वीरगन्ज,२९साउनःपर्साको पोखरियामा बिहीबार भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्साको आयोजनामा भूमि सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी तथा आयोगका अध्यक्ष तबरेज अहमदले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले जग्गा प्राप्त गर्ने प्रक्रियाबारे जनप्रतिनिधिहरूलाई विस्तृत रुपमा जानकारी गराए । साथै उनले आयोगको कार्यप्रक्रिया र आवश्यक कागजातबारे समेत स्पष्ट पारे ।
मेयर चौहानले तीन वर्षअघि सम्झौता भएपनि काम अघि बढ्न नसकेकोमा दुःख व्यक्त गर्दै अब यसलाई तदारुकताका साथ अघि बढाउने प्रतिबद्धता जनाए।
उक्त कार्यक्रममा उपमेयर रुबी ठाकुर, आयोगका विज्ञ सदस्य सन्तोष पासवान, सदस्य शिवनारायण राम, वडा अध्यक्षहरू, वडा कार्याललयका सचिवहरू, पोखरिया नापी कार्यालयका प्रमुख बब्लु पाण्डे लगायतको सहभागिता थियो।

