वीरगन्ज,२०जेठःवीरगन्जको नारायणी अस्पतालको आइसियु र सिसिसियु वार्डमा ३ घण्टासम्म विद्युत आपुर्ति सेवा अवरुद्ध भई बिरामीहरुको उपचार प्रभावित भएको घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माग गरेका छन् ।मंगलबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन्।
नारायणी अस्पतालको आइसियु र सिसिसियु वार्डमा गत शुक्रबार राति विद्युत सर्किट सर्ट भएर करिब ३ घण्टासम्म विद्युत सेवा अवरुद्ध हुदाँ त्यहाँ उपचाररत रहेका १७ जना बिरामीहरुको ज्यान जोखिममा परेको थियो ।
अस्पतालका कर्मचारीहरुको लापरवाहीकै कारण उक्त घटना भएको भन्दै वीरगन्ज महानगरका मेयर सिंहले मंगलबार मन्त्रालयमै पुगेर मन्त्री पौडेललाई ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।त्यसअवसरमा संघीय सरकारका खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवकोपनि उपस्थिती थियो ।
मेयर सिंहले मन्त्री पौडेललाई बुझाएको ज्ञापनपत्रमा उक्त घटनाको तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरेर त्यसमा दोषी अस्पतालका जिम्मेवार अधिकारी तथा प्रशासनिक र प्राविधिक कर्मचारीलाई तत्काल निलम्बन गरेर कारबाही प्रकृया अगाडि बढाउन माग गरिएको छ । साथै आइसियु र सिसियु वार्डमा पूर्व तयारी गर्न नसक्ने अस्पताल विकास समितिलाई बर्खास्त गर्नपनि मेयर सिंहले माग गरेका छन् ।
सार्वजनिक स्वास्थ्य सेवामा न्युनतम मापदण्ड सुनिश्चित गर्न सम्पूर्ण सरकारी अस्पतालहरुमा आकस्मिक परिस्थितीको सामना गर्नसक्क्ने (विद्युतको ब्याकअप,जेनेरेटरको नियमित परीक्षण,स्टाफको तालिम इत्यदि) अनिवार्य गर्न ,शुक्रबारको घटटनाबाट प्रभावित बिरामीहरुको अवस्था तथा उपचार विवरण सार्वजनिक गर्न,पिडित बिरामी र परिवारसंग अस्पतालका जिम्मेवार अधिकारी र कर्मचारीले सार्वजनिक रुपमा माफी मागी आवश्यक क्षतिपुर्ति तथा पुनस्थपना प्रकृया सुरु गर्नपनि मन्त्री पौडेलसंग मेयर सिंहले माग गरेका छन् ।
मधेसका चार जिल्लाका बिरामीहरुले उपचार गराउँदै आएको वीरगन्जको नारायणी अस्पतालमा भौतिक पूर्वाधारको कमी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको लापरवाहीका कारणले आकस्मिक कक्षददेखि शल्यकृयासम्मका सेवा प्रभावकारी ढंगले सञ्चालन हुन सकेको छैन । जसका कारण बिरामीहरु निजी अस्पतालमा धाउन बाध्य हुदैं आएको मेयर सिंहले बताएका छन् ।
चरम बेवास्ताको शिकार बनेको नारायणी अस्पतालको पुनःस्थापना र सुधारका लागि सशक्त नीतिगत पहलको आवश्यकता रहेको भन्दै मेयर सिंहले जनताको स्वास्थ्यप्रतिको उत्तरदायित्व बोध गर्दै आँफुले राखेका मागहरुका बारेमा तत्काल निर्णायक र गम्भीर कदम चाल्न मेयर सिंहले मन्त्री पौडेलसंग माग गरेका छन् ।
यसअघि गत शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशेष उपस्थितीमा बसेको अस्पताल विकास समिति, अस्पताल प्रशासनसहितको बैठकले अस्पतालका इलेक्ट्रीसियन इन्चार्ज सन्जिव गुप्तालाई निलम्बन गर्ने निर्णय गरेको थियो ।