Madhes Khabar
स्थानिय

शंखधर साख्वा बारेको अभिव्यक्तिप्रति वीरगन्जका नेवार समुदायको आपत्ति

वीरगन्ज,१४वैशाख: वीरगन्जकाे मेनराेड विस्तारबारे वीरगन्ज बचाउ संघर्ष समितिद्वारा आयोजित विरोध कार्यक्रममा राष्ट्रिय विभूति शैखधर साख्वा सम्बन्धी गरिएको अभिव्यक्तिप्रति नेवार समुदायले गम्भीर आपत्ति जनाएको छ।

 

नेवा देय दबु जिल्ला समिति पर्सा, नेवा देय दबु वीरगन्ज महानगर समिति, नेवा पुच वीरगन्ज, भिन्तुना गुठी भिश्वा तथा खड्गी समाज वीरगन्जले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिको विरोध गरेका हुन्।

 

संघर्ष समितिका कुन्दन रौनियारले शंखधर साख्वाबारे अपमानजनक अभिव्यक्ति दिएको तथा नेवार समुदायप्रति होच्याउने टिप्पणी गरेको आरोप उनीहरूले लगाएका छन्। विज्ञप्तिमा शंखधर साख्वा नेपाल संवतका प्रवर्तक तथा सामाजिक न्यायका अग्रदूतका रूपमा परिचित ऐतिहासिक व्यक्तित्व भएकाले उहाँमाथिको यस्तो टिप्पणीले समग्र समाजको भावनामा आघात पुगेको उल्लेख गरिएको छ।सोमबार जारी विज्ञप्तिमा रौनियारको अभिव्यक्तिलाई गैरजिम्मेवार, आपत्तिजनक तथा सामाजिक सद्भावमा नकारात्मक असर पार्ने खालको भन्दै कडा निन्दा गरिएको छ। साथै, सडक विस्तारजस्ता विकाससम्बन्धी विषयलाई तोडमोड गरी जातीय विद्वेष फैलाउने प्रयास गरिएको आरोप पनि लगाइएको छ।
हरिखेतान क्याम्पस अगाडिको क्षेत्र व्यवस्थापन तथा शङ्खधर साख्वा पार्कको सौन्दर्यीकरणजस्ता विषयलाई नामकरण विवादमा मोडेर भ्रम सिर्जना गरिएको दाबी विज्ञप्तिमा गरिएको छ।

 

विज्ञप्तिमा शंखधर साख्वाको ऐतिहासिक योगदानको स्मरण गर्दै उनको सम्मान कायम राख्न र यस्ता भ्रामक तथा विभाजनकारी अभिव्यक्तिहरू तत्काल रोक्न आग्रह गरिएको छ। साथै, सबै सरोकारवालालाई सचेत रहन अपिल गरिएको छ।

Related posts

बारामा उत्खनन रोकिएका ३ स्थानीय तहका खोला अझै खुलेनन्

MadhesKhabar

वीरगन्ज महानगरलाई सरसफाई सम्झौता लागू गर्ने बाटो खुल्यो, अदालतले दिएन ‘स्टे अर्डर’

MadhesKhabar

यदि मैले भ्रष्टचार गरेको छु भने अख्तियार आएर छानबिन गरोस् : मेयर सिंह

MadhesKhabar

Leave a Comment