वीरगन्ज,२४वैशाख : त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मूख्य सडक (मेनरोड) विस्तारको काम रोक्न माग गर्दै मेनोड क्षेत्रका घरजग्गाधनी र व्यपारीहरुले बिहीबार मानव सांग्लो बनाएर विरोध प्रदर्शन गरेका छन् ।
वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा तथा व्यपारी सडक पिडित संघर्ष समितिको अगुवाइमा घरजग्गाधनी र व्यपारीहरुले आदर्शनगर चोकदेखि घण्टाघर चोकसम्मको मेनरोड मै मानव सांग्लो बनाएर प्रदर्शन गरेका हुन् ।
सडक विभागले वीरगन्ज महानगरपालिकाको सहयोगमा यहि वैशाख ६ र ७ गते त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको गण्डकदेखि मितेरी पुलसम्मको मेनरोडको दायाँ–बायाँ २५/२५ मिटर सडक क्षेत्रभित्रका संरचनाहरु डोजर लगाएर भत्काएको थियो । त्यसपछि सडक विभागले सडकको केन्द्र विन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर नापेर चिन्हो पनि लगाइसकेको छ । चिन्हो लगाइएको सडक क्षेत्रभित्रका बाँकी संरचनाहरु घरधनी आँफैले खाली गर्न अनुरोध गर्दै नगरे सडक विभागले फेरी डोजर लगाएर खाली गर्ने सूचना पनि सडक विभागले जारी गरिसकेको छ ।
तर त्यसको विरोधमा निरन्तर आन्दोलन गर्दै मेनरोड क्षेत्रका घरजग्गाधनी र व्यपारीहरुले बिहीबार मेनरोड क्षेत्रमै मानव सांग्लो बनाएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले वीरगन्जमा डोजर आतंक बन्द गर, सुकुम्बासी बनाउन पाइदैन , अत्याचार बन्द गर, वीरगन्जको मेनरोडलाई शहरी मार्ग कायम गर, बालेन सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए ।
वीरगन्जमा सरकारले मच्चाएको डोजर आतंकको विरोधमा प्रदर्शन गरिएको वीरगन्ज बचाउ संघर्ष समितिका संयोजक जवाहर साह कानुले बताए । विकासको नाममा सरकारले वीरगन्जमा डोजर चलाएर विनाश गरिरहेको भन्दै उनले भने, वीरगन्जमा दुई दुई वटा बाइपस सडक बिनसकेको छ । ६ लेनको व्यपारिक मार्ग पनि निर्माण भइसकेको छ , त्यसका कारण मेनरोडलाई २५/२५ मिटर चौंडा गर्न आवश्यकता नै छैन । सुतेको बालेन सरकार जागोस्, हामीलाई न्याउय देओस् भनेर आज मानव सांग्लो बनाएर सडकमा उत्रिएका हौं ।
वीरगन्जको मेनरोडलाई शहरी मार्ग घोषणा गरेर त्यस्कै मापदण्ड अनुसार विस्तार गर्नु पर्ने माग आँफुहरुको रहेकोपनि उनले बताए । सरकारले आँफुहरुको माग सम्बोधन नगरेसम्म आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनीसमेत उनले दिए ।
यसअघि वैशाख ११ गतेपनि मेनरोड क्षेत्रका घरजग्गाधनी र व्यपारीहरुले सडक विस्तारको विरोधमा वीरगन्जको सडकमा उत्रिएर प्रदर्शन गरेका थिए । त्यसदिन उनिहरुले सडक विस्तार कार्य रोक्न माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री बालेन शाहलाई ज्ञापनपत्रपनि पठाएका थिए । त्यसपछि गत साता उनिहरु काठमाडौंमै पुगेर माइतीघर मण्डलामा पनि नाराबाजीसहितको प्रदर्शन गरेका थिए ।
सडक डिभिजन कार्यालय हेटौंडाले वीरगन्ज महानगरपालिकासंगको समन्वयमा गत वैशाख ६ र ७ गते राष्ट्रिय राजमार्गको मापदण्ड अनुरूप दायाँ–बायाँ २५/२५ मिटर विस्तारका लागि करिब ८ किलोमिटर मेनरोड क्षेत्रका झण्डै १ हजार २ सय वटा पक्की संरचना (घर, भवन, पसल र टहरा)हरुमा डोजर चलाएर भत्काएको थियो ।

