Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्जमा रोकिएन हुन्डी कारोबार

फाइल फोटो

मधेसखबर
वीरगन्ज,०४माघ : एक साताअघि स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई वीरगन्जबाट पक्राउ ग¥यो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१७ का १९ वर्षीय राजन साह छन् । साहले लगाएको हेलमेट र ज्याकेटभित्र १२ लाख २० हजार रुपैयाँ बरामद भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दीपक गिरीका अनुसार चालु आर्थिक वर्षमा हालसम्म प्रहरीले ५ जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ, जसमध्ये एक भारतीय नागरिक छन्  । पक्राउ परेकाबाट ७३ लाख ४८ हजार रुपैयाँ बरामद भएको छ । यस्तो रकम हुन्डीको भएको प्रहरीको दाबी छ । गत आर्थिक वर्षमा प्रहरीले २२ जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो । तीमध्ये १० नेपाली र १२ भारतीय नागरिक थिए । उनीहरूको साथबाट १ करोड ६५ लाख रुपैयाँ बरामद भएको थियो ।

नियमितजस्तो कारोबारी पक्राउ पर्दा पनि हुन्डी कारोबार भने घटेको छैन । यसरी पक्राउ पर्ने अधिकांश भरिया हुने गरेका छन् । कारोबारीहरूले भारत पुगेको नेपाली रुपैयाँलाई विभिन्न माध्यमबाट नेपाल ल्याउने गरेका छन् । खुल्ला सिमाना र नेपाली उपभोक्ता भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्ति रहुन्जेल हुन्डी कारोबार नघट्ने डीएसपी गिरी बताउँछन् । नेपालीहरू किनमेल गर्न सीमावर्ती भारतीय बजार पुग्दा त्यहाँ नेपाली रुपैयाँमा विनिमय गरेपछि दैनिक ठूलो परिमाणमा नेपाली मुद्रा त्यहाँ जम्मा हुने गरेको छ । यसरी भारत पुगेको नेपाली रुपैयाँ उनीहरूलाई उपयोगी नहुने भएकाले त्यस्तो रकम पुनः नेपाललै फर्काउने गरेको उनले बताए । एक लाख रुपैयाभन्दा बढी नगदको बैंकिङ कारोबार गर्दासमेत बैंक तथा वित्तीय संस्थाले कडाइ गर्दा स्रोत नखुलेको ठूलो रकम बोकेर हिँड्दा बरामद हुने गरेको छ ।

नेपाली मुद्राको मनपरी विनिमय हुँदा वीरगन्जको सीमावर्ती बजार रक्सौलमा भारतीयभन्दा नेपाली मुद्रा बलियो छ । पुसमा रक्सौलमा व्यापारीले नेपाली मुद्रामा लगाउने गरेको ‘बट्टा’ पनि शून्यमा झारेका थिए । यसअघि उनीहरूले नेपाली रुपैयाँको सयकडा ५÷६ रुपैयाँसम्म पनि अवमूल्यन गर्ने गरेकोमा हाल भने नेपाल र भारत सरकारले तोकेको विनिमय दरभन्दा बढी मूल्य नेपाली रुपैयाँ पाएका छन् । भारतीयले हाल नेपाली ५८ रुपैयाँलाई ६० रुपैयाँ कायम गरेका छन् । पुसमा बिहेबारी नहुने र अन्य महिनाको तुलनामा नेपाली उपभोक्ता भारतीय बजारमा कम जाने भएकाले पनि रक्सौलका व्यापारीले नेपाली मुद्रामा लिँदै आएको ‘बट्टा’ शून्यमा झारिएको र माघ लागेपछि फेरि नेपाली मुद्राको अवमूल्यन हुने अनुमान गरिएको थियो ।

हुन्डी कारोबारले नै दुई सातायता वीरगन्जमा भारतीय रुपैयाँको माग पनि घटेको छ । वीरगन्जस्थित नेपाल राष्ट्र बैंक शाखामा दुई सातायता दैनिक करिब १ लाख रुपैयाँ भारु मात्र सटही भइरहेको छ । त्यसअघि दैनिक ४ देखि ५ लाख रुपैयाँसम्म भारु सटही हुने गरेको शाखाका व्यवस्थापक राजनदेव भट्टराई बताउँछन् । ‘अचानक कसरी भारुको माग घट्यो भनी हामी पनि आश्चर्यमा छौं,’ उनले भने, ‘यसअघि दैनिक ४ देखि ५ लाख भारु सटही हुने गरेकोमा हालका दिनमा दैनिक करिब १ लाख रुपैयाँ भारु मात्र सटही भइरहेको छ ।’

जुनसुकै माध्यमबाट भारत पुग्ने नेपाली मुद्रा बैंकिङ च्यानलबाट नेपाल पठाउने कुनै पनि सुविधा नरहेको पनि उनले बताए । ‘नेपालमा राष्ट्र बैंकले नै भारु सटही वा विनिमय गरिदिन्छ,’ उनले भने, ‘तर भारतमा नेपाली मुद्रालाई यसरी बैंक तथा वित्तीय संस्थाले सटही गर्दैन, त्यसकारण पनि भारत पुगेको नेपाली रुपैयाँ हुन्डी माध्यमबाट भित्रिन्छ ।’ साभारः कान्तिपुर

Related posts

पर्सामा हैजा संक्रमण रोकथामका लागि सञ्चालित कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाहरुको सुझाव

MadhesKhabar

जन्मदिनमा राकेशले फहराए ठाेरीकाे शिकारीबास पुलमा राष्ट्रिय झण्डा

MadhesKhabar

निजगढमा विमानस्थल बन्छ : नवनियुक्त पर्यटन मन्त्री किराँती

MadhesKhabar

Leave a Comment