वीरगन्ज, १४ वैशाख : वीरगन्जको मेन रोड (मुख्य सडक) का रूपमा रहेको त्रिभुवन राजपथको मापदण्डअनुसार सडकको केन्द्रविन्दु निर्धारण गर्ने कार्य भोलि (मंगलबार)देखि सुरु हुने भएको छ।
सोमबार वीरगञ्ज महानगरपालिकामा बसेको सरोकारवालाहरूको संयुक्त बैठकले सडक विस्तार कार्यलाई अघि बढाउन भोलिदेखि केन्द्रविन्दु निर्धारण गरी उक्त स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो।
महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा तथा नापी कार्यालय पर्साका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
हालसम्म सडक विस्तारका क्रममा सडकछेउका केही संरचनाहरू हटाइए पनि सडकको वास्तविक केन्द्रभाग स्पष्ट नभएकाले स्थानीय बासिन्दाहरूमा अन्योलता देखिएको थियो। विशेषगरी “कहाँसम्म संरचना हटाउनुपर्ने हो” भन्ने विषयमा स्थानीयले निरन्तर जानकारी माग्दै आएका थिए।
अब भने उक्त समस्या समाधान गर्न त्रिभुवन राजपथको आधिकारिक नक्साअनुसार सडकको केन्द्रविन्दु पहिचान गरिनेछ। केन्द्रविन्दु निर्धारण भएपछि दायाँ–बायाँ बराबर दूरी कायम गरी सडकको चौडाइ सुनिश्चित गर्न सहज हुने विश्वास गरिएको छ। यसले सडक विस्तार कार्यलाई थप पारदर्शी र विवादरहित बनाउने अपेक्षा गरिएको छ।
नापजाँचका लागि आवश्यक प्राविधिक तथा भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाले उपलब्ध गराउनेछ भने नक्सा तथा मापनसम्बन्धी कार्य नापी कार्यालय पर्साले गर्नेछ।
सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर भोला प्रसाद साहका अनुसार भोलि (मंगलबार) बिहानदेखि नै नापजाँचको कार्य औपचारिक रूपमा सुरु हुनेछ। साथै, नापजाँचका लागि सडक डिभिजन कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरगञ्ज महानगरपालिकाको संयुक्त कार्यदल गठन गरिएको उनले जानकारी दिए।
उक्त कार्यदलले नापजाँचदेखि कार्यान्वयनसम्मका सबै चरणहरूमा सहकार्य गर्नेछ। यसअघि सडक फराकिलो बनाउने क्रममा सडक डिभिजन कार्यालयले गत आइतबार गण्डकदेखि भन्सारसम्म पर्ने घर–टहरामा डोजर प्रयोग गरेको थियो।

