार पठाइएको हो ।
शनिबार स्वास्थ्य कार्यालय पर्सा,वीरगन्ज महानगरपालिका र खोपानी संस्थान वीरगन्जका प्राविधिकसहितको टोलीले हैजाका बिरामी भेटिएका टोलमा पुगेर त्यहाँको खानेपानीको श्रोतबाट पानीको नमूना संकलन गरेर परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
काठमाडौंमा परीक्षणका लागि पठाइएको पानीको रिपोर्ट प्रयोगशालाबाट आज (आइतबार) आउने सम्भावना रहेकोपनि उनले बताए ।
नाला र ढलको प्रदुषित पानीबाट भिब्रियो कोलरीन जीवाणु खानेपानीको श्रोतमार्फत मानिसको शरिरमा पुगेर हैजा फैलिएको आशंका गरिएको छ । वीरगन्जमा चापाकलहरु सुकेर खानेपानीको संकट भएपछि ठाँउ ठाँउमा डीप बोरिङ गाडेर त्यसबाट तथा खानेपानी संस्थानको धाराबाट खानेपानीको आपुर्ति हुदैं आएको छ ।
त्यसैका कारण हैजाको महामारी फैलनुको यकिन कारण पत्ता लगाउन हैजाका प्रभावित क्षेत्रका खानेपानीको नमूना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको ठाकुरले बताए ।
यस्तै खानेपानी मन्त्रालयको खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले पनि आइतबारदेखि महामारी प्रभावित विभिन्न वडामा पुगेर खोपानीको नमूना संकलन गरेर परीक्षण तथा पानी शुद्धिकरणको काम सुरु गरेको छ ।
ठाकुरका अनुसार, वीरगन्जका विभिन्न अस्पतालहरुमा गरी शनिबार मध्यरातसम्म हैजा पुष्टि भएका ४२ जना बिरामी उपचाररत छन् । त्यस्तै झाडापखाला र हैजाका शंकास्पद बिरामी गरी १२९ जनापनि उपचा।।त रहेको ठाकुरले जानकारी दिए ।

