Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको बाल सुधार गृह रातभर तनावग्रस्त : ११ बालक र ३ प्रहरी घाइते (अपडेट)

वीरगन्ज,२७भदौं  : वीरगन्जको वीर्तास्थित बाल सुधार गृहमा रहेका बालकहरुबिच झडप हुदाँ ११ जना घाइते भएका छन् । उनिहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरीपनि घाइते भएका छन् ।

वीरगन्जको बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहा पहिलेदेखि बस्दै आएका बालकहरुबिच मंगलबार राति विवाद भई झडप हुदाँ सुधारगृह रातभर तनावग्रस्त रह्यो ।

झडपमा भक्तपुरबाट ल्याइएका मध्ये १० समेत गरी ११ जना बालक र तीन जना प्रहरी घाइते भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । घाइते भएका सुधार गृहका ११ जना बालकलाई मंगलबार राति नारायणी अस्पतालमा उपचार गराई जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको उनले बताए ।

प्रहरी उपरीक्षक शाहका अनुसार , भक्तपुरको बाल सुधार गृहमा भदौं ४मा उत्पात मच्चाएकामध्ये १८ जना बालकहरुलाई वीरगन्जको बालसुधार गृहमा ल्याएर राखिएको थियो । यहाँ पहिलेदेखि १३१ जना बालक थिए । सुधार गृहमा अहिले कूल १४९ जना बालकहरु रहेको गृह प्रमुख टिका काफलेले जानकारी दिए ।

भक्तपुरबाट ल्याएर राखिएका बालकहरुले मंगलबार बेलुकी सुधार गृहका नाइकेसंग विवाद गरेर कुटपिट गरेपछि त्यहि विषयमा यहाँपहिले देखि रहेका र भक्तपुरबाट ल्याएर राखिएका बालकहरुबिच विवाद भइ झडप भएको हो । त्यसक्रममा उनिहरुले सुधार गृहभित्र तोडफोड गरेपछि स्थिती नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा सुधार गृहमा पुगेको थियो । तर सुधार गृह भित्रबाट बालकहरुले ढुङ्गामुढा गरेर प्रहरीलाई अबेररातिसम्मपनि सुधार गृह भित्र छिर्न दिएनन् । त्यसैक्रममा ढुङगाले लागेर तीन जना प्रहरीपनि घाइते भएको प्रहरी उपरीक्षक शाहले बताए । स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरीले केहि राउण्ड अश्रु ग्याँसपनि प्रहार गरेको थियो ।

बुधबार बिहान सम्मपनि प्रहरीलाई सुधार गृहभित्र भित्ररहेका बालकहरुले प्रवेश गर्न नदिएको त्यहाँ खटिएका पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए । उनले भने,‘ मंगलबार रातिको भन्दा अहिले स्थिती केहि सामान्य छ , तर भित्र उनिहरुले अहिलेपनि होहल्ला गरि नै रहेका छन् ।

बाल सुधार गृहका प्रमुख टिका काफलेका अनुसार, एक महिना पहिले भक्तपुरको बाल सुधार गृहमा उत्पात मच्चाएकामध्ये १८ जना बालकलाई वीरगन्जको बाल सुधार गृहमा ल्याएर राखिएको थियो । तर उनिहरुले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए। त्यहि विषयलाई लिएर उनिहरुले मंगलबार बेलुकी सुधार गृहका नाइकेसंग विवाद गरी कुटपिट गरेपछि सुधार गृह तनावग्रस्त बनेको प्रहरी उपरीक्षक शाहले बताए ।

सुधार गृहमा मंगलबार रातिदेखि प्रदर्शन गरिरहेका बालकहरुले भने सुधारगृहमा आफुहरुलाई खाना राम्रो नदिएको , घरमा फोन गर्दा एक कलको १ सय रुपैयाँ लिने गरिएको , एउटै कोठामा धेरै जनालाइ कोचेर राखिएको , शौचालयपनि राम्रो नभएको , सुधार गृह प्रमुखले यातना दिदै आएको जस्ता आरोपपनि लगाएका छन् ।

प्रहरी उपरीक्षक शाहले सुधार गृहभित्रको स्थिती सामान्य बनाउन प्रयास गरिरहेको र बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारीसहित आफुहरु पुगेर त्यहा प्रदर्शनमा रहेका बालकहरुसंग संवाद गरेर समस्या समाधानको पहल गरिने बताए ।

Related posts

नारायणी अस्पतालका डाक्टरलाई हातपात गर्नेलाइ हदैसम्मको कारबाही गर्न चिकित्सक संघको माग

MadhesKhabar

पर्सामा मिटरब्याज सम्बन्धी ६६७ उजुरी मेलमिलापबाट सुल्झाइयो

MadhesKhabar

अव्यवस्थित तार हटाउँदै वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment