वीरगन्ज, ९असारःवीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
सोमबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनमा महानगरका उपमेयर इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।
वीरगन्ज महानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा झण्डै ३३ करोड बढी बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि वीरगन्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख १७ हजार रुपैयाँको थियोे ।
सोमबारको नगरसभामा उपमेयर आलमले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार अर्थात कूल बजेटको ७०.२४ प्रतिशत,पूँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात कूल बजेटको २८.६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख अर्थात १.१२ प्रतिशत रहेको उल्लेख छ ।
आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने श्रोतहरुमा आन्तरिक राजश्वबाट एक अर्ब १५ करोड,संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख , संघीय राजश्व बाँडफाँटबाट २३ करोड ७८ लाख,प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८८ हजार,प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार ,घरजग्गा रजिष्ट्रेशन शुल्क बापत २५ करोड र नगद मौज्दाबाट १५ करोड व्यहोरिने उपमेयर आलमले बताए ।
नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर आलमले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामा शिक्षा,स्वास्थ्य,कृषि, पर्यटन,सरसफाई,वातावरण संरक्षण,गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेकोपनि बताए ।
त्यसअघि नगरसभामा महहानगरका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । मेयर सिंहको अध्यक्षतामा भएको नगसभामा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी,सञ्चारकर्मी लगायतकाकोपनि सहभागिता थियो ।

